क्यानडामा इञ्जिनीयरहरूले यस्तो उपकरणको निर्माण गरेका छन्, जसले मानिसले चपाएकै भरमा विद्युत् उत्पन्न गर्छ । वैज्ञानिकहरूका अनुसार मानिसको चिउँडोमा लगाउन मिल्ने यो उपकरणले कानमा लगाउनेलगायत विभिन्न उपकरणमा प्रयोग गरिने ब्याट्रीको काम गर्नेछ । अहिले परीक्षणमा रहेको यो उपकरण दैनिक प्रयोग गर्न लायक बनाउन भने यसको क्षमता अझै २० गुणा बढाउनुपर्ने उनीहरूको भनाइ छ । उपकरणमा प्रयोग गरिएका स्मार्ट पदार्थको तहलाई बढाएर यसो गर्न सकिने वैज्ञानिकहरूको दाबी छ । यो स्मार्ट पदार्थले तन्किँदा बिजुली उत्पन्न गर्छ । क्यानडाको इन्ष्टिच्युट अफ फिजिक्सको ‘स्मार्ट मेटरियल्स एण्ड स्ट्रक्चर’ जर्नलमा यसबारे उल्लेख छ ।
प्राकृतिक ऊर्जा
यो प्रविधिबारे थप अनुसन्धान गरिरहेका डा एदिन देलनवाज र जेरेमी वाइक्सले चिउँडोको चालले ऊर्जा उत्पन्न गराउन सकिने बताएका छन् । डाक्टर वाइक्सले बीबीसीसँग गरेको कुराकानीमा भने, ‘अनुसन्धान गर्ने क्रममा हामीले चपाउने कार्य गर्दा चिउँडोमा उपस्थित मांसपेशी सर्वाधिक तन्किने गरेको पायौं । आवश्यक उपकरण चिउँडोमा जडान गरिने हो भने पर्याप्त ऊर्जा उत्पन्न गराउन सकिन्छ ।’ यही सिद्धान्त पछ्याउँदै शोधकर्ताहरूले चिउँडोमा बाँध्न मिल्ने उपकरणको विकास गरे । १ मिनेटसम्म चुइङगम चपाउँदा यसले १८ माइक्रोवाट ऊर्जा उत्पन्न गराउन सफल भएको थियो । यसरी चपाउने कार्य गर्दा दैनिक ५ सय ८० जुलसम्म ऊर्जा उत्पादन गर्न सकिन्छ । चिउँडोमा लगाउन मिल्ने पत्रमा पिजेल्केटिक पदार्थको प्रयोग गरिएको छ ।
यद्यपि, १८ माइक्रोवाट निकै कम ऊर्जा हो । कानमा लगाइने मेशिन चलाउन पनि यसको २० गुणा बढी ऊर्जाको आवश्यकता पर्छ । तर, डा. देलनवाजले भने उपकरणमा प्रयोग हुन स्मार्ट पदार्थको पत्र बढाउन सकेमा बढी मात्रामा उर्जा उत्पन्न गराउन सकिने बताए । यसरी ऊर्जा उत्पन्न गराउन चिउँडोमा उपकरणलाई कसेर बाँध्नु नपर्ने उनको भनाइ छ ।
व्यावसायिक उपयोग
नयाँ खोजको प्रयोग व्यावसायिक कार्यमा समेत गर्न सकिने वायक्सले आशा व्यक्त गरे । उनले भने, ‘म सधैं साइकलबाट कार्यालय जान्छु । साइकल चलाउँदा हेल्मेटको प्रयोग गर्छु । तर, हेल्मेटमा लगाइएको पत्रले ब्लूटूथ डोङ्गल चार्ज गर्न सकिन्न ।’ अहिले यो कार्य असम्भव लागे तापनि ब्लूटूथ हेडसेट चार्जिङका लागि नयाँ प्रविधिको खोजीमा रहेका कम्पनीहरूले भने यसमा विशेष रुचि व्यक्त गरेका छन् । (एजेन्सी)




