शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

(लगानी मन्त्रः वस्तु बजारमा लगानी गर्दा आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई नबिर्र्सौं ।)

सुनः अन्तरराष्ट्रिय बजारमा विगत साढे २ महीनादेखि लगातार बढिरहेको सुनको मूल्य अघिल्लो हप्ता प्रतिऔंस १ हजार ३ सय ८७ अमेरिकी डलर पुग्यो । सुनको इतिहासमा यो अहिलेसम्मकै उच्च मूल्य हो । नयाँ उचाइ कायम गरेलगत्तै घट्न शुरू गरेको सुनको मूल्य घट्ने क्रम गत हप्ता पनि कायम रह्यो ।

गत हप्ताको पहिलो दिन सोमवार प्रतिऔंस १ हजार ३ सय ७० डलरमा खुलेको सुनको मूल्य केही समय बढेर १ हजार ३ सय ७५ डलरसम्म पुग्यो । त्यसपछि घट्न थालेको सुनको मूल्य प्रतिऔंस झण्डै २० डलर घटेर १ हजार ३ सय ५२ सम्म आए पनि पुनः बढेर १ हजार ३ सय ६८ डलरमा बन्द भयो । गत सोमवार दीर्घकालीन ऋणपत्र खरीद-विक्रीबाट अमेरिका भित्रिने खुद लगानी अपेक्षा गरेभन्दा निक्कै बढेको र हाउजिङ बजारको सूचकाङ्कमा पनि सुधार भएको प्रतिवेदन प्रकाशित भयो । फलस्वरूप अमेरिकी डलर बलियो बन्न गई सुनलगायत अन्य बहुमूल्य धातु र प्रमुख विदेशी मुद्रा घटेको हुनाले नै मूल्य घटेको हो । प्राविधिक रूपमा अत्यधिक खरीद (ओभर बट) को अवस्थाबाट घट्न शुरू गरेको सुन हप्ताको दोस्रो दिन मङ्गलवार सबैभन्दा धेरै प्रतिऔंस झण्डै ४५ डलर घटेर १ हजार ३ सय २८ सम्म आयो ।

प्राविधिक विश्लेषणको भरपर्दो उपकरण आरएसआईले सुनको मूल्य ओभर बटको अवस्थाबाट घट्न शुरू गरेको देखाएको छ । त्यसकारण, सुनको मूल्य घट्नुमा प्राविधिक पक्षले पनि सघाएको देखिन्छ । किनभने हप्ताभरि सबैभन्दा बढी मूल्य घटेकोले मङ्गलवार सबै अमेरिकी आर्थिक परिसूचकहरू नकारात्मक प्रकाशित भएका थिए । बुधवार सामान्य सुधार भएको सुनको मूल्य बिहीवार पुनः ओरालो लाग्यो । मङ्गलवार र बुधवार अमेरिकी केन्द्रीय बैङ्क फेडका अध्यक्ष बेन बर्नान्की र अर्थसचिवलगायत अन्य उच्च सरकारी अधिकारीहरूले अर्थतन्त्रका बारेमा समीक्षा गरेका थिए । उनीहरूले अमेरिकी अर्थतन्त्रको सुधार अविच्छिन्न रहेकाले नआत्तिन भनेका थिए । त्यसले पनि बढ्दो डलर लाई सघाएकाले सुनको मूल्य थप घटेको हो । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य प्रतिऔंस १ हजार ३ सय १५ सम्म आए पनि बजार बन्द हुँदा १ हजार ३ सय २८ मा पुग्यो । यसरी गत साताभरिमा सुनको मूल्य प्रतिऔंस ६० डलरभन्दा धेरैले घट्यो । चीनले ब्याजदर बढाएकाले विदेशी लगानी अमेरिकातिर प्रवाहित हुने आशङ्कामा अमेरिकी डलरमा लगानी बढेपछि सुनको मूल्य ओरालो लागेको विज्ञहरूको भनाइ छ । त्यसै गरी प्राविधिक रूपमा पनि सुनको मूल्य अत्यधिक बढिसकेकाले अब घट्न शुरू गरेको अनुमान छ । सुनको मूल्य घट्ने क्रम आगामी दिनहरूमा पनि कायम रहने सम्भावना छ । त्यसकारण, यस हप्ता सुनमा लगानी गर्नेहरूले विक्रीबाट कारोबार शुरू गर्नु लाभदायक हुने देखिन्छ ।

