प्रविधिको संसारमा अहिले मोबाइल फोन सर्वाधिक लोकप्रिय छ । यही लोकप्रियताका कारण अहिले विभिन्न कम्पनीहरू नयाँनयाँ विशेषतायुक्त मोबाइल फोनको निर्माणमा लागिपरेका छन् । यसै क्रममा अहिले एउटा नौलो र आश्चर्यजनक फोन सार्वजनिक हुने तयारी छ । सञ्चारमाध्यमका अनुसार यो फोन फुट्दैन र यसलाई ह्याक गर्न पनि सकिँदैन । वास्तविक प्रयोगकर्ताबाहेक अन्यले प्रयोग गर्न नसक्ने यो फोन बजारमा सजिलै उपलब्धसमेत हुँदैन । यी सबै टुरिङ फोनका विशेषता हुन् । आगामी केही महीनामै यो फोन सार्वजनिक हुने बताइएको छ । लिक्विडमोर्फियमको प्रयोगबाट निर्मित यो फोनसेट स्टील र आल्मुनियमको भन्दा पनि बलियो हुनेछ । एप्पलले पनि सिमकार्ड राख्ने स्थानमा लिक्विडमोर्फियमको प्रयोग गर्छ ।
साढे ५ इञ्चको स्क्रीन भएको यो फोनमा एण्ड्रोइड ५.१ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । यो फोनमा यूएसबी पोर्ट र म्युजिक प्लेयरका लागि ज्याकको सुविधा भने दिइएको छैन । यसमा कनेक्टिभिटीका लागि ब्लूटूथको मात्र सुविधा छ । एण्ड्रोइड सफ्टवेयरका लागि फोनमा सुरक्षाका धेरै प्रबन्ध मिलाइएको छ । यो फोनका लागि निर्मित एप्समा इन्क्रिप्शनप्रति विशेष ध्यान दिइएको छ । फोनमार्फत केही काम गर्नुपरेमा प्रयोगकर्ताको फिङ्गर प्रिण्ट (औंठा छाप) नै पासवर्डका रूपमा प्रयोग गरिन्छ ।
प्राविधिक समाचार प्रेषित गर्ने वेबसाइट वायर्डका अनुसार यो फोनमा पानीको समेत खासै असर पर्दैन । फोन पानीमा खसे पनि निकालेर पुछ्ने र सुकाउने गरेमा फोनले मज्जाले काम गर्छ । अहिले भने पानीप्रतिरोधी क्षमताका लागि फोनको ब्याट्रीमा विशेष अध्ययनअनुसन्धान भइरहेको बताइएको छ । टुरिङ फोनका स्टिभ चाओका अनुसार यो फोनको ब्याट्रीले प्राविधिक संसारमा नयाँ तरङ्ग ल्याउनेछ । यही महीनाको अन्त्यबाट फोनको प्रि बूकिङ शुरू गरिने जानकारी दिइएको छ । यो फोनको सञ्चय क्षमता १६ जीबीको हुनेछ । यो फोनको मूल्य भारू ३८ हजार तोकिएको छ । (एजेन्सी)




