बैङ्क अफ एशिया नेपाल लि.
वर्गीकरण : वाणिज्य बैङ्क
मुख्य कार्यालय : त्रिपुरेश्वर, काठमाडौं
स्थापना : विसं. २०६४ असोज २५
अध्यक्ष : त्रिलोक चन्द अग्रवाल
सीईओ : परशुराम कुँवर क्षत्री
शाखा कर्यालय : २९
पूँजीगत संरचना
संस्थापक शेयर : ७० प्रतिशत
सर्वसाधारण शेयर : ३० प्रतिशत
परिचय :
नेपाली व्यवसायी तथा लगानीकर्ताहरूको संलग्नतामा स्थापित यो बैङ्कले विसं. २०६४ असोज २५ देखि मुलुकको २२ औं वाणिज्य बैङ्कका रूपमा वित्तीय कारोबार सञ्चाल गर्दै आएको छ । विभिन्न उद्योगपति, व्यापारी तथा वित्तीय क्षेत्रका विज्ञहरूको बाहुल्यता रहेको यो बैङ्कले स्थापनाको छोटो अवधिमा नै धेरै स्थानमा शाखा विस्तार गरिसकेको छ । बैङ्कले आव ०६६/६७ को मुनाफा तथा सञ्चित कोषबाट लगानीकर्तालाई १० दशमलव ५३ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार चुक्ता पूँजी वृद्धि गर्न यो बैङ्कले गतवर्षनै ३ बराबर १ (३:१) को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । हाल बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ५० करोड पुगेको छ । बैङ्कले निष्कासन गरेका हकप्रद शेयरमा आवश्यक आवेदन नपरेकाले बाँकी शेयरहरू बोलकबोलद्वारा विक्री गरेको छ । ती सबै शेयर पूँजीकरण भएपछि चुक्ता पूँजी रू २ अर्ब पुग्ने लगभग निश्चित भइसकेको बैङ्कको भनाइ छ ।
प्राविधिक विश्लेषण :
यस बैङ्कको शेयर मूल्यको १ सय ८० दिने ट्रेण्डलाई प्राविधिक विश्लेषणको औजार आरएसआईद्वारा विश्लेषण यसको शेयरमूल्य अहिले ओभरवट जोनमा देखिएको छ । यसको आरएसआई रेखा अहिले स्केल ७० लाई पनि पार गरेर माथि पुगेकाले ओभरवट जोनको सङ्केत गरेको हो । हाल उक्त रेखा स्केल ८० लाई समेत पार गर्ने तरखरमा देखिएको छ । गत महीनाको अन्तिमदेखि ओभरवट जोनको स्केल ७५ र न्युट्रल जोनको स्केल ४८ को आसपास हुँदै तलमाथि गरिरहेको यो बैङ्कको आरएसआई रेखा छोटो अवधिमा नै निकै माथि पुगेको हो । यस कम्पनीको शेयरमा उत्तारचढाव भइरहे पनि आरएसआई रेखाको चालले यस बैङ्कको शेयर मूल्यमा तत्काल अवरोध आउने सम्भावना देखिएको छैन । लगानीकर्ताहरूले आव ०६७/६८ का लागि बैङ्कले प्रदान गर्ने लाभांशको प्रतीक्षा गरिरहेकाले आगामी दिनमा पनि यस बैङ्कको शेयरमा विक्री चाप नबढ्ने सम्भावना देखिन्छ । यसले पनि तत्कालै यो कम्पनीको शेयर मूल्यमा अवरोध नआउने सङ्केत गर्छ । त्यसैकारण यो कम्पनीको शेयर खरीद गर्न चाहने लगानीकर्ताहरूले केही समय प्रतीक्षा गर्नु उपयुक्त देखिन्छ । विक्रीकर्ताहरूले भने आफ्नो लगानी योजनाअनुसार निर्णयगर्न सक्नेछन् ।
वित्तीय विश्लेषण :
आव ०६७/६८ को अपरिष्कृत तेस्रो वित्तीय विवरणअनुसार यस बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही आवको तेस्रो त्रैमासिक अवधिसम्म यस बैङ्कले रू. १९ करोड ३ लाख खुद मुनाफा आर्जन गरेको छ । सो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४ दशमलव ९२ प्रतिशतले बढी हो । त्यसैगरी सो अवधिमा बैङ्कको जगेडा कोष पनि ७५ दशमलव ३३ प्रतिशतले वृद्धि भएर रू. २७ करोड ५३ लाख पुगेको छ । साथै, समीक्षा अवधिमा बैङ्कको निक्षेप सङ्कलन १७ दशमलव १९ प्रतिशतको वृद्धिसँगै रू. १३ अर्ब ५० करोड पुगेको देखिन्छ । सोही अवधिमा बैङ्कको लगानी पनि ५० दशमलव ८२ प्रतिशतले वृद्धि भएर हाल रू. २ अर्ब ८४ करोड पुगेको छ । बैङ्कको मुनाफा र लगानीमा समेत वृद्धि भएकाले आगामी वर्ष लगानीकर्ताहरूले पाउने प्रतिफलको दर पनि वृद्धि हुने सम्भावना बढेको छ । साथै, सो अवधिमा बैङ्कको कर्जा तथा ऋण सापटी भने १० दशमलव ५२ प्रतिशतले मात्र वृद्धि भएर हाल रू. ११ अर्ब ९८ करोड पुगेको देखिएको छ । समग्रमा बैङ्कको आधारभूत वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ ।
शेयर कारोबार गतिविधि :
• यस बैङ्कका आधारभूत वित्तीय परिसूचकहरूमा सामान्य सुधार भइरहेको छ । चुक्ता पूँजीमा भएको वृद्धिसँगै मुनाफामा पनि वृद्धि गरेकाले यस बैङ्कको शेयर बजार मूल्यमा पनि स्वभाविक वृद्धि भइरहेको छ । हाल बैङ्कको मूल्य-आम्दानी अनुपात १० दशमलव ४६ छ, जसलाई सामान्य रूपमा नै लिन सकिन्छ । अर्कोतर्फयस बैङ्कको किताबी मूल्य तथा मूल्य-किताबी मूल्य अनुपातमा पनि सुधार आएको छ ।
• चुक्ता पूँजी तथा खुद नाफामा भएको वृद्धिले गर्दा बैङ्कले आव ०६७/६८ का लागि पनि लगानीकर्ताहरूलाई उचित नगद लाभांश वितरण गर्न सक्ने सम्भावना बढेको छ । बैङ्कले हालसम्म लगानीकर्ताहरूलाई बोनस शेयर भने वितरण गरेको छैन । गत आवको तेस्रो त्रैमासकै अनुपातमा चौथो त्रैमासको मुनाफा पनि वृद्धि भएमा लगानीकर्ताहरूले १० प्रतिशतभन्दा बढी नगद लाभांश पाउने सम्भावना छ ।
• यस बैङ्कको शेयर नेपाल स्टक एक्सचेञ्जमा निरन्तर कारोबार हुने गरेकाले लगानीकर्ताहरूले चाहेको समयमा किन्न र बेच्न समस्या पर्दैन । त्यसले गर्दा आफूलाई चाहिएको समयमा उक्त कम्पनीको शेयर सजिलै सदुपयोग गर्न सकिने अवस्था रहेको देखिन्छ । शेयर मूल्यमा उतारचढावको अवस्था कायमै रहेकाले गर्दा सट्टेवाजहरूले पनि यो बैङ्कको शेयरमा लगानी गरी सामान्य मुनाफा कमाउन सक्ने सम्भावना देखिन्छ ।
• हिजो बुधवार १९ कारोबारवाट यस कम्पनीका ३ हजार ५ सय ८१ कित्ता शेयर किनबेच भए । प्रतिशेयर मूल्य भने रू.५ ले बढेर २ सय ११ मा बन्द भएको छ ।
शम्भु काफ्ले
ज्याम् टेक्नोलोजिज प्रालि











