शैक्षिक गतिविधिमा अग्रणी क्षेत्र
बानेश्वरक्षेत्र उपत्यकाकै उच्च शैक्षिक गतिविधि हुने स्थलका रूपमा विकसित हुँदै गइरहेको छ । निजीक्षेत्रबाट सञ्चालित राम्रा कलेज मात्र होइन, पुराना सरकारी विद्यालयका कारण पनि नयाँ बानेश्वर शैक्षिक उपत्यकाकै प्रमुख शैक्षिक केन्द्रमध्ये एक बनेको छ । यस क्षेत्रमा नेपालको शिक्षाक्षेत्रमा योगदान पुर्याइरहेको पुरानो सरकारी विद्यालय रत्नराज्य उच्च माविका साथै मीन भवन कमर्श क्याम्पस र निजीक्षेत्रका हिमालयन ह्वाइट हाउस, नोबेल एकेडेमी, चेल्सी इण्टरनेशनल, लिभरपूल, प्रिमियरजस्ता कलेज सञ्चालित छन् । माध्यमिकस्तरसम्मका कक्षा सञ्चालन हुने दर्जनौं विद्यालय यहा छन् । त्यसबाहेक, स्नातकोत्तरसम्म कक्षा सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त नेपाल कमर्श क्याम्पस र नयाँ बानेश्वर क्याम्पस पनि यही छन् । नयाँ बानेश्वर क्षेत्रमा सञ्चालित संस्थाहरूले नेपालमा प्रचलित अधिकांश शैक्षिक कार्यक्रम समावेश गरेका छन् ।
पूर्वप्राथमिकदेखी माध्यमिकस्तरसम्मको शिक्षाबाहेक, ए–लेभल र उच्च माध्यमिकस्तरका साथै उच्च शिक्षाका विभिन्न कार्यक्रम यहाका विद्यालय तथा कलेजले चलाएका छन् । अधिकांश शैक्षिक संस्थाले सार्वजनिक यातायातको सहज पहुँच, बाक्लो बस्ती, सफा तथा फराकिलो स्थान तथा राम्रो सुरक्षा प्रबन्धका कारण यस क्षेत्रमा आकर्षित भएको बताएका छन् । उपत्काका अन्य क्षेत्रको तुलनामा व्यवस्थित शहरीकरण भएका कारण पनि अधिकांश कलेज यही क्षेत्र रोजेको बताउँछन् । नयाँ बानेश्वर क्षेत्रमा हरेक वर्गका विद्यार्थीले पढ्न सक्ने सबै प्रकारका शैक्षिक संस्था खोलिएका छन् । अच्युत पुरीको रिपोर्ट :
खेलकुद, शिक्षा र व्यक्तित्व विकासको प्याकेज : प्रिमियर कलेज
‘नेतृत्वका लागि शिक्षा’भन्ने नाराका साथ सञ्चालित प्रिमियर नयाँ बानेश्वर क्षेत्रकै एक स्थापित कलेजका रूपमा चर्चित छ । सीए, प्लस टू तथा बीबीएस गरी तीनओटा कार्यक्रम सञ्चालन गरिरहेको यस कलेजले सन २००० बाट शैक्षिक यात्रा शुरू गरेको थियो । अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१ : २००८’ प्राप्त प्रिमियरले बीबीएस कोर्सका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । सुविधा सम्पन्न प्रयोगशाला, दक्ष शिक्षक तथा व्यावहारिक शिक्षाका कारण प्रिमियरले विद्यार्थीमाझ छुट्टै पहिचान बनाउन सफल भएको कलेजका एकेडेमिक डाइरेक्टर राजकुमार आचार्यले बताए । अन्तरराष्ट्रिय गुणस्तर चिह्नप्राप्त हुनुले पनि कलेजको इमानदारी तथा क्षमता बढाएको उनको विश्वास छ ।
प्रिमियरमा उच्च माध्यमिक शिक्षातर्फ मानविकी, विज्ञान तथा व्यवस्थापनका विभिन्न विषयको पढाइ हुन्छ । कलेजमा ती सङ्कायका अत्याधुनिक विषयहरू पढ्न पाउने व्यवस्था मिलाइएको छ । यहाँ विगत ८ वर्षदेखि चार्टर्ड एकाउण्टेण्ट (सीए) कोर्स सञ्चालनमा छ । सो कोर्स लिने अधिकांश विद्यार्थीहरूलाई नेपालमै पनि कामको समस्या नपर्ने प्रिमियरका सिनियर प्रशासनिक अफिसर मिथिलेशकुमार झाको भनाइ छ ।
मल्टिमिडिया प्रोजेक्टरबाट कक्षा सञ्चालन हुने यस कलेजमा व्यावहारिक शिक्षामा विशेष जोड दिइन्छ । झाका अनुसार कलेजले व्यक्तित्व विकास र शैक्षिक गतिविधिलाई सँगसँगै अघि बढाउँछ । कलेजले उच्च प्रकारको अनुशासन कायम राख्न सफल भएको भन्दै उनले त्यसका लागि बेला बेलामा अविभावकलाई विद्यार्थीहरूको प्रगति तथा व्यावहारिक विवरण दिने गरिएको जानकारी दिए । प्रिमियरमा विद्यार्थी न्यूनतम ८० प्रतिशत दिन कलेजमा उपस्थित हुनुपर्छ । समयसमयमा चर्चा हुने कलेज अनुशासन उल्लङ्घनका समस्या समाधानमा यस्ता प्रावधान फलदायी हुने प्रिमियर व्यवस्थापनको अनुभव छ ।
