ठमेलमा नेपाली गाउँ को झल्को : ब्लोजम
पश्चिमी संस्कृतिले पूर्णरूपमा प्रभावित पयर्टकीय केन्द्र ठमेलमा गाउँको पुरानो शैलीको घरको छनक दिने रेष्टुराँ छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, ठमेलस्थित ब्लोजम रेष्टुराँभित्र पसेपछि भने काठमाडौंको व्यस्त शहरमा छु भन्ने नै बिर्सिन्छ ।


पर्यटकीय क्षेत्रमा रेष्टुराँ भएकाले देशलाई चिनाउन सहयोग पुगोस् भनेर पनि ग्रामीण शैलीमा रेष्टुराँको सजावट गरिएको सञ्चालक योगेन्द्रप्रसाद घिमिरे बताउँछन् । रेष्टुराँ खुलेको ४ महीनामै धेरैको जिब्रोमा यहाँको स्वाद र सजावटले स्थान बनाएको छ । रेष्टुराँमा नेपाली, चाइनिज, भारतीय र कण्टिनेण्टल परिकार उपलब्ध छन् । मुख्यतः यहाँको चिकेन सासलिक र शतप्रतिशत नेपाली खाना ढिँडो ग्राहकको रोजाइमा पर्ने गरेको घिमिरे बताउँछन् । यहाँ उपलब्ध अन्य चल्तीका परिकारमा मोमो, चाउमिन, पिज्जा, पास्ता, थुक्पालगायत परिकार ग्राहकको विशेष रोजाइमा पर्ने गरेको छ । यहाँ चिकेन सासलिक विशेष तरीकाले तयार पारिन्छ । टुक्रा बनाइएको चिकेनकै आकारमा क्याप्सिकम (ठूलो खुर्सानी) तयार पारिन्छ ।

यसरी काटिएको चिकेन र खुर्सानीलाई ओलिभ तेल, सिसिमी तेल, अदुवा, लसुन, साल्ट, पेपर राखेर मोलिन्छ, जसलाई दुईओटा स्टीकमा उनेर हट प्लेटमा ग्रील गरेपछि चिकेन सासलिक तयार हुन्छ । यसरी तयार हुने चिकेन सासलिकलाई ग्रील टोमाटो र राइससँग सर्भ गरिन्छ ।
त्यसबाहेक फिस फिङ्गर, तन्दुरी परिकार, अमेरिकन चप्सी, ब्लोजम स्पेशल मिक्सड ग्रील, चिकेन सिक कवाव, ढिँडो सेट, इण्डियन थालीजस्ता परिकार यहाँ आउने ग्राहकको रोजाइमा पर्ने गरेको छ । रेष्टुराँले ग्राहकको रोजाइ र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको घिमिरे बताउँछन् । यहाँ उपलब्ध सबै खाना गुणस्तरीय हुने हुनाले ती स्वास्थ्यकरसमेत रहेका उनको दाबी छ । यसलाई चल्तीका रेष्टुराँभन्दा फरक ढङ्गले सजाइएको छ । नेपालको ग्रामीण भेगका घरमा हुने प्राचीन भाँडा र हलो, जाँतोजस्ता लोप हुनै लागेका सामग्री रेष्टुराँको सजावटमा प्रयोग गरिएको छ । रेष्टुराँको मुख्य प्रवेशद्वारसँगै दायाँ र बायाँ दुईओटा स—साना बगैँचा छन।

बगैँचाको पर्खालको भित्तो हलो, जाँतो, कोदालो, खुर्पा, चाँदे, कुटो, कल, नाङ्लो आदिले सजाइएको छ । रेष्टुराँको हलभित्र र हल वरपरको दलिनमा मकै र लालटिन झुण्ड्याइएको छ । रेष्टुराँका भित्तामा सबैतिर माटो रङ लगाइएको छ, जसले गर्दा रातो माटोले लिपेको घरभित्र बसेर खानाको स्वादमा रमाइरहेको अनुभव गर्न सकिन्छ । यहाँ चकटीमा बसेर खानाको मज्जा लिन सकिन्छ । रेष्टुराँमा खुला भान्सा भएकाले ग्राहकले खाना कसरी तयार पारिँदै छ भनेर परीक्षणसमेत गर्न सक्छन् । रेष्टुराँले शुरुआती दिन भएकाले दुई महीनासम्म ‘ह्यापी आवर’को व्यवस्था गरेको छ । सोमवार र शुक्रवार यहाँ आउने ग्राहकले २० प्रतिशत छूटमा विभिन्न परिकारको स्वाद लिन सक्छन् । त्यस्तै, हरेक दिन १ देखि ५ बजेसम्मको ह्याप्पी आवरमा भने ग्राहकले १५ प्रतिशत छूट पाउन सक्छन् । प्रशस्त पे—पार्किङको सुविधा भएकाले रेष्टुराँमा सवारी राख्न कुनै समस्या पर्दैन ।

रेष्टुराँले होम डेलिभरी तथा लञ्च बक्सको पनि व्यवस्था गरेको छ । त्यस्तै जन्मोत्सवलगायत जमघट तथा समारोह पनि रेष्टुराँले आयोजना गर्ने गरेको घिमिरेले बताए । रेष्टुराँमा एकैपटकमा ६० जनासम्म अट्ने क्षमता छ । रेष्टुराँ बिहान १० देखि बेलुकी १० बजेसम्म खुला रहन्छ ।










