रेष्टुराँ रिभ्यू
ललितपुरमा मुगल खाना : ए क्याफे एण्ड लाउञ्ज, धोवीघाट, ललितपुर
दुई साताअघि खुलेको ललितपुरको धोवीघाट चोक स्थित ‘ए क्याफे एण्ड लाउञ्ज’ले इण्डियन, चाइनिज र कण्टिनेण्टल तीनै किसिमका परिकारका पारखीलाई एकै ठाउँबाट सेवा दिन शुरू गरेको छ । यहाँ उच्चस्तरीय भारतीय खानाका साथै स्वदेशी तथा विदेशी मदिराको चुस्की पनि लिन पाइन्छ । यहाँको विशेष परिकार ‘मुगल खाना’ हो । ‘थोरै, मीठो र महँगो खान रुचाउनेहरूको छनोटमा मुगल खाना पर्छ,’ लाउञ्जका लगानीकर्तामध्ये एक पुष्प थापामगरले भने । परिकारको स्वादमात्र होइन, पस्कने सामग्री पनि उत्तिकै स्तरीय छन् । शाकाहारी र मांसहारी दुवैका लागि स्तरीय खाना उपलब्ध गराउनु लाउञ्जको विशेषता हो ।
स्वदेशी तथा विदेशी तारे होटलमा काम गरेको अनुभव भएका क्याफेका सीईओ प्रभुशरण थापामगर र शेर्पा होटलमा करीब ३५ वर्ष सेफको काम गरेका पुष्प लाउञ्जमा जुटेका छन् । रू. १ करोड ८५ लाखको संयुक्त लगानीमा शुरू गरिएको सो विशेष रेष्टुराँमा उनीहरूलाई अन्य तीन जनाले समेत साथ दिएका छन् । ‘हामी उचित मूल्यमा भारतीय राजकीय स्वादका खाना तथा पेय पदार्थ उपलब्ध गराउन प्रतिबद्ध छौं,’ प्रभुशरण भन्छन् ।

चक्रपथको छेवैमा रहेको क्याफेमा भित्रको वातावरण भने निकै शान्त बनाइएको छ । १ सय ५० जनासम्मको क्षमता रहेको लाउञ्जको आन्तरिक सजावटलाई तीन भागमा बाँडिएको छ । खुला हलमा आकर्षक डिजाइनका आरामदयी फर्निचरको सजावट छ । ‘त्यहाँबाट ग्राहकले आफूले अर्डर गरेको खाना कसरी बनिरहेको छ भन्ने प्रत्यक्ष देख्न सक्छन्,’ पुष्प भन्छन्, ‘भान्छाको सफाइमा अन्तरराष्ट्रिय मापदण्ड अपनाइएको छ ।’ खुला हलको दाहिनेतर्फ सुविधासम्पन्न बारको व्यवस्था गरिएको छ । त्यहाँ सामान्यदेखि ब्लू लेबल स्कचसम्मका पेय पदार्थ झण्डै परल मूल्यमा नै उपलब्ध गराइने पुष्प बताउँछन् । यहाँ पनि आरामदायी फर्निचरको व्यवस्था छ । करीब २० जनासम्म अट्ने यो क्षेत्रलाई ग्राहकको चाहनाअनुसार खुला वा बन्द गर्न सकिन्छ । क्याफेले खुला वातावरणमा बसेर खानाको स्वाद लिन चाहनेहरूका लागि दोस्रो तलामा छुट्टै हल तयार गरेको छ । यहाँ धूमपानका लागि विशेष स्थान छुट्ट्याइएको छ । यसले धूमपान नगर्ने ग्राहकलाई प्रतिकूल असर पुग्दैन । ‘बालबालिकाको लागि ‘प्ले स्टेशन’ पनि बन्दै छ,’ पुष्पले भने, ‘बच्चासहित आउने अभिभावकलाई पनि सहज हुन्छ ।’

क्याफेमा अहिले हिमालयन ≈वाइट हाउस कलेजमा होटल व्यवस्थापनमा स्नातक अध्ययनरत विद्यार्थीहरू कार्यरत छन् । यसै कारण यहाँको हरेक सेवा उच्चस्तरीय भएको प्रभुशरणको तर्क छ । उक्त क्याफेले धोवीघाट क्षेत्रवरपर विस्तार हुँदै गरेका हाउजिङ तथा सानेपा, जावलाखेल भैंसेपाटी क्षेत्रका ग्राहकलाई लक्षित गरेको छ । हाल दिउँसो १२ बजेदेखि राति १० बजेसम्म खुल्ने यो क्याफेले छिट्टै बिहानी खानाको सेवा पनि शुरू गर्ने बताएको छ ।










