त्रिपुरेश्वरमा कुलेखानीको होल फिस
कुलेखानीको माछाको स्वाद तपाईंले त्रिपुरेश्वरमै लिन पाउनुहुन्छ । त्रिपुरेश्वरमा ५ महीनाअघि खुलेको ‘काठमाडौं ड्रिम्स लाउञ्ज एण्ड बार रेष्टुराँ’मा माछाका विभिन्न परिकार उपलब्ध छन् । त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदा यामाहा शो–रूमको ठ्याक्कै अघिल्तिरको भवनमा छ काठमाडौं ड्रिम्स रेष्टुराँ । तेस्रो तलामा रहेको यो रेष्टुराँमा कुलेखानीको ‘होल फिस’का साथै साँझ ६ बजेपछि साङ्गीतिक प्रस्तुतिसमेत हुने गर्दछ । रेष्टुराँले ग्राहकमा अविस्मरणीय छाप छाड्न सफल रहेको सञ्चालक युजिन जोशीको दाबी छ ।
रेष्टुराँ व्यस्त सडकछेउमा छ, तर पनि यहाँको वातावरण शान्त र पारिवारिक छ । गजलको सङ्गीतमय वातावरणमा कुलेखानीको माछाको परिकार पस्कनु यसको विशेषता हो । थकाली, इण्डियन, चाइनिज र कण्टिनेण्टल खाना पनि यहाँ उपलब्ध छ । मटन सेकुवा, चिकेन फ्राइ, मटन चिल्ली, फिस चिल्ली, चिकेन बटर मसलालगायत परिकार ग्राहकले विशेषरूपमा रुचाउने गरेको जोशी बताउँछन् ।

रेष्टुराँको विशेष परिकार ‘होल फिस’ तयार पार्दा पहिले साल्ट पेपर, वेष्टर सस, सोयाबिन सस, जिञ्जर, गार्लिक पेष्ट र सिसम आयल हालेर माछालाई मोलिन्छ । त्यसपछि स्टीम, फ्राइ वा ग्रेभी गरेर यो परिकार तयार पारिन्छ । यो रेष्टुराँमा दिउँसो र साँझको मेनु फरकफरक राख्ने गरिन्छ । तर, गजलसँगै खानाको स्वादमा रमाउन चाहनेले ३० प्रतिशत थप शुल्क तिर्नुपर्छ । साँझ छिपिँदै जान्छ, विभिन्न स्वादको शिशा (हुक्का)मा रमाउने युवायुवतीको जमघट पनि यहाँ बाक्लिँदै जान्छ । एकपटकमा सयदेखि १ सय २० जनासम्म अट्ने यसको क्षमता छ । रेष्टुराँले आफ्ना नियमित ग्राहकलाई २० प्रतिशतसम्म छूट दिन्छ । माछाका पारखीहरूका लागि काठमाडौं ड्रिम्स उपयुक्त स्थान हुन सक्छ ।
महीनाको एकपटक नाम चलेका गायक तथा कलाकार ल्याउने जमर्को गरेको जोशी बताउँछन् । रेष्टुराँमा स्थानीय उत्पादनदेखि विदेशी ककटेल, मकटेल र अन्य विभिन्न पेय पदार्थ उपलब्ध छन् । यहाँ साना तीनओटा हल पनि छन् । जहाँबाट साँझको समयमा सडकको व्यस्त दृश्य हेर्दै खानाको स्वाद लिन सकिन्छ । इण्टरनेट चलाउन चाहनेलाई रेष्टुराँले वाइफाइको सुविधा पनि उपलब्ध गराएको छ । लञ्चबक्सको सुविधाका साथै पार्टी, सेमिनार पनि यहाँ आयोजना हुँदै आएको छ । छोटो समयमै ग्राहकमाझ परिचित भएको यस रेष्टुराँले छिट्टै जावालाखेलमा शाखा खोल्ने तयारी गरेको जोशीले जानकारी दिए । रेष्टुराँ बिहान साढे ९ देखि राति साढे १० बजेसम्म खुल्छ ।










