आईसीटी कम्पनी प्रोफाइल
टेण्डाको राउटर लोकप्रिय
नेपालका लागि डेल्टा र टेण्डा ब्राण्डको आधिकारिक विक्रेता डेल्टा इन्टरनेशनल प्रालि साढे दुई वर्षअघि स्थापना भएको कम्पनी हो । कम्प्युटर एक्सेसेरिज उत्पादक डेल्टा र विभिन्न प्रकारका नेटवर्किङ डिभाइस उत्पादन गर्ने टेण्डा दुवै चाइनिज ब्राण्ड हुन् । डेल्टा इण्टरनेशनलले यी दुई ब्राण्डका उत्पादनको नेपाल अधिराज्यभर थोक विक्री गर्दै आएको छ । आगामी बिहीवारदेखि शुरू हुने आईसीटी एक्स्पोमा डेल्टाले कम्पनीमा उपलब्ध सबै सेवा राख्ने कम्पनीका प्रबन्धक दिनेश शर्माले बताए ।
कम्पनीले शुरूमा डेल्टा ब्राण्डका उत्पादन मात्र विक्री गरेको र स्थापनाको झण्डै १ वर्षपछि मात्र टेण्डा ब्राण्डको आधिकारिक विक्री थालेको शर्माले जानकारी दिए । डेल्टा ब्राण्ड नेपाली बजारमा स्थापित भइसकेकाले कम्पनीले टेण्डा ब्राण्डको बजार प्रवद्र्धनलाई आईसीटी एक्स्पोमा प्राथमिकता दिने उनी बताउँछन् । कम्पनीले टेण्डाको आधिकारिक विक्री शुरू गर्नुअघि केही व्यापारीले अनधिकृत रूपमा चीनबाट यो ब्राण्डका उत्पादन बजारमा ल्याइदिने गरेको उनले बताए । यही कारणले प्रारम्भमा टेण्डाको बजार प्रर्वधन र व्यवस्थापन गर्न कम्पनीले धेरै कसरत गर्नुपरेको शर्माको अनुभव छ । ‘अहिले यो ब्राण्डको माग बढिरहेको छ,’ उनले भने । यी दुवै ब्राण्डका उत्पादन गुणस्तरीय र अन्य चलेका ब्राण्डभन्दा निकै सस्तो भएकाले यसको बजार बढिरहेको शर्माको भनाइ छ ।
कम्पनीले एक्स्पोमा डेल्टा ब्राण्डका किबोर्ड, माउस, स्पीकर, उफर, टोनर, एलसीडी मोनिटर, केसिङ, हेडफोनलगायत कम्प्युटर एक्सेसेरिज प्रदर्शनी तथा विक्री गर्न प्रवन्धक शर्माले जानकारी दिए । टेण्डा ब्राण्डका राउटर, स्विच, लेन्थ कार्ड, वायरलेस यूएसबी, वायरलेस एडप्टर, पीसी एडप्टरलगायत नेटवर्किङ डिभाइस पनि एक्स्पोमा राखिनेछ । टेण्डाको वायरलेस एडीएसएल राउटरको सेटिङ प्रक्रिया अन्य राउटरको तुलनामा निकै सहज भएकाले आम उपभोक्ताले धेरै रुचाएको शर्माले बताउँछन् । कम्प्युटर प्रयोगकर्ताको उपस्थितिलाई ध्यानमा राख्दै एक्स्पोमा सहभागी हुन लागेको शर्माले बताए । प्रत्येक कम्प्युटर प्रयोगकर्तालाई ईन्टरनेट प्रयोग गर्न प्रोत्साहन गर्नु नै एक्स्पोमा सहभागिताको उद्देश्य रहेको उनले बताए ।











