काठमाडौं (अस) । अब फेसबूक म्यासेञ्जरको माध्यमबाट पैसा पठाउन तथा पाउन पनि सकिने भएको छ । तत्कालका लागि केही देशहरूमा उपलब्ध यो सेवा नेपालमा भने छैन । अहिले मानिसहरू मोबाइल फोनको माध्यमबाट सामाजिक सञ्जालका साथै ई–बैङ्किङ तथा ई–कमर्श सेवासमेत प्रयोग लिइरहेका छन् । नेपालमा पनि यो सुविधा ल्याएमा सजिलै बजार लिन सक्ने विशेषज्ञहरूको भनाइ छ ।
कसरी हुन्छ ट्रान्सफर ?
पैसा पठाउन प्रयोगकर्ताले च्याट विण्डोमा रहेको डलर आइकनमा क्लिक गर्नुपर्छ । तर, यसका लागि प्रयोगकर्ताले अमेरिकाद्वारा जारी गरिएको भिजा वा माष्टरकार्ड (डेबिट कार्ड)लाई आफ्नो एकाउण्टसँग समायोजन गर्नुपर्छ । यो सुविधा निःशुल्क हुनेछ । प्रयोगकर्ताले सजिलै आफ्नो डेस्कटप कम्प्युटर वा मोबाइल फोनमा यसको प्रयोग गर्न सक्नेछन् ।
अमेरिकामा रहेका मानिसका लागि गूगलको एण्ड्रोइड अपरेटिङ सिष्टम र एप्पलको आईओएस अपरेटिङ सिष्टममा फेसबूक म्यासेञ्जर प्रयोग गर्नेले केही महीनाभित्रै यो सुविधा प्रयोग गर्न पाउनेछन् । आफ्नो एकाउण्टको सुरक्षार्थ प्रयोगकर्ताले पिनको प्रयोग गर्न सक्नेछन्, वा थप सुरक्षाका लागि तिनले टच आईडीको समेत निर्माण गर्न सक्नेछन् । फेसबूकले अनलाइन भुक्तान कम्पनी स्क्वायरसँग सहकार्य गर्दै स्न्यापच्याट प्रयोगकर्तालाई आफ्नो डेबिट कार्ड एकाउण्टसँग जोड्ने सुविधा उपलब्ध गराएको थियो । यसले गर्दा स्मार्टफोनमा च्याटको माध्यमबाट पैसा आदानप्रदान गर्न सम्भव भएको थियो । (एजेन्सी)




