वालनट्स रेष्ट्रो एण्ड लाउञ्ज, जावलाखेल, ललितपुर

अमूर्त तस्वीर मूर्त स्वाद वालनट्समा
मानभवनको व्यस्त सडक छेवैमा भए पनि पूर्णतया शान्त र पारिवारिक वातावरण रेष्टुराँको विशेषता हो । आकर्षक सजावट, शान्त वातावरण, भित्तामा सजाइएका अमूर्त तस्वीर र मीठो खानाको समिश्रण सबै ग्राहकका लागि स्मरणयोग्य छ । जावालाखेल चोकबाट लगनखेलतर्फ करीब १ सय मिटर अगाडि दायाँतर्फ ‘वालनट्स रेष्ट्रो एण्ड लाउञ्ज’को बोर्ड देखिन्छ । गत फागुनदेखि सञ्चालनमा आएको रेष्टुराले अनपेक्षित सफलता प्राप्त गरेकोमा सञ्चालक उत्तमलाल श्रेष्ठ दङ्ग छन् । सहुलियत दरमा स्वस्थकर परिकार पस्किएकै कारण रेष्टुराँ लोकप्रिय भएको श्रेष्ठको भनाइ छ ।

वालनट्स रेष्टुराँका मुख्य परिकार इण्डियन, चाइनिज, कण्टिनेण्टल, इटालियन स्वादमा उपलब्ध छन् । रेष्टुराँले उपलब्ध गराएको परिकारमध्ये ‘होल फिस हट’ ग्राहकको विशेष रोजाइमा पर्ने गरेको छ । कण्टिनेण्टल खानामा पर्ने यो परिकार रहु माछाबाट तयार पारिन्छ । पहिला माछालाई चिरा पारेर डीप फ्राई गरिन्छ । त्यसपछि सिजवन सस, अदुवा र लसुनसहित तेलमा फ्राई गरिन्छ । खैरो रङ नआएसम्म यसलाई फ्राई गरिरहनुपर्छ । त्यसपछि टिम्मुरको धुलो राखेर अदुवा, सिजवन सस, हालेर फेरी भुटिन्छ । केही समय भुटेर स्टक वाटरमा पकाएपछि माछालाई यसमा मिसाइन्छ । यसरी तयार गरिएको परिकारको बास्नाका लागि तिलको तेलमा प्लाटरमा राखिन्छ र सलादका साथ सर्भ गरिन्छ । अन्य रेष्टुराँमा पाइने परिकार त यहाँ पाइन्छ नै त्यसका अलावा ‘वालनट्स स्पेसियल स्न्याक्स’ यहाँको अर्को आकर्षण हो । यसलाई ड्रमस्टीक, चिज, पनिर पकौडा, सलाद र मटन ताससँगै सर्भ गरिन्छ ।
रेष्टुराँले वरपरका अफिस, बैङ्क तथा कर्पोरेट हाउसहरूमा खाना खाने समयमा फ्री डेलिभरीको सुविधासमेत उपलब्ध गराएको छ । भित्ताको आकर्षक रङ र कलाकार श्यामलाल श्रेष्ठका नेवारी संस्कृति झल्कने तस्वीरले रेष्टुराँलाई थप मनमोहक बनाएको छ । आरामदायी कुर्सी, टेबल र सोफासहितको ठूलो हलमा बारको समेत व्यवस्था छ । जहाँ वालनट्स स्पेशल ड्रिङकस् उपलब्ध छ । बारमा लोकल र ब्राण्डेड दुवै पेय पदार्थ उपलब्ध छन् ।वालनट्स जावालाखेल वरपर रहेका वित्तीय संस्था, कर्पोरेट अफिस, व्यवसायी र कर्मचारीहरूको जमघट थलो बनेको छ ।

त्यस्तै, जावालाखेलदेखि लगनखेलसम्म रहेका कलेजका विद्यार्थीहरूको ध्यान आकर्षण गर्न पनि यो रेष्टुराँ सफल भएको छ । कुमारीपाटीका विभिन्न पसलहरूमा किनमेल गर्न आउने ग्राहक पनि खानाका लागि वालनट्स आउने गरेको श्रेष्ठले बताए । कलेज पढ्दै गरेका विद्यार्थीका लागि रेष्टुराँले ‘कम्बो मेनु’ पनि तयार गरेको छ । गत आइतवारदेखि मात्र ४० रुपैयाँमा विद्यार्थीहरूका लागि कोक अथवा फ्याण्टासँग पिज्जा/बर्गर उपलब्ध गराउने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । यो रेष्टुराँले एकै पटकमा ५५ जना सम्मलाई सेवा उपलब्ध गराउन सक्छ । त्यस्तै, कर्मचारीहरूको सौहार्दपूर्ण व्यवहारले रेष्टुराँको सेवामा अझ मिठास थपिदिएको छ । अहिले रेष्टुराँमा ७ जना कर्मचारीले सेवा पुर्याइरहेका छन् । बिहान १० बजेदेखि बेलुकी १० बजेसम्म खुला रहने रेष्टुराँमा पर्याप्त पार्किङको सुविधा छ । छिट्टै नै रेष्टुराँको क्षमता विस्तार गर्ने योजना रहेको उनले बताए । बाहिरी भागमा बगैंचा बनाएर रेष्टुराँलाई थप आकर्षक बनाउने श्रेष्ठको योजना छ ।










