मागको आधा रगत स्वयम्सेवकबाट
नेपालमा एक्लै सयौंपटक रक्तदान गरेका स्वयम्सेवीहरु छन् । सरकार र रेडक्रसले यस्ता रक्तदाताको उचित सम्मान गर्ने हो भने रक्त सङ्कलनको अभियान सफल हुने र बिरामी रगतकै लागि भौंतारिनु नपर्ने रक्तदाताहरु बताउँछन् । एनसीसी बैङ्कले ३ महीनाअघि आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।
वागबजारस्थित ‘नयाँ नेपाल विकास सेभिङ एण्ड क्रेडिट’ले वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने सोच बनाएको छ । अजर सेभिङस एण्ड क्रेडिट कम्पनी, जितपुरफेदीले आफ्नो कारोबार शुरुआतको दिन पारेर गत पुसमा रक्तदान कार्यक्रम गरेको थियो ।
महाराजगञ्जस्थित ओरियण्ट कलेजले प्रत्येक वर्ष अतिरिक्त क्रियाकलापका रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । ललितपुर, नागबहाल निवासी रवीन्द्र शाक्यले हालसम्म १५ पटकसम्म रक्तदान गरेका छन् । ‘बी नेगेटिभ’ रक्त समूहका उनी प्रत्येक ३–३ महीनामा रगत दिइरहेको बताउँछन् । काठमाडौं धुम्बाराहीका सुरेश गौतमले पनि नियमित रक्तदान गर्दै आएका छन् । श्री पशुपति मारवाडी सेवा सङ्घले प्रत्येक विहीवार र शुक्रवार भूगोलपार्कमा नियमित रक्त सङ्कलन गर्दै आएको छ ।
यसरी नियमित रक्तदान गर्ने स्वयम्सेवकहरू तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रमबाट हाल नेपालमा दैनिक मागको करीब ५० प्रतिशत रगत आपूर्ति भइरहेको नेपाल ब्लड डोनर्स एशोसिएशनका अध्यक्ष महेन्द्र विलास जोशीले जानकारी दिए । १८ वर्ष उमेर पूरा भई ४५ किलोग्राम तौल भएका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय रक्तदान गर्ने मानिसहरूमा उत्साह थपिएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, भृकुटीमण्डपका कार्यक्रम अधिकृत राम श्रेष्ठको अनुभव छ । ‘
त्यो उत्साहलाई बढाउन विभिन्न सामाजिक कार्यहरूले सघाउ पुर्याइरहेका छन्,’ उनले भने । धार्मिक, व्यावसायिक, शैक्षिक तथा सामाजिक संस्थाहरूले कुनै उत्सव वा अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिरहेका हुन्छन् । यस्ता कार्यक्रमबाट रक्तदान गर्ने परम्पराको विकास भइरहेको श्रेष्ठ बताउँछन् । गतवर्ष १ लाख ६० हजार ९ सय १८ हजार युनिट रगत यस्ता कार्यक्रमबाट सङ्कलन भएको केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्कमा उल्लेख छ ।
रक्त अभाव कायमै नेपालमा विसं २०२३ सालबाट रक्त सङ्कलन शुरू भएको हो । ‘रक्त सङ्कलन शुरू भएको आधा शताब्दी पुग्नै लाग्दा पनि पर्याप्त आपूर्ति हुन सकेको छैन । स्वयम्सेवक तथा विभिन्न सङ्घसंस्थाको सहयोग नपाउने हो भने नेपालमा आकस्मिक रगत नपाउने अवस्था छ,’ अध्यक्ष जोशीले भने । हाल रगतको सङ्कलन, भण्डारण र वितरणको जिम्मा नेपाल रेडक्रस सोसाइटीले लिएको छ । रेडक्रसले रगत सङ्कलन र वितरणको पूर्ण स्वामित्व पाए पनि अपेक्षाअनुसार काम नगरेको जोशीको गुनासो छ ।
