राजनीति
काङ्ग्रेसको बैठक निष्कर्षहीन
मङ्सिर २६, भक्तपुर (अस) । राज्य पुनर्संरचना, एमाओवादी लडाकू, शासकीय स्वरूपलगायतबारे पार्टीको एकीकृत धारणा तयार पार्न नेपाली काङ्ग्रेसको नगरकोटमा बसेको संसदीय दलको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि पुनः पुस ३ गते बस्ने गरी टुङ्गिएको छ । पछिल्लो समय मुलुकका प्रमुख विषयमा पार्टीका नेताहरूबाट फरकफरक अभिव्यक्ति आउन थालेपछि उक्त बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा भने सहभागी थिएनन् । पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेललगायत देउवानिकट नेताहरू बैठकमा सहभागी थिए ।
बैठकमा राज्य पुनर्संरचना, माओवादी लडाकू, राज्यको शासकीय स्वरूपका साथै सरकारबारेसमेत छलफल भएको नेता प्रकाशमान सिंहले बताएका छन् । १४ प्रदेश कस्तो रहने, यसको नक्साङ्कन कसरी गर्ने, सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृतिलाई मान्य हुने गरी प्रदेशको विभाजन कसरी गर्ने भन्ने बारेमा काङ्ग्रेसको स्पष्ट खाका तयार गर्न बैठक प्रभावकारी हुने उपसभापति पौडेलले बताए ।
यसैबीच, वरिष्ठ नेता देउवाले सोमवार नै दाङमा आयोजित कार्यक्रममा बोल्दै पार्टीभित्रैबाट आफूलाई समाप्त पार्ने अभियान शुरू भएको आरोप लगाएका छन् । सम्मानजनक स्थितिमा पार्टीका सबै नेतालाई राख्नुपर्नेमा गुटबन्दीलाई प्रश्रय दिइएको उनको गुनासो थियो । पार्टी एकताका लागि आफूले धेरै सङ्घर्ष तथा त्याग गरेको उनको भनाइ थियो ।
एमाले कार्यकर्ताको परीक्षा
मङ्सिर २६, झापा (अस) । एमाले झापाले आप्mना कार्यकर्तालाई पार्टीका सिद्धान्त, नीति तथा कार्यक्रम जान्न–बुझ्न प्रेरित गर्ने उद्देश्यले पहिलोपल्ट कार्यकर्ताको सय पूर्णाङ्सहितको परीक्षा नै सञ्चालन गरेको छ । एमाले झापा क्षेत्र नं २ अन्तर्गत दुहागढी, हल्दीबारी, चारपाने, गरामनी ज्यामिरगढी र अनारमनी गाविसका ५० जना अगुवा कार्यकर्ताले बिर्तामोडमा एमाले सिद्धान्त विषयको लिखित परीक्षा दिएका हुन् । उनीहरूले विद्यार्थीले झैं सय पूर्णाङ्कको विषयगत र वस्तुगत प्रश्नको उत्तर लेखेका थिए । परीक्षा दिनेहरूमा पार्टीको गाउँ तथा नगर कमिटीका अध्यक्ष र क्षेत्रीय कमिटीका सदस्य रहेको एमालेले बताएको छ । एमालेको नीति, सिद्धान्त र कार्यक्रमबारे अध्ययन गर्न र कार्यकर्ता पङ्क्तिको राजनीतिक क्षमता बढाउन पार्टीको स्कूल विभागको पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गरिएको हो ।
उत्तरपुस्तिका जाँचेर त्यसको नतिजा सम्बन्धित व्यक्तिलाई छिट्टै दिइने बताइएको छ । पहिलोपटक यस्तो परीक्षा सञ्चालन गरिएको बताउँदै एमाले झापालले आगामी दिनमा गाउँ तथा वडास्तरमा समेत कार्यकर्ताको परीक्षा लिने योजना रहेको बताएको छ । कम्युनिष्ट पार्टीको इतिहास, नेता, फुट र एकता, एमालेको सिद्धान्त र नीति तथा कार्यक्रम आदिका विषयवस्तुमा केन्द्रित रहेर प्रश्नपत्र तयार गरिएको थियो ।
कृषिशुल्क हटाउने निर्णयप्रति फोरमको आपत्ति
मङ्सिर २६, वीरगञ्ज (अस) । भारतबाट आयात हुने वस्तुमा कृषि सेवाशुल्क हटाउने निर्णय तत्काल खारेज गर्न मधेशी जनअधिकार फोरम नेपाल पर्साले माग गरेको छ । आइतवार वीरगञ्जमा पत्रकार सम्मेलन गरी उसले सरकारसँग यस्तो माग गरेको हो ।
फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मङ्सिर २० गते सरकारले भारतसँग सम्झौता गरी भारतबाट आयात हुने कृषि उत्पादनमा कृषि सुधार शुल्क, कर वा भन्सार महशुल नलिने सहमति गरेको बताए । ‘यो नेपाली किसानको ढाड भाँच्ने काम हो,’ उनले भने । यादवले आफ्ना माग सम्बोधन नगरे किसानको पक्षमा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
मधेशका गाउँमा सिँचाइको व्यवस्था गर्नुपर्ने, सिँचाइ आयोजनाको नाममा रकमको दुरुपयोग तत्काल नियन्त्रण गर्नुपर्ने र गण्डकलगायतका नहरको संरचना मर्मत गरी पानी आपूर्ति गर्नुपर्ने माग पनि फोरमले गरेको छ । खाद्यान्न तथा अन्य कृषि उपजको न्यूनतम समर्थन मूल्य सरकारले तोक्नुपर्ने र सो मूल्यमा कृषि उपज विक्री हुन नसके सरकारले नै खरीद गर्नुपर्ने माग पनि फोरमले गरेको छ । सहुलियत मलको कोटा वृद्धि गर्नुपर्ने, किसानले सहज रूपमा आफ्नो गाउँघरमै अनुदान प्राप्त रासायनिक मल पाउने व्यवस्था गर्नुपर्ने, किसानलाई उन्नत जातको बीउ सहुलियतमा आपूर्ति गर्नुपर्नेलगायतका माग पनि फोरमले गरेको छ । सरकारले भारतसँग सम्झौता गरेको पाँच दिन बित्न नपाउँदै नेपाली धानको भाउ रू. १ हजार ८ सय प्रतिक्विण्टलबाट झरेर रू. १ हजार ३ सय भएको यादवले बताए । .