अधिकांश ब्रोकर कम्पनीको नाफा घट्यो
विजयराज खनाल
आर्थिक वर्ष २०६७÷६८ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का पुराना २३ शेयर ब्रोकर कम्पनीमध्ये अधिकांशको खुद नाफा घटेको छ । ब्रोकर कम्पनीहरूले धितोपत्र बोर्डमा बुझाएको लेखापरीक्षणपछिको वित्तीय प्रतिवेदनअनुसार गत आव २०६७÷६८ मा ११ ब्रोकर कम्पनीको खुद नाफा घटेको छ भने तीन कम्पनी खुद नोक्सानमा रहेको देखिन्छ । बाँकी तीन कम्पनीले अपरिष्कृत लेखापरीक्षण बुझाएका छन् भने चार कम्पनीले वित्तीय विवरण नै तयार गरेका छैनन् । ‘केही समयदेखि दैनिक शेयर कारोबार घटेको छ भने ब्रोकर सङ्ख्यामा वृद्धि भएको छ,’ नेपाल धितोपत्र दलाल सङ्घका अध्यक्ष अञ्जनराज पौड्यालले भने, ‘त्यसैले गतवर्ष अधिकांश पुराना ब्रोकर कम्पनीहरूको खुद नाफा घटेको हो ।’
त्यसैगरी, गतवर्षदेखि नै शेयर कारोबार अटोमेशन गर्नुपर्ने भएकाले पनि खर्च बढ्दा ब्रोकरहरूको खुद नाफामा कमी आएको पौड्यालको भनाइ छ । कम्पनीहरूले तयार पारेको आव २०६७÷६८ को वित्तीय प्रतिवेदनअनुसार नेपाल इन्भेष्टमेण्ट, जेएफ सेक्युरिटिज, त्रिशूल, श्रीकृष्णा, कुमारी, एबीसी, प्रिमियर, नेपाल स्टक हाउस, सिप्रबी, प्रिमो र श्वेता सेक्युरिटिज कम्पनीको खुद नाफा घटेको छ । सबैजसो कम्पनीको खुद नाफा ७० प्रतिशतभन्दा धेरैले घटेको देखिएको छ । सबैभन्दा धेरै खुद नाफा घट्नेमा श्वेता सेक्युरिटिज रहेको छ । श्वेताको खुद नाफ ९९ दशमलव ८ प्रतिशतले घटेर ३ हजार ९४ मा सीमित भएको उसले प्रस्तुत गरेको वित्तीय विवरणमा उल्लेख छ । त्यसैगरी, गत आवमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मिदास स्टक ब्रोकिङ र थ्राइभ ९९ दशमलव ८ प्रतिशतले घटेर ३ हजार ९४ मा सीमित भएको उसले प्रस्तुत गरेको वित्तीय विवरणमा उल्लेख छ । त्यसैगरी, गत आवमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मिदास स्टक ब्रोकिङ र थ्राइभ मल्लको रू. २२ लाख ९३ हजार, मिदासको रू. ८ लाख ८९ हजार र थ्राइभको रू.११ लाख २० हजारभन्दा बढी खुद नोक्सान रहेको उनीहरूले प्रस्तुत गरेको वित्तीय प्रतिवेदनमा देखिन्छ ।
त्यसैगरी, वित्तीय विवरण बुझाएकामध्ये १४ ब्रोकर कम्पनीले गतवर्ष रू. ६ करोड ४५ लाख ९४ हजारभन्दा बढी नेप्सेलाई कमिशन तिरेको बताएका छन् । सिप्ला सेक्युरिटिजले ग्राहकलाई रू. ६ लाख २३ हजार कमिशन छूट दिएको देखाएको छ । नेप्सेलाई सबैभन्दा धेरै कमिशन तिर्नेमा नेपाल इन्भेष्टमेण्ट सेक्युरिटिज रहेको छ । उसले रू. १९ लाख ८७ हजारभन्दा बढी कमिशन बुझाएको छ भने सबैभन्दा कम कमिशन बुझाउनेमा मिदास सेक्युरिटिज रहेको छ । मिदासले रू. ४ लाख १८ हजार कमिशन तिरेको बताएको छ । अपरिष्कृत लेखापरीक्षण बुझाउने कम्पनीहरूमा सगरमाथा सेक्युरिटिज, एशियन सेक्युरिटिज र अग्रवाल सेक्युरिटिज रहेका छन् । यस्तो अपरिष्कृत लेखापरीक्षणलाई बोर्डले मान्यता दिएको छैन । त्यसैगरी, आशुतोष ब्रोकरेज, मार्केट सेक्युरिटिज,
स्टक ब्रोकर ओपेल र अरुण सेक्युरिटिजले वित्तीय विवरण तयार गर्न थप समय माग गरेका छन् ।