नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैङ्क लि .
वर्गीकरण : क वर्गको वाणिज्य बैङ्क
मुख्य कार्यालय : मोरङ, विराटनगर
सम्पर्क कार्यालय : कमलादी, काठमाडौं
स्थापना : २०५५ श्रावण २१
अध्यक्ष : जगदीशप्रसाद अग्रवाल
मुख्य कार्यकारी अधिकृत : सशीन जोशी
शाखा कर्यालयहरू : ३६
पूँजीगत संरचना
संस्थापक शेयर : ५१ प्रतिशत
सर्वसाधारण शेयर : ४९ प्रतिशत
परिचय :
यस बैङ्कले मिति २०५५ साउन २१ गतेदेखि पूर्वाञ्चलको औद्योगिक शहर विराटनगरमा मुख्य कार्यालय खोलेर बैङ्किङ व्यवसाय शुरुआत गरेको थियो । गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१:२००० प्राप्त गर्ने पहिलो वणिज्य बैङ्क हो । यो सन् २००७ मा यस बैङ्कलाई नेपालकै उत्कृष्ट बैङ्कको रूपमा बेलायतको फिनान्सियल टाइम्स पत्रिकाले बैङ्क अफ दि इयर घोषित गरेको थियो । आर्थिक वर्ष२०६६/०६७ को मुनाफाबाट २६ दशमलव ३१५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको यस बैङ्कले अघिल्लो आवमा १५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेको थियो । चुक्ता पूँजी नेपाल राष्ट्र बैङ्कको प्रावधान अनुरूप अझै नपुगेकाले आव २०६७/०६८ मै बोनस या हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ । चुक्ता पूँजीको संरचना अनुपात सही भएकाले गर्दा आगामी दिनमा यसबाट शेयरमूल्यमा कुनै पनि असर पर्ने देखिँदैन । गत वर्षचुक्ता पूँजी विवादले गर्दा शेयर बजारमा अघिकांश कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको थियो ।
प्राविधिक विश्लेषण :
बैङ्कको १ सय ८० दिने शेयरमूल्यको ट्रेण्डलाई आरएसआई चार्टद्वारा विश्लेषण गर्दा आरएसआई रेखा ओभरवट जोनबाट न्युट्रल जोनमा देखिएको छ । गत अप्रिल महीनाको अन्त्यतिर स्केल ७० बाट सामान्य प्रतिरोध पाई स्केल ६० तिर उन्मुख देखिएको आरएरआई रेखा घट्दो अवस्थामा देखिएकको छ । यो शेयर खरीद गर्न चाहने लगानीकर्ताहरूले केही कारोबार अवलोकन गरी लगानी गर्ने बेलाको सङ्केत देखिएको छ । आव २०६७/०६८ को तेस्रो त्रैमासिक वित्तीय विवरण आइसकेकाले अहिले यो शेयर बेच्नुभन्दा अब चाँडै वितरण हुने प्रतिफलको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
वित्तीय विश्लेषण :
यस आव २०६७/०६८ को अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस बैङ्कको चुक्ता पूँजी रू.१ अर्ब ३१ करोड रहेको छ । साथै यस आवको चैत मसान्तसम्ममा बैङ्कले रू. ३५ करोड ५९ लाख खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६८ प्रतिशतले बढी हो । त्यसैगरी बैङ्कले आफ्नो जगेडा कोषलाई अघिल्लो वर्षको यही अवधिको भन्दा २१ दशमलव २६ प्रतिशतले वृद्धि गरी हाल रू. ८० करोड ९३ लाख पुर्याएको छ । साथै निक्षेप सङ्कलनतर्फ १८ दशमलव ९६ प्रतिशतको वृद्धिसँगै हाल रू. १६ अर्ब ४६ करोड सङ्कलन गर्न सफल भएको देखिन्छ । लगानीतर्फ७८ दशमलव १२ प्रतिशतले वृद्धि गरी हाल रू. ३ अर्ब ६३ करोड पुगेको छ । मुनाफामा खासै वृद्धि गर्न नसके पनि बैङ्कले लगानीमा गरेको वृद्धिले आगामी दिनमा मुनाफादर वृद्धि हुने सम्भावना बढेको छ । साथै ऋण प्रवाहतर्फ९ दशमलव ३८ प्रतिशतले वृद्धि गरी हाल रू. १५ अर्ब २५ करोड पुर्याएको छ । समग्रमा हेर्ने हो भने बैङ्कले आफ्नो वित्तीय अवस्था सुधार गरिरहेको छ । यस बैङ्कको वार्षिक प्रतिशेयर आय रू. ३४ दशमलव ३०, मूल्य आम्दानी अनुपात १८ दशमलव २५ गुणा पुगेको छ । यो गत वर्षको तुलनामा धेरै नै सुधार हो । साथै बैङ्कले प्रदान गरेको प्रतिफल दरमा पनि राम्रोसँग वृद्धि भएको छ ।
वार्षिक शेयर कारोबार विश्लेषण :
यस बैङ्कको शेयर नेपाल स्टक एक्सचेञ्जमा निरन्तर कारोबार हुने गरेकाले लगानीकर्ताहरूले चाहेको समयमा किन्न र बेच्न लागि समस्या पर्दैन । शेयरमूल्यमा उतारचढावको अवस्थाले गर्दा सट्टेवाजहरूले यस बैङ्कको शेयरमा लगानी गरी मुनाफा कमाउन सक्ने सम्भावना छ ।
बैङ्कको समग्र वित्तीय विवरण एवम् त्यसको आधारभूत प्राविधिक विश्लेषण हेर्दा बैङ्क राम्रो अवस्थामा रहेको छ । साथै प्रतिफल दरमा पनि वृद्धि हुँदै गएकाले हाल यो बैङ्कको शेयरमा लगानी गर्ने उचित समय आएको छ । यो कम्तीमा ६ महीनासम्म होल्ड गर्ने लगानीकर्ताहरूको लागि उपयुक्त हुन्छ ।
शम्भु काफ्ले
ज्याम् टेक्नोलोजिज प्रालि