‘यो अग्लो धरहराले भनिदेओस्
देश कहाँ छ ?
म होचो छु
धर्तीभन्दा थोरै माथि मात्र छु
मेरो देश मैले देख्न सकिनँ ।’
साउन ३, काठमाडौं (अस) । भूकम्पले भर्खरै धराहरा ढलेको छ तर, इलामका कवि विमल वैद्यको कवितामा भने धरहरा यस्तो विम्बमा बाँचेको छ । कुनै समय राजधानीमा बसेर पत्रकारिता समेत गरेका उनी हाल गृहनगरमै बसेर साहित्य साधना गरिरहेका छन् । उधृत कवितांश आइतबार राजधानीमा विमोचित कविता कृति ‘समय र सपनाहरु’का हुन् । समाजमा परिवर्तनका उज्यालो चमक खोज्ने उनको कवितामा हामीले बाँचेका अँध्यारा पाटाहरु, सङ्घर्षको जुवा भिरेर सधैं परिवर्तनको समरमा नारिइरहने तिनै मानिस, देशको गीत गाइहिड्ने जनताको अनुहार तस्विर जस्तै उभिएका छन् । उनी एउटा कवितामा लेख्छन्–
‘होस गरेर हिड बटुवाहरु
यो बेला देश बहुलाएको छ’
यसरी उनी हाम्रो राजनीतिक परिवर्तनको चित्रण गर्छन् । रुपान्तरणको यही विम्बलाई कवि तुलसी दिवस वैद्यको कविताको शक्ति मान्छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइला, वर्तमान उपकुलपति डा. विष्णुविभू घिमिरे र नेपाल संगीत नाट्य एकेडेमीका गणेश रसिकले उनको कृति नेपाल प्रज्ञा प्रतिष्ठानमा एकसाथ लोकापर्ण गरे । कार्यक्रममा कविसहित उनका कविता राजेन्द्र शलभ, ठाकुर बेल्बासे, शकुन्तला जोशी लगायतले वाचन गरेका थिए ।
काठमाडौंको शैलुङ बुक्स् प्रालिले प्रकाशित गरेको कृतिमा ३५ कविता सङ्ग्रहित छन् ।




