सधैं मेला–महोत्सव
नेपालमा औसतमा हरेक दिन व्यापारिक मेला तथा महोत्सव हुने गरेका छन् । पछिल्लो समय स्थानीय उत्पादन, संस्कृति प्रदर्शनी तथा पर्यटकीय महोत्सवदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय मेलाहरू आयोजना हुने क्रम बढेको छ । यस्ता मेला–महोत्सवहरू अचेल केवल प्रदर्शनी मात्र नभएर व्यापारिक, वस्तु ब्राण्डिङ तथा निर्यात प्रवद्र्धन गर्ने आर्थिक गतिविधिको प्रमुख थलोका रुपमा विकास हुँदै आएका छन् । मेनुका कार्कीको रिपोर्ट ः
वर्षभरि हुने यस्ता मेला–महोत्सवमा १ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुने र लाखौं दर्शकले अवलोकन गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको ब्राण्डिङ तथा आयस्रोत परिचालन समितिले बताएको छ । चालू आर्थिक वर्षमा मात्र महासङ्घले ४७ ओटा मेला आयोजना गरेको छ भने नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ७३ ओटा मेला–महोत्सव आयोजित भए । यसबाहेक स्थानीय सङ्घसंस्था तथा नगरपालिका एवम् गाविस, ससाना समूहको आयोजनामा चालू आवमा ३ सयको हाराहारीमा महोत्सव आयोजना भएका छन् । पछिल्लो समयमा कतिपय औद्योगिक प्रदर्शनी तथा मेला–महोत्सवहरू उत्पादक, व्यवसायी र उपभोक्ताका लागि कुम्भमेलाकै रूपमा विकसित हुँदै आएका छन् ।
यसरी आयोजना गरिने मेला–महोत्सवबाट आर्थिक उपार्जन हुनुका साथै वस्तुको चिनारी एवम् व्यापार प्रवद्र्धन गर्न मद्दत पुग्ने महासङ्घअन्तर्गतको ब्राण्डिङ तथा आयस्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकार बताउँछन् । उनका अनुसार सरकारी निकायदेखि निजीक्षेत्रका छातासङ्गठन तथा विभिन्न व्यापारिक, धार्मिक र सामाजिक सङ्घसंस्थाले विभिन्न उद्देश्य राखेर महोत्सवको आयोजना गर्दै आएका छन् । नेपालमा धेरै अघिदेखि प्रचलनमा रहेको हाटबजारकै आधुनिक रूप हाल आयोजना हुने मेला र महोत्सव भएको व्यवसायीहरू बताउँछन् ।
महोत्सवले प्रचारप्रसार, आर्थिक विकास तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न सघाएको आयोजकहरूको भनाइ छ । यस्ता महोत्सवहरूमा स्वदेशीको मात्र नभई विदेशी उत्पादक र पर्यटकहरूको उपस्थिति पनि बढ्दै गएको छ । महोत्सवको बढ्दो लोकप्रियतालाई अझ बढी प्रभावकारी बनाएर व्यवस्थित बनाउँदै लैजान समितिले महोत्सवलाई जिल्ला, बहुजिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी पाँच स्तरमा विभाजन गरेको छ । यस्ता महोत्सवका लागि सरकारले पनि स्तरअनुसार रू. १ लाख २५ हजारदेखि रू. ५ लाखसम्म सहयोग गर्दै आएको छ ।
महासङ्घले गत कात्तिक २५ देखि हालसम्म २८ मेला–महोत्सवको आयोजना गरेको छ भने काठमाडौंमा मात्र वस्तुगत सङ्घसंस्थाबाट १७ एक्स्पो आयोजना भएका छन् । गतवर्ष महासङ्घले २३ मेला–महोत्सव र १५ वस्तुगत सङ्घसंस्थाको एक्स्पो आयोजना गरेको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डले गत साउनदेखि आउँदो असारसम्मका लागि ४७ महोत्सव र ३६ मेला तय गरेकोे बोर्डको ‘क्यालेण्डर अफ इभेण्ट’मा उल्लेख छ । बोर्डले गतवर्ष विभिन्न सङ्घसंस्था, नगरपालिका तथा गाविससँग १ सय ५० महोत्सव आयोजनाका लागि सहकार्य गरेको थियो । चालू आवमा यो सङ्ख्या २ सयभन्दा बढी पुग्ने बोर्डको अनुमान छ । नेपाली धर्मसंस्कृति झल्किने चाडपर्वलाई मेला र पर्यटकीय गतिविधि प्रवद्र्धन गर्न मनाइने उत्सवलाई महोत्सव भनेर बोर्डले परिभाषित गरेको छ ।
