नेपालमा लगानी गर्न जर्मनी सकारात्मक
अभियान संवाददाता
फागुन २४, काठमाडौं । जर्मन लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक रहेको नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले बताएका छन् । नेपालमा जर्मन लगानी भित्रयाउने उद्देश्यका साथ आयोजित नौदिने जर्मनी भ्रमण सकेर नेपाल आइपुगेका कक्षपतिले जर्मन लगानीकर्ताहरूले नेपालको निर्माण तथा उत्पादन क्षेत्रमा लगानी गर्न सकारात्मक भएको बताए । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नेतृत्वमा फागुन १५ गते जर्मनी भ्रमणमा निस्किएको १५ सदस्यीय उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल मङ्गलवार नेपाल आइपुगेको छ ।
भ्रमणको अवसरमा जर्मनीका लागनीकर्तालाई नेपालमा भएका सम्भावित लगानीका क्षेत्रका बारेमा जानकारी गराइएको उनले जानकारी दिए । सरकारले गरेको बिप्पा सम्झौता, लगानी वर्षको घोषणा तथा लगानी बोर्ड गठनलगायत अर्थतन्त्र विकासका लागि गरिएको अग्रसरताबारे जर्मन लगानीकर्तालाई सुनाएको उनले जानकारी दिए । ‘हाम्रो उद्देश्य नेपालमा लगानीको सम्भावनाका बारेमा जानकारी गराई लगानीका लागि आकर्षण गर्ने हो, त्यो पूरा भएको छ,’ उनले भने ।
भ्रमणका क्रममा टोलीले जर्मन साउथ एशियन पार्लियामेण्टरियन ग्रूपलाई भेटी नेपालमा जर्मनीको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डललाई भ्रमणका लागि निम्तोसमेत दिएको जानकारी दिइएको छ । जवाफमा ग्रूपले नेपालमा यही वर्षभित्र जर्मन लगानीकर्तालाई नेपाल भ्रमणका लागि ल्याउने प्रयास गर्ने बताएको थियो । भ्रमणका क्रममा टोलीले बीएमजी, बीएमडब्ल्यूआई, यूरोपियन कमिशनलगायत सङ्घसंस्था तथा तिनका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग समेत अन्तरक्रिया गरेको कक्षपतिले जानकारी दिए । व्यापारिक प्रतिनिधिमण्डलले जर्मनीका साथै बेल्जियमको समेत भ्रमण गरेको कक्षपतिले जानकारी दिए ।
भ्रमण टोलीमा मन्त्री भट्टका साथै वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, नेपाल लगानी बोर्डका सदस्य तथा उवा महासङ्घका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, एनजीसीसीआईका अध्यक्ष कक्षपति र एनजीसीआईका निवर्तमान अध्यक्ष तथा पद्मश्री प्रालिका कार्यकारी निर्देशक रोहिणी थपलिया रहेका थिए । त्यस्तै, भ्रमण टोलीका अन्य सदस्यमा एनजीसीसीआईका उपाध्यक्ष सेनोन दोर्जे लामा, सचिव सन्तोष सी कुनवार, कार्यकारी सदस्य हर्बर्ट विस्ली, सदस्यहरू मनोज डङ्गोल, उदीप श्रेष्ठ, प्रदीप श्रेष्ठ, बलबहादुर नेपाली र अनुप बस्नेत, गणेश ह्याण्डिक्राफ्ट एक्स्पोर्टरका सञ्चालक राम नेपाली, एनजीसीसीआईका प्रमुख कार्यकारी अधिकृत सरस्वती महर्जन तथा पत्रकार हरि दयाराज गौतम रहेका थिए ।











