एशियन लाइफको बीमा शुल्क ७० प्रतिशत बढयो
भदौ २२, काठमाडौं (अस)। आर्थिक वर्ष०६७/६८ मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जन ७० प्रतिशतले बढेको छ । गत आवको अन्त्यमा प्रकाशित वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले जारी गरेको कुल बीमालेख सङ्ख्या बढेपछि बीमा शुल्क आर्जन बढेको हो । आव ०६६/६७ को सोही अवधिमा रू. १ अर्ब ३२ करोड रहेको बीमा शुल्क आर्जन गत आवको सोही अवधिमा बढेर रू. २ अर्ब २६ करोड ७० लाख पुगेको छ । कम्पनीले जारी गरेको बीमालेख सङ्ख्या ५ दशमलव ६३ प्रतिशतले बढेर २ लाख ८३ हजार ४ सय ८५ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको बीमालेख सङ्ख्या ३ लाख ५३ हजार ७ सय ५४ रहेको थियो । तर, चौथो त्रैमासमा कम्पनीले अवधि समाप्त भएको वैदेशिक म्यादी जीवन बीमालेख नदेखाएको कारण यो घटेको देखिन्छ ।
गत आवको अन्त्यमा कम्पनीले रू. १२ करोड ४१ लाख ३७ हजार मृत्यु दाबी भुक्तानी गरेको छ, जुन गतवर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशत बढी हो । यो अवधिमा कम्पनीको बचत पनि ५० प्रतिशत बढेर रू. ७० करोड ४५ लाख ५७ हजार पुगेको छ । बचत भएको रकम कम्पनीले जीवन बीमा कोष र नाफा नोक्सान हिसाबमा सारेको देखिन्छ । बचत रकममध्ये जीवन बीमा कोषमा रू. ६९ करोड ३६ लाख र नाफा नोक्सान हिसाबमा रू. १ करोड ९ लाख ३४ हजार सारेको छ । बचत रकम सारेकै कारण गत आवको अन्त्यमा जीवन बीमा कोष २ गुणा बढेर रू. १ अर्ब २९ करोड ४७ लाख १७ हजार पुगेको छ ।
गत आवको अन्तिम समीक्षा अवधिमा कम्पनीको सञ्चित तथा जगेडा कोष ४ गुणाले बढेकोे छ । अघिल्लो आवको चौथो त्रैमासमा रू. १ करोड १२ लाख रहेको सञ्चित तथा जगेडा कोष गत आवको सोही अवधिमा बढेर रू. ५ करोड २६ लाख पुगेको छ । समीक्षा अवधिमा कम्पनीले अल्पकालीन र दीर्घकालीन दुवै प्रकृतिको लगानी तथा कर्जा पनि बढाएको छ । यो अवधिमा कम्पनीको अल्पकालीन कर्जा ५३ प्रतिशतले बढेर रू. १ अर्ब ७ करोड ३४ लाख र दीर्घकालीन कर्जा ७६ प्रतिशतले बढेर रू. ६६ करोड २३ लाख पुगेको हो । कम्पनीको कुल कर्जामध्ये अल्पकालीन र दीर्घकालीन कर्जाको अंश क्रमश: ६२ प्रतिशत र ३८ प्रतिशत हिस्सा हुन आउँछ ।
आव ०६६/६७ को अन्तिम त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको खुद मुनाफा २७ प्रतिशत घटेको छ । गत आवको अन्त्यमा कम्पनीको कम्पनीको नाफा रू. ३ करोड ५६ लाख २९ हजार रहेको छ । यो अवधिमा कम्पनीको नाफा/नोक्सान हिसाब खाताअन्तर्गत व्यवस्था तथा खर्च ४१ प्रतिशत बढेको छ भने आम्दानी ११ प्रतिशत घटेको छ । कम्पनीको व्यवस्था खर्च बढ्नु र आम्दानी घटेपछि खुद नाफा घटेको हो । गत आवको अन्तिम त्रैमासमा कम्पनीको एकीकृत आयव्यय हिसाब आम्दानी २८ प्रतिशत बढेर रू. १ अर्ब ९ करोड १४ लाख पुगेको छ । यसैगरी सोही अवधिमा एकीकृत आयव्यय हिसाब खर्च १ प्रतिशत बढेर रू. ३८ करोड ६९ लाख पुगेको देखिन्छ ।
आव ०६७/६८ को अन्त्यमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९, प्रतिशेयर नेर्टवर्थ १ सय १४ दशमलव ६२ रहेको छ । भदौ २१ गते कायम भएको कम्पनीको शेयरमूल्य रू. १ सय ४१ अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १४ दशमलव २४ रहेको छ ।