प्रिमियरले फराकिलो क्षेत्रमा सुविधासम्पन्न पुस्तकालय, अत्याधुनिक प्रयोगशाला, २४सै घण्टा इण्टरनेटको सुविधासहित कम्प्युटर ल्याबजस्ता सुविधा उपलब्ध गराएको छ । विद्यार्थीका लागि अफिसर झाका अनुसार जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति सुविधा रहेको यस कलेजमा कमजोर विद्यार्थीका लागि ‘सपोर्ट प्रोग्राम’ सञ्चालन हुन्छ । प्रिमियरमा खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकता दिइएको छ । झाका अनुसार दीपक बिष्ट, उपेन्द्रमान सिंह, राजेन्द्र कपालीजस्ता विभिन्न खेलाडीले यस कलेजमा प्रशिक्षण दिन्छन् । फुटबल, बास्केटबल, कराँते, क्रिकेट, ब्याडमिण्टनजस्ता खेलका विभिन्न प्रतिस्पर्धामा प्रिमियर सफल हुँदै आएको छ । कलेजमा ‘इन डोर’ तथा ‘आउट डोर’ दुवै खेलका पर्याप्त खेलसामाग्री तथा खेलमैदान उपलब्ध रहेको बताइएको छ ।
निम्न र मध्यमवर्गप्रति लक्षित : मेट्रो कलेज
गुणस्तरीय शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापलाई मूलमन्त्र मानि स्थापना गरिएको मेट्रो उच्च माविले लामो शैक्षिक यात्रा पार गरिसकेको छ । विसं २०४४ सालमा स्थापना भएको मेट्रोमा हाल प्लस टूअन्तर्गत विज्ञान, शिक्षा र मानविकी सङ्कायका कोर्स सञ्चालित छन् । नयाँ बानेश्वरको थापागाउँस्थित मेट्रोले विशेष गरी न्यून तथा मध्यम आयस्रोत भएका सर्वसाधारणलाई लक्षित गरी शुल्क निर्धारण गरेको कलेजका अध्यक्ष हरिबहादुर कार्कीले बताए । ‘यहाँ हरेक वर्गका विद्यार्थीले अध्ययन गर्न सक्छन्,’ उनले भने ।
विसं २०५९ सालबाट प्लस टू सञ्चालनमा ल्याएको कलेजले २०६१ सालबाट बीबीएस तथा बीएडका कक्षाहरू शुरू गरेको हो । सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, पर्याप्त खेलमैदान, सरसफाइलगायत सेवा उपलब्ध हुने यस कलेजमा अनुभवी तथा दक्ष शिक्षकबाट अध्यापन हुँदै आएको छ । नयाँ बानेश्वर सामान्यतया महँगा शैक्षिक संस्थाहरूबाट घेरिएको छ । कार्कीका अनुसार मेट्रो यो भीडभाडमा छुट्टै पहिचान बनाउने उद्देश्यले स्थापना भएको हो । एसएलसी तथा सो भन्दा माथिल्लोस्तरको परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस कलेजमा अध्यापनरत शिक्षकहरू दक्ष र उत्कृष्ट रहेको उनको दाबी छ ।
मेट्रो उच्च माविको स्नातक कक्षा हाल मिल्टन इण्टरनेशनल कलेजको नाममा सञ्चालित छ । यो मेट्रोकै एक सब्सिडियरी कम्पनी हो । नियमित रूपमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिताहरूको आयोजना गर्दै तथा सहभागी हुँदै आएको मेट्रोले विभिन्न उपाधिसमेत जितिसकेको छ । कराँते, भलिबल, क्रिकेट, बास्केटबलजस्ता खेलमा मेट्रो अगाडि देखिन्छ । बालबालिका बेलैमा सामाजिक गतिविधिमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्यले मेट्रोमा स्काउट गठन गरिएको पनि कार्कीले बताए ।
पढाइमा मल्टिमिडिया : लिभरपूल
नयाँ बानेश्वरस्थित लिभरपूल अध्ययनअध्यापनमा आधुनिक प्रविधिको प्रयोग गर्र्ने कलेजका रूपमा चर्चित बन्दै गएको छ । पर्याप्त भौतिक संरचनाका साथ सञ्चालित यस कलेजले गतवर्षदेखि आफ्नो शैक्षिक यात्रा शुरू गरेको हो । नेपाली विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले लिभरपूल स्थापना भएको कलेजको भनाइ छ । कलेजले आधुनिक उपकरणको प्रयोग, ई–लाइब्रेरी, फिल्ड भिजिटजस्ता उपायद्वारा पढाइमा आधुनिकता ल्याउने प्रयास गरिरहेको बताएको छ ।
लिभरपूलमा ‘प्लस टू’तर्फ विज्ञान, व्यवस्थापन तथा मानविकी सङ्कायका विभिन्न विषय सञ्चालित छन् । विज्ञान विषयको अध्ययन गर्न चाहने विद्यार्थीले एसएलसीमा न्यूनतम ६५ प्रतिशत अङ्क ल्याएको हुनुपर्छ । व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गर्न भने ५५ प्रतिशत अङ्क ल्याए पुग्छ । यहाँ व्यवस्थापनमा कम्प्युटर साइन्स, होटल म्यानेजमेण्ट, ट्राभल एण्ड टुरिजम, इकोनोमिक्सजस्ता विषयको पढाइ हुन्छ । मानविकी सङ्काय रुचाउने विद्यार्थीहरूले आमसञ्चार, समाजशास्त्र, कम्प्युटर साइन्स, अङ्ग्रेजी, ट्राभल एण्ड टुरिजमजस्ता विषयको अध्ययन गर्न सक्छन् ।
कलेजले विद्यार्थीको सुरक्षा, अनुशासन र निरन्तर उपस्थितिलाई प्राथमिकता दिने गरेको बताएको छ । कलेजमा हुने हरेक गतिविधिको अवलोकन गर्न सक्ने उच्च क्षमताका मल्टिमिडिया उपकरणहरू जडान भएको त्यसमार्फत हरेक विद्यार्थीको मूल्याङ्कन हुने कलेज बताउँछ । लिभरपूलले निकट भविष्यमा बीबीए, एमबीए र ब्याचलर इन इञ्जिनीयरिङ (बीई) को कक्षा सञ्चालन गर्ने योजना रहेको बताएको छ । दक्ष तथा अनुभवी र सम्बन्धित क्षेत्रमा ख्यातिप्राप्त शिक्षकबाट अध्यापन हुने कलेजको भनाइ छ । विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद गतिविधिका लागि पनि कलेजमा पर्याप्त सुविधा रहेको बताइएको छ ।
‘के एन के’मा मानवीय र व्यावहारिक शीप
तीन शैक्षिक तह (उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर)मा कुल ६ ओटा कार्यक्रम सञ्चालन गरिरहेको के एन के इण्टरनेशनल कलेजले प्रयोगात्मक तथा व्यावहारिक शीपलाई प्राथमिकता दिने गरेको छ । ‘फिल्ड वर्क र अध्ययन यस कलेजको प्रमुख विशेषता हो,’ के एन केका एकेडेमिक डाइरेक्टर बीके खड्काले भने । सन् १९९८ देखि अध्यापन शुरू गरेको यस कलेजले प्रारम्भमा प्लस टुसँगै बीबीएस र बीए कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपश्चात् कलेजले क्रमशः आफ्नो क्षेत्र फराकिलो बनाउँदै हाल बीबीए, बीए सोसल वर्क तथा ग्रामीण विकास विषयमा स्नातकोत्तरका विभिन्न कक्षा सञ्चालनमा ल्याइसकेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले उच्च माध्यमिक शिक्षा (प्लस टू)तर्फ व्यवस्थापन र मानविकी सङ्कायका विभिन्न विषयमा कक्षा सञ्चालन गर्छ । खड्काका अनुसार व्यवस्थापन सङ्कायमा ट्राभल्स एण्ड टुरिजम्, मार्केटिङ, होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्सजस्ता विषय समावेश छन् । उता मानविकी सङ्कायतर्फ भने ऐच्छिक अङ्ग्रेजी, समाजशास्त्र, आमसञ्चार, प्राइमरी एजुकेशनजस्ता विषय समावेश छन् । चारवर्षे बीबीएतर्फ फाइनान्सियल, इण्डष्ट्रियल तथा मार्केटिङ म्यानेजमेण्टका कक्षा सञ्चालनमा छन् । तीनवर्षे बीएसडब्ल्यूमा विद्यार्थीलाई वार्षिक २ सय ५० घण्टा फिल्ड वर्क गराइन्छ । कलेजका अनुसार सो विषयको अध्ययनका लागि विद्यार्थीलाई ग्रामीण तथा शहरी इलाकाका विभिन्न क्याम्पमा सहभागी गराइन्छ ।
के एन केमा तीनवर्षे बीबीएस कार्यक्रमतर्फ एकाउण्टिङ, फाइनान्स र मार्केटिङको पढाइ हुन्छ । त्यस्तै तीनवर्षे बीएमा भने ग्रामीण विकास, अङ्ग्रेजी, इकोनोमिक्स, पत्रकारिता, समाजशास्त्र र मनोविज्ञापनका कोर्स समावेश छन् । दुईवर्षे स्नातकोत्तरमा भने ग्रामीण विकासको कोर्समात्र पढाइ हुने गरेको छ । कम्प्युटर ल्याब, पुस्तकालयजस्ता आधारभूत सुविधायुक्त यो कलेज खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यस कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रदान गर्ने दाबी गरेको छ । शैक्षिक तथा सामाजिक गतिविधिमा संलग्नता, विभिन्न क्षेत्रको स्थलगत भ्रमण, व्यावहारिक तालीम, अन्तरक्रियाजस्ता क्रियाकलापका कारण यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले अतिरिक्त मानवीय तथा शैक्षिक शीप प्राप्त गर्न सफल भएको कलेजको विश्वास छ । ‘पछिल्लो सयम यस कलेजका उत्पादनको हरेक क्षेत्रमा उच्च माग छ,’ खड्काले भने ।
चेल्सीमा नर्सरीदेखि ‘ए लेभल’सम्म
अत्याधुनिक मोडलबाट कक्षा सञ्चालन हुने चेल्सी इण्टरनेशनल एकेडेमीमा पूर्वप्राथमिक, प्राथमिक, माध्यमिक तथा ‘जीसीई (जनरल सर्टिफिकेट अफ एजुकेशन) ए–लेभल’को पढाइ हुन्छ । सन् २००५ बाट अध्यापन शुरू गरेको कलेजले नेपाली विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरको शिक्षा दिने उद्देश्य लिएको छ । यहाँको ए–लेभललाई बेलायतस्थित ‘क्याम्ब्रिज युनिभर्सिटी’को सम्बन्धनप्राप्त छ ।
मध्यबानेश्वरमा अवस्थित चेल्सीसँग पर्याप्त भौतिक तथा शैक्षिक पूर्वाधार छ । यहाँ विभिन्न खेलकुद गतिविधिका लागि पर्याप्त खेलमैदान तथा कोर्टको व्यवस्था छ । फुटबल मैदान, बास्केटबल तथा टेनिस कोर्टजस्ता खेलस्थल यहाँका विशेषता हुन् । एकेडेमीमा अध्ययन गर्ने हरेक विद्यार्थीले पर्याप्त पार्किङस्थल, प्रयोगशाला तथा कम्प्युटर ल्याबको सुविधासमेत उपयोग गर्न पाउँछन् । हरेक तह तथा विषयको छुट्टाछुट्टै भवनबाट कक्षा सञ्चालन गर्ने यस एकेडेमीले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दाबी गरेको छ । यहाँ हरेक वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने एकेडेमीको भनाइ छ । इण्टरनेटको सुविधासहित ‘आईटी जोन’ सञ्चालन गरेको यस एकेडेमी हाताभित्र सुन्दर बगैंचाहरू पनि बनाइएको छ । स्वस्थ खाना उपलब्ध हुने क्याण्टिन, पर्याप्त पानी, शौचालयजस्ता सुविधा कलेजले उपलब्ध गराएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीलाई हरेक विषयका लागि छुट्टै पुस्तकालयको सुविधा उपलब्ध गराइएको छ । ए–लेवलअन्तर्गतको फिजिक्स, केमेष्ट्री, बायोलोजी र कम्प्युटर विषयमा अलग्गै पुस्तकालय राखिएको छ । नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीका लागि चारओटा पुस्तकालय सञ्चालित छन् । पाँचओटा कम्प्युटर ल्याबको समेत सुविधा रहेको यस एकेडेमीमा दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन हुने बताइन्छ ।
चेल्सी हरेक क्षेत्रमा सहभागी भइ सफल नतिजा ल्याउने शैक्षिक संस्थाका रूपमा पनि परिचित छ । अतिरिक्त क्रियाकलापका रूपमा हाइकिङ, ट्रेकिङ, शैक्षिक भ्रमणजस्ता गतिविधिमा संलग्न हुन पाउने यस एकेडेमीका विद्यार्थीलाई सङ्गीत, आर्ट, योग, आधुनिक तथा परम्परागत नृत्य, नाटकजस्ता गतिविधिमा पनि सहभागी गराइन्छ । ए–लेवलको नतिजामा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने चेल्सीले अतिरिक्त क्रियाकलापमा पनि सफल