रेस्टुँरा रिभ्यू : रोजमेरी तास महल
रोजमेरीमा मटन तासको मीठो स्वाद रेष्टुराँको नाम नै परिकारको लोकप्रियताले निर्धारण गरिएको हो रोजमेरी तास महलको । ७ वर्षअघि स्थापना हुँदा रोजमेरी क्याफेको नाममा स्थापना भएको रेष्टुराँमा मटन तास लोकप्रिय बन्दै गएपछि रेष्टुराँको नाम नै रोजमेरी तास महल हुन पुग्यो ।
नयाँ बानेश्वरमा रहेको रेष्टुराँमा स्वादिलो मटन तासका साथै अन्य विविध परिकारमा रमाउन सकिन्छ । नेपाली, भारतीय, चिनियाँ, कण्टिनेण्टल, थाई परिकार रेष्टुराँको मेनुमा समेटिएको छ, जसमध्ये थाई परिकार सातेकाई र मटन तासको स्वाद यहाँ आउने अधिकांश ग्राहकको रोजाइमा पर्ने गरेको छ । यहाँ तयार हुने सातेकाई विशेष तरीकाले बनाइन्छ । सातेकाईका लागि चिकेनको छातीको भागलाई छनोट गरिन्छ । स्पाइसी सस, फिस सस, थाई ओण्टर्स सस, कोकोनट मिल्क पाउडर र नून मोलेर यसलाई तावामा ग्रील्ड गरिन्छ । यसरी तावामा राखेको करीब १० मिनेटमा थाई पूmड सातेकाई तयार हुन्छ । त्यस्तै यहाँको मटन तास पनि विशेष रूपले तयार पारिन्छ । तासका लागि तयार पारिएको मटनमा अदुवा, लसुनको ‘पेष्ट’ राखिन्छ ।

र, भारतबाट ल्याइएका विशेष मसलाहरू मिसाएर शुद्ध तोरीको तेलमा फ्राई गरिन्छ । यसरी फ्राई गरिएको मटन तावामा सेकेपछि मटन तास तयार हुन्छ । यसलाई चिउरा, भुजा र अदुवाको अचारसँग सर्भ गरिन्छ । त्यस्तै रोजमेरीमा तयार पारिने बँदेल फ्राई, प्राउन चिल्ली, सलामी पिज्जा, चिकेन तन्दुरी, मटन सेकुवा विशेष लोकप्रिय परिकारमा पर्छन् । बानेश्वरको व्यस्त सडक छेउमा रहे पनि रेष्टुराँको वातावरण शान्त र पारिवारिक छ । यहाँको प्रमुख विशेषता परिकारमा रहेको विशेष स्वादसँगै मूल्यमा सहुलियत सेवामा छिटोछरितो भएको रेष्टुराँका क्यासियर कृष्ण ओली बताउँछन् । रेष्टुराँलाई ग्राहकको सुविधाअनुसारको बनाउन विभिन्न भागमा विभाजन गरिएको छ । रेष्टुराँको मूल ढोकासँगै चिटिक्क सजाइएका टेबुल कुर्चीसहितको ठूलो हल छ । सो हलको कुनामा सानो तर आकर्षक बार छ भने बारसँगै अर्को हल छ । यी दुवै हलबाट रेष्टुराँको भान्छा प्रत्यक्ष देख्न सकिन्छ । यी हलबाहेक रेष्टुराँमा खुला छतमा बस्ने सुविधासमेत छ । जाडोको मौसममा खुला छतमा बसेर न्यानो घामको मजा लिँदै विभिन्न परिकारमा रमाउन यो ठाउँ उपयुक्त हुन्छ । रेष्टुराँको मैत्रीपूर्ण सेवा र विश्वासका कारण यहाँका ६० प्रतिशतभन्दा बढी ग्राहक नियमित छन् ।

पारिवारिक वातावरण भएकाले पनि यहाँ विशेषगरी परिवार बढी आउने गरेको ओली बताउँछन् । रेष्टुराँमा मिटिङ तथा साना सेमिनार गर्ने प्राइभेट हल बनाउने तयारी भइरहेको ओलीले बताए । रेष्टुराँमा विशेषतः साँझको समयमा बढी ग्राहक आउने गर्छन् । एकैपटकमा १ सय २० सम्म ग्राहकलाई सेवा दिन सक्ने रेष्टुराँको बाहिरपट्टि उपयुक्त पार्किङस्थल छ । रेष्टुराँले स्थापनाकालदेखि नै इनडोर, आउटडोर क्याटरिङ तथा होम डेलिभरीजस्ता सुविधा उपलब्ध गराउँदै आएको छ । रेष्टुराँको बारमा सबै प्रकारका उच्चस्तरीय मदिरा उपलब्ध छ, जसमा नेपाली लोकल ब्राण्ड विशेष लोकप्रिय छ । रेष्टुराँ हरेक दिन बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म खुला रहन्छ ।