‘सामाजिक सङ्घसंस्था तथा कम्पनीहरूको पहलमा आयोजना हुने कार्यक्रममा जति रगत जम्मा हुन्छ, त्यसलाई मात्र भण्डारण गर्ने तर, थप रगत सङ्कलनमा रेडक्रस तथा सरकारले कुनै पहल गरेका छैनन्,’ उनले भने । उता, श्रेष्ठ भने चाडबाडलगायतका समयमा रगत अभाव हँुदा रेडक्रसले आकस्मिक कार्यक्रम गरी रक्तसङ्कलन तथा वितरण गरिरहेको बताउँछन् । ‘चाडबाडको समयमा अधिकांश कार्यालयहरू बन्द हुन्छन् । त्यो बीचमा रक्त सङ्कलनका कार्यक्रमहरू हुँदैनन् । सोही कारण यस समय बढी अभाव देखिन्छ,’ उनले भने ।
नेपालमा एक्लै सयौंपटक रक्तदान गरेका स्वयम्सेवीहरू छन् । सरकार र रेडक्रसले यस्ता रक्तदाताको उचित सम्मान गर्ने हो भने रक्तसङ्कलनको अभियान सफल हुने र बिरामी रगतकै लागि भौंतारिनु नपर्ने रक्तदाताहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ को मान्यताअनुसार प्रत्येक देशको कुल जनसङ्ख्यामध्ये २ प्रतिशतले मात्र रक्तदान गरेमा पनि त्यो देशको रगतको माग पूरा हुन्छ । नेपालको सन्दर्भमा पनि सबैभन्दा बढी रगतको आवश्यकता पर्ने उपत्यकामा १ वर्षमा करीब १ लाख मानिसले रक्तदान गरेमा मागअनुसार आपूर्ति हुने अध्यक्ष जोशीले जानकारी दिए । तर, हाल काठमाडौंमा वर्षेनि करीब ५० देखि ६० हजार रक्तदाताले मात्र रगत दिइरहेका छन् ।
रगत सङ्कलन
संस्था तथा कम्पनीले आयोजना गर्ने कार्यक्रममा कर्मचारी र सहयोगीबाट रगत सङ्कलन गर्ने या रक्तसञ्चार केन्द्रमै गई इच्छुक दाताले रक्तदान गर्ने गरी नेपालमा दुई प्रकारबाट रगत सङ्कलन भइरहेको छ । सङ्घसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा नेपाल रेडक्रसले प्राविधिक सहयोग गर्छ । रेडक्रसले नेपालभर ५५ ओटा जिल्लामा ७८ ओटा रक्तसञ्चार केन्द्रको स्थापना गरेको छ । ती सबै स्थानबाट रगत सङ्कलन हुने गरेको छ । त्यसो त पछिल्लो समय कतिपय कर्पोरेट हाउसहरूले आप्mनो वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गर्ने प्रचलन ≈वात्तै बढेर गएको छ । त्यसले पनि रक्त सङ्कलन कार्यमा थप सहयोग पुगेको छ ।
वितरण
नेपालमा वीर, शिक्षण, कान्ति बाल, प्रसूति गृहलगायत ठूला सरकारी अस्तपतालमा रगत सङ्कलन तथा वितरणको काम पनि हुन्छ । तर, निजीक्षेत्रका सबै अस्पतालले रगतका लागि रेडक्रसकै भर पर्नुपर्ने अवस्था छ । रक्तसञ्चार सेवामा सङ्कलित रगत बिरामीका आफन्तले डाक्टरको सल्लाहबमोजिम लिन्छन् । केन्द्रबाट अस्पतालको सिफारिशअनुसार रगत दिएर पठाइन्छ । नेपालमा रगतको व्यावसायिक कारोबार हुँदैन । अध्यक्ष जोशीका अनुसार सरकारले विसं २०३८ बाटै रगतको कारोबारमा रोक लगाएको हो । सङ्कलित रगतमा हुन सक्ने सङ्क्रमणको जाँच र भण्डारण गरी राखेको झोलाको मात्र शुल्क लिइन्छ । नेपालमा आवश्यक रगत अहिलेसम्म आयात गर्नु परेको छैन । ‘रगतमा नेपाल आत्मनिर्भर छ,’ श्रेष्ठले भने । रक्तसञ्चार सेवाबाट गतवर्ष २ लाख ३० हजार ८ सय १५ युनिट रगत वितरण भएको थियो ।
कुरूवाको भरमा रगत
नेपालमा सेना तथा प्रहरीले चलाएका विभागीय अस्पतालबाहेक अन्यमा रगतको जोहो बिरामीका आफन्तहरूले नै गर्नुपर्ने अवस्था छ । नवलपरासी घर भई काठमाडौंमा पत्थरीको शल्यक्रियाका लागि एक निजी अस्पतालमा भर्ना भएका बुबाका लागि रगत लिन रक्तसञ्चार केन्द्र आएका हरि ढुङ्गाना भन्छन्, ‘रक्तसञ्चार केन्द्र कहाँ छ भन्ने नै थाहा थिएन, सोध्दैसोध्दै आइपुगेँ । अस्पतालले नै रगत उपलब्ध गराइदिने हो भने हामीलाई सहज हुने थियो ।’ रेडक्रसले आफ्नै कर्मचारीलाई रगत लिन पठाउन अस्पतालहरूसँग आग्रह गरेको श्रेष्ठले बताए ।
वीर अस्पतालमा रगतका लागि छुट्टै एकाइको व्यवस्था छ । बिरामीका लागि चाहिने रक्तसमूहको रगत उपलब्ध भएसम्म बाहिर जानु नपर्ने वीर अस्पतालका एक कर्मचारी बताउँछन् । नभएको अवस्थामा भने केन्द्रीय रक्तसञ्चार केन्द्र या भक्तपुर रेडक्रसमा पुगी रगत ल्याउनुपर्छ । लगनखेलस्थित पाटन अस्पतालमा पनि रगतको भण्डारण हुन्छ । आवश्यक रक्तसमूहअनुरूपको रगत सकिएको बेला भने बिरामीको आफन्तले नै रगतको प्रबन्ध गर्नुपर्ने अस्पतालले बताएको छ । अस्पतालले सम्भव भएसम्म रक्त सङ्कलन केन्द्र तथा नियमित रक्तदान गर्ने व्यक्तिहरूसँग सम्पर्क पनि गराइदिने गरेको छ । ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा पनि रगतको प्रबन्ध बिरामीको आफन्तले नै गर्नुपर्छ । निजी अस्पताललाई रगत भण्डारणको अनुमति नहुँदा समस्या परेको बीएण्डबीका प्रशासक पूर्णचन्द्र प्रधान बताउँछन् । सानेपास्थित स्टार हस्पिटलमा रगतको व्यवस्था बिरामी आफैले गर्नुपर्छ । सबै अवस्थामा सबै समूहको रगत उपलब्ध नहुने भएकै कारण अस्पतालले रक्त सञ्चार केन्द्रबाट रगत लिने गरेको कर्मचारी रजनी विश्वास बताउँछिन् ।
उता, शिक्षण अस्पताल महाराजगञ्जमा भने नियमित रक्तदान कार्यक्रमको आयोजना हुन्छ । त्यसबाट सङ्कलित रगत अस्पतालमै राखी आवश्यकताअनुसार प्रयोग गरिन्छ । अस्पतालमा उपलब्ध नभएको अवस्थामा भने केन्द्रमै पठाउनुपर्ने अवस्था रहेको अस्पतालका ल्याब टेक्निसियन असिष्टेण्ट अमलेन्द्र मण्डलले बताए । सामान्यतया दुर्लभ रक्तसमूहको रगत दिने दातासँग आफन्तको सम्पर्क गराउने काम पनि अस्पतालले गर्छ । अस्पतालका विद्यार्थी, डाक्टर तथा कर्मचारीहरूले नियमित रक्तदान गर्ने भएकाले रगतको अभाव निकै न्यून हुने गरेको उनले बताए ।
रक्तदाताहरूको नाम वेब साइटमा
सामान्यतया रगतसमूह चार प्रकारका हुन्छन्, ए, बी, एबी र ओ समूह । यी सबैको नेगेटिभ समूह पनि हुने भएकाले ८ प्रकारका रगत सङ्कलन हुन्छन् । श्रेष्ठका अनुसार नेगेटिभ समूहका रक्तदाताहरूले नियमित रक्तदान गर्न मान्दैनन् । नेपाल ब्लड डोनर्स एशोसिएशनले नियमित रक्तदान गर्ने दाताहरूको नाम, सम्पर्क नम्बर, पेशा, कतिपटक रक्तदान गरेकोलगायत रक्त समूहसमेत उल्लेख गरी आफ्नो वेबसाइटमा राखेको छ । बिरामीलाई आकस्मिक रगत चाहिएमा रक्तदाताहरूलाई सम्पर्क गर्न सजिलो होस् भनेर रक्तदाताको जानकारी वेबसाइटमा राखिएको एशोसिएशनका अध्यक्ष जोशीले बताए । यसरी नम्बर राखिदिँदा कुनै बेला भने समस्या पर्ने गरेको छ । सामान्यतया एक जनाले ३ महीनामा मात्र रक्तदान गर्न सक्छ । ‘कुनै समय प्रत्येक दिन पनि फोन आउँछ, रगत दिइसकेको बताउँदा पनि नपत्याउने अवस्था छ,’ जोशी भन्छन् ।









