धनकुटा महोत्सवमा पौने २ करोडको कारोबार
माघ २५, धनकुटा । धनकुटामा जारी धनकुटा महोत्सव तथा पूर्वाञ्चल औद्योगिक प्रदर्शनीको ११औं दिनसम्म करीब रू. १ करोड ७५ लाखको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक लालचन्द्र गोङ्वाले बताए । उनले बुधवारसम्म करीब ९० हजार दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए । महोत्सवमा पूर्वाञ्चलका १६ ओटै जिल्लाका उत्कृष्ट उद्यमीद्वारा उत्पादिन विभिन्न सामग्री, सूचनाप्रविधि, कृषि उत्पादन राखिएको छ ।

धनकुटा महोत्सवमा रू. २ करोडको कारोबार हुने र १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य रहेको आर्थिक समितिका संयोजक शैलेशमान श्रेष्ठले बताए । ‘कृषि, पर्यटन, शिक्षा उद्योग र व्यापार, समुन्नत धनकुटामा आर्थिक विकासको आधार’ नाराका साथ शुरू भएको हो । माघ २६ गते बिहीवारसम्म चल्ने सो महोत्सवमा छिन्ताङका विगेन्द्रबहादुर राईले रू. ५० हजारभन्दा बढीको बाँसबाट बनाइएको हस्तकलाका समान विक्री गरेको बताए । काठमाडौंसम्म लगेर बेच्ने गरेको बताउने राईले भने, ‘अब स्थानीय बजारमा पनि समान बेच्न सकिने रहेछ ।’
सङ्खुवासभाबाट आएका लीलाबहादुर कार्कीले रू. ३५ हजारको बाँसको जराबाट बनाइएका सजावटका सामग्री विक्री गरिसकेको बताए । महोत्सवमा धनकुटा, भोजपुर, तेह्रथुम, इलाम, ताप्लेजुङ, सङ्खुवासभा, सुनसरी पाँचथरलगायत उद्यमी सहभागी छन् । औद्योगिक व्यापार प्रदर्शनीमा घरेलु उद्योगका ५७ ओटा स्टल छन् ।