कच्चा तेलः गतसाता सुनको मूल्य लगातार घटिरहँदा कच्चा तेलको मूल्य भने अस्थिर रह्यो । साताको शुरूको दिन सोमवार प्रतिब्यारेल झण्डै २ डलरले बढेर ८३ भन्दा माथि पुग्यो । तर त्यो वृद्धि टिक्न सकेन । फलस्वरूप, मङ्गलवार ४ डलरभन्दा धेरैले घटेर प्रतिब्यारेल ७९ डलरको हाराहारीमा आयो । सोमवार अमेरिकी डलरसँगै बढेको कच्चा तेल मङ्गलवार भने सुनको मूल्यसँगै घट्यो । चीनले ब्याजदर बढाएपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रको वृद्धि कम हुने आशङ्कामा कच्चा तेलको मूल्य घटेको अनुमान गरिएको छ । किनभने चीन विश्वको सबैभन्दा बढी ऊर्जाखपत गर्ने देश हो । तर बुधवार प्रकाशित प्रतिवेदनले अमेरिकामा कच्चा तेलको भण्डारण घटेर अघिल्लो महीनाको तुलनामा झण्डै आधा भएको देखाए पनि यसको मूल्य पुनः उकालो लाग्यो । त्यस कारण मङ्गलवार प्रति ब्यारेल ७९ दशमलव ५० डलरभन्दा तल खुलेको कच्चा तेलको मूल्य बुधवार ८२ दशमलव ५० भन्दा माथि पुग्यो । तथापि बुधवार नै प्रकाशित प्रतिवेदनले अमेरिकी औद्योगिक उत्पादन घटेको देखाएको र यूरोपियन देशहरूका आर्थिक प्रतिवेदन पनि अपेक्षा गरेअनुरूप नआएपछि तेलको मूल्य पुनः ओरालो लाग्यो । त्यसरी प्रतिब्यारेल ८० डलरभन्दा तल आएको तेलको मूल्य शुक्रवार पुनः बढेर ८२ डलरको हाराहारीमा बन्द भयो । यसरी गत हप्ताभरि रेञ्ज बाउण्ड भएर चलेको कच्चा तेलको मूल्य यस हप्ता पनि सोही गतिमा चल्ने सम्भावना छ । त्यसकारण, यस्ता वस्तुमा लगानी गर्नेहरूले अलि चनाखो भएर कारोबार गरेमा नाफा लिन सकिने देखिन्छ ।

चाँदीः गतहप्ता चाँदीले पनि सुनको प्रवृत्तिलाई पच्छ्यायो । हप्ताको शुरूको दिन सोमवार प्रतिऔंस २४ दशमलव ३० डलरको हाराहारीमा खुलेको चाँदीको मूल्य घटेर २३ दशमलव ७० को हाराहारीमा आए पनि पुनः बढेर शुरू भएकै तहमा पुगेर बन्द भयो । क्याण्डल स्टिक प्याट्रनमा सोमवारको क्याण्डल झण्डै डोजी बन्न  पुग्यो । फलस्वरूप मङ्गलवार यस धातुको मूल्य प्रतिऔंस १ डलरभन्दा धेरैले घटेर २३ डलरको हाराहारीमा आयो । बुधवार पुनः उकालो लागेर झण्डै २४ डलरको हाराहारीमा पुगे पनि त्यस तहमा लामो समय भने टिक्न सकेन । बिहीवार बजार खुल्नासाथ घट्न शुरू गरेको चाँदी १ दशमलव ५ डलरभन्दा धेरैले घटेर २३ को तहमा बन्द भयो । हप्ताको अन्तिम दिन शुक्रवार केही सुधार भएको चाँदीको मूल्य प्रतिऔंस २३ दशमलव २७ मा बन्द भयो । सुनको मूल्यलाई पच्छ्याएको चाँदीको मूल्य यस हप्ता पनि घट्न सक्ने सम्भावना बढी छ ।