रेष्टुराँ रिभ्यू : सिद्धार्थ कटेज रेष्टुराँ एण्ड बार, तीनकुने, काठमाडौं
सिद्धार्थमा ’चिकेन थर्टीथ्री ’
राजधानीका रेष्टुराँमा उपलब्ध परिकारबाट सन्तुष्टि नपाएका खानाका पारखीका लागि सिद्धार्थ कटेज रेष्टुराँ एण्ड बार उपयुक्त गन्तव्य बन्न सक्छ । ‘चिकेन थर्टीथ्री’ यहाँ उपलब्ध विशेष परिकार हो । ‘चिकेनका सामान्य परिकार अन्य रेष्टुराँमा पनि पाइन्छ, तर चिकेन थर्टीथ्रीको स्वाद चाख्न भने सिद्धार्थमै आउनुपर्छ,’ रेष्टुराँका व्यवस्थापक विष्णु भण्डारी बताउँछन् । नेपालमै पहिलोपटक ‘चिकेन थर्टीथ्री’ परिकार सिद्धार्थ कटेज रेष्टुराँले शुरू गरेको उनको भनाइ छ । ‘यो हाम्रो आफ्नै एक्स्पेरिमेण्ट हो,’ भण्डारीले भने ।
राजधानीको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट कोटेश्वरतर्फ जाँदा करीब २ सय मिटर अगाडि सिद्धार्थ कटेज रहेको छ । व्यस्त सडकको छेवैमा भए पनि रेष्टुराँभित्र प्रवेश गरेपछि देखिने शान्त वातावरणले मनै आनन्दित गराउँछ । ठाउँअनुसार अलग देखिने रेष्टुराँको भित्री सजावट आकर्षक छ । भुइँतलामा आकर्षक डिजाइनका आरामदायी टेबलकुर्सी छन् । हलको बाहिरपट्टी तीनओटा कटेज बनाइएको छ । भुइँतलाकोे दायाँतर्फ पारिवारिक जमघटका लागि उच्चस्तरीय सजावटसहितको हल तयार गरिएको छ । यसमा धूमपान निषेध गरिएको छ । माथिल्लो तला आरामदायी सोफाले सजाइएको छ ।
यहाँ व्यवस्थित वार पनि बनाइएको छ । उत्तरतिर देखिने ६ लेनको सडकमा हुइकिएका सवारी, टेबलमा चिकेन थर्टीथ्रीको स्वाद र पेय पदार्थको चुस्कीले बारको बसाइ रमाइलो बनाउँछ । यहाँ ककटेल, मकटेलसहित अन्तरराष्ट्रिय ब्राण्डका पेय पदार्थ उपलब्ध रहेको भण्डारीले जानकारी दिए । रेष्टुराँको बाहिरी भागमा रहेको कन्फरेन्स हलमा भने सभा सम्मेलन तथा सेमिनार आयोजना हुने गरेको छ ।
१४ वर्षअघि धनगढीको टीकापुरमा स्थापना गरिएको सिद्धार्थ कटेज एण्ड रेष्टुराँको अहिले काठमाडौंको धोवीघाट, सुन्धारा, बानेश्वर र तीनकुनेमा शाखा खुलेका छन् । यी सबै शाखामा चिकेन थर्टीथ्रीको स्वाद लिन सकिने भण्डारीले बताए । चिकेन थर्टीथ्रीको रेसिपी विशेष किसिमको छ । काटिएको चिकेनलाई अदुवा, लसुन, हरियो खुर्सानी, मसला र टिमुर हालेर मोलिन्छ । यसरी तयार भएको परिकारलाई टिमुरको स्वादमा सर्भ गरिन्छ । ‘यो नेपाली परिकार नै हो,’ भण्डारी भन्छन् । चिकेन थर्टीथ्रीबाहेक चिकेन रेशमी कबाब, चिकेन कल्मी कबाब र चिकेन ताङ्गडी कबाब ग्राहकको विशेष रोजाइमा पर्ने गरेको छ ।
साँझको समयमा ग्राहकको भीड लाग्ने गरेको भण्डारीले जानकारी दिए । यो रेष्टुराँमा इण्डियन थाली, चाइनिज, इटालियन र नेपाली स्वादका परिकारसँग रमाउन सकिन्छ । यहाँ आउने कुल ग्राहकमध्ये ४० प्रतिशत कर्पोरेट क्षेत्रका मानिस हुन्छन् । एकैपटक २ सय जनासम्म ग्राहक अटाउन सक्ने रेष्टुराँको क्षमता छ ।
पार्किङको पर्याप्त सुविधा भएकाले साँझ ५ बजेदेखि ८ बजेसम्म रेष्टुराँमा ग्राहक भरिभराउ हुने गरेको उनले बताए । अत्यधिक मादक पदार्थ सेवन गरेका ग्राहकलाई भने रेष्टुराँ आफैंले उसको घरसम्म पुर्याउने व्यवस्था गरेको छ । यस्तो व्यवस्था गरेपछि रातिसम्म बस्ने ग्राहकको सङ्ख्या बढेको भण्डारीले बताए । रेष्टुराँ बिहान ८ बजेदेखि राति १० बजेसम्म खुला रहन्छ ।