पर्यटकीय मेला र महोत्सवले नयाँ गन्तव्यको प्रवद्र्धन गर्नुका साथै स्थानीय तहमा आर्थिक उपार्जनमा सहायक बनेको नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले बताए । उनका अनुसार पर्यटकीय गतिविधि बढाउने उद्देश्यले बोर्डले मेला–महोत्सवमा प्रवद्र्धनात्मक सहयोग गर्दै आएको हो । समयक्रमसँगै महोत्सवको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको उनको भनाइ छ । आना रुचिका विषयमा थप जानकारी हासिल गर्न, मार्केट ट्रेण्ड बुझ्न र एकै थलोमा धेरै वस्तुको जानकारी लिन यस्ता मेला उपयोगी भएको राजधानीमा गत हप्ता आयोजित ‘१५औं पुष्प प्रदर्शनी तथा व्यापार मेला’मा आएकी इन्दिरा न्यौपानेले बताइन् । त्यस्तै, गत हप्ता नै राजधानीमा शुरू भएको ‘सामसुङ मोबाइल एक्स्पो २०१२’लाई जानकारीमूलक बनाउने प्रयास गरिएको आयोजकहरूको भनाइ छ ।
उपभोक्तालाई विभिन्न ब्राण्डका मोबाइलको कार्य र तिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष सन्दीप श्रेष्ठले बताए । मोबाइल एक्स्पो किनबेच गर्ने व्यापारिक थलोभन्दा पनि मोबाइलबारे चेतना जगाउने थलोका रूपमा विकास गर्ने सङ्घको उद्देश्य रहेको उनको भनाइ छ । यसअघि ‘नीक इलेक्ट्रोटेक २०१२’ले पनि उपभोक्तालाई सचेत गराउने खालका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
नेपालमा महोत्सवहरूलाई वस्तु चिनारी एवम् व्यापार प्रवद्र्धन गर्ने प्रमुख थलोका रूपमा लिइएको छ । विदेशीका लागि भने मनोरञ्जन गर्ने स्थलका साथै नेपालको सांस्कृतिक सम्पदा तथा हस्तकलाका वस्तुहरूको चिनारी लिने एवम् विभिन्न परिकारहरूको स्वाद लिने थलोका रूपमा परिचित छ । मुलुकभर हुने यस्ता मेला–महोत्सवहरूलाई व्यवस्थित गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले २०६८ देखि नयाँ ब्राण्डिङ तथा आयस्रोत परिचालन समितिको गठनसमेत गरेको छ । यसअघि उक्त समिति मेला समितिको रूपमा रहेको थियो ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाडौंको भृकुटीमण्डपमा पहिलोपटक अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गरेको छ । चैत २३ देखि २७ गतेसम्म चल्ने उक्त मेलामा २ लाखभन्दा बढी स्वेदशी र १ हजार ५ सयभन्दा बढी विदेशी व्यापारीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । करीब रू. ५ करोडको कारोबार हुने अनुमान गरिएको उक्त मेलाको मुख्य उद्देश्य निर्यात व्यापार अभिवृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने रहेको महासङ्घका अध्यक्ष सुरज वैद्यले बताए ।









