एप्पलको शेयरले ५ सय डलरको स्तरलाई तोड्यो
फागुन ३, न्यूयोर्क (अमेरिका) । विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी घोषित एप्पल इङ्कको प्रतिशेयर मूल्यले ५ सय डलरभन्दा माथि पुगेर कीर्तिमान कायम गरेको छ । सोमवार वालस्ट्रीटमा बिहानीको कारोबार शुरू हुनासाथ कम्पनीको शेयर ५ सय ३ डलरमा कारोबार भएको थियो । दिउँसो भने यसमा केही कमी आएर ५ सय २ डलरमा ओर्लिएको देखियो । साँझ शेयर बजार बन्द हुँदा पनि सोही मूल्य नै कायम थियो ।
एप्पलको शेयरमा देखिएको यो वृद्धि गत शुक्रवारको भन्दा १ दशमलव ९ प्रतिशत अर्थात् ९ डलर १३ सेण्टले बढी हो । वालस्ट्रीटका पण्डितहरूले भने कम्पनीको शेयरमूल्य आगामी दिनमा अझै बढ्ने पूर्वानुमान गरेका छन् । विगत दुई हप्तादेखि एप्पल इङ्कको शेयरमा ‘बुलिश ट्रेण्ड’ (लगातर बढिरहने प्रवृत्ति) देखिएको छ । कम्पनीले बिदाको समयमा विक्री तथा नाफा अत्यधिक बढेको बताएपछि लगानीकर्ताहरू एप्पलको शेयरतर्फ आकर्षित भएका हुन् । कम्पनीका अनुसार गतवर्षको चौथो त्रैमासमा कुल आम्दानी अघिल्लो वर्षको सोही अवधिभन्दा दोब्बरले बढेको थियो ।
त्यसैगरी उत्पादनहरूको विक्रीदर पनि अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशतले बढेको तथ्याङ्क कम्पनीले सार्वजनिक गरेको थियो । तर, शेयर विश्लेषकहरूले भने एप्पलको आम्दानीको तुलनामा शेयरमूल्य अझै पनि निकै कम रहेको देखिएको बताएका छन् । सूचनाप्रविधि कम्पनीहरूको आर्थिक विश्लेषण गर्ने संस्था ‘फ्याक्ट सेट’ले जनवरी २४ मा ३७ जना प्रमुख शेयर विश्लेषकमाझ गरेको एक अध्ययनअनुसार कम्पनीको प्रतिशेयर मूल्य औसतमा ५ सय ८८ डलर हुनुपर्ने बताइएको थियो ।
विश्लेषकहरूका अनुसार रकम जम्मा गरिरहने र ढिलो गरेर लाभांश बाँड्ने कम्पनीको नीतिका कारण लगानीकर्ताहरु एप्पलको शेयरप्रति त्यती धेरै आकर्षित नभएका हुन् । केही अघिमात्र एप्पल इङ्कसँग ४ खर्ब ६५ अर्ब डलर रकम सञ्चित रहेको अनुमान गरिएको थियो ।