सूर्य नेपाल माष्टर्स गोल्फ २०१२
प्रोएम उपाधि अनुराको टोलीलाई फागनु ३०, काठमाडौं (अस) । सूर्य नेपाल माष्टर्स पूर्वविजेता श्रीलङ्काका अनुरा रोहनाको टीमले स्ट्याण्डर्ड चार्टर्ड प्रोएम उपाधि जितेको छ । अनुराको टोलीमा एलबी सिंह, जोम रङ्गा र वीरेश पल छन् । गोकणर फरेष्ट रिसोर्टमा भएको प्रतियोगितामा उनको टोलीले १५ अण्डर ५७ को स्कोर गर्दै अन्तिम नौ होलको काउण्ट ब्याकमा जित हात पारेको हो । नेपालका शिवराम श्रेष्ठको नेतृत्वमा रहेको टोलीले दोस्रो स्थान प्राप्त गरेको छ । उनको टोलीमा एमेच्योर खेलाडीहरू चार्ली गुरुङ, मधुकर याक्थुम्बा र रेखा घिमिरे रहेका छन् ।
उता रासिद खानको नेतृत्वमा रहेको साविक विजेता टोली ५७ अङ्कसहित तेस्रो स्थानमा रहन सफल भएको छ । त्यस टोलीमा एसपी राजेन्द्र श्रेष्ठ, टेण्डी शेर्पा र अदिति घिमिरे रहेका छन् । प्रतियोगितामा होल नम्बर ३ मा भएको लङ्गेष्ट ड्राइभको उपाधि टासी छिरिङले जितेका छन् भने रेखा घिमिरेले १० नम्बर होलमा भएको क्लोजेष्ट टु दि पिनको पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै ६ नम्बरको होलमा भएको स्ट्रेटेष्ट ड्राइभको पुरस्कार अदिति घिमिरेले हात पारेकी छन् ।
स्ट्याण्डर्ड चार्टर्ड प्रोएम च्याम्पियनशिपमा १ सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सहभागी खेलाडीहरूले टीम स्क्राम्बल फर्मेटमा निकै प्रतिस्पर्धात्मक तथा आक्रामक खेल प्रदर्शन गरेका थिए । मुख्य स्पर्धा बुधवार बिहान ७ बजे शुरू हुनेछ । बुधवारबाट शुरू हुने मुख्य स्पर्धा सूर्य नेपाल माष्टर्स २०१२ मा १ सय २५ खेलाडी सहभागी हुनेछन् । यसमा दक्षिण एशियाका केही उत्कृष्ट खेलाडीसमेत रहेका छन् । यीमध्ये १० जना एमेच्योर खेलाडी रहने छन् ।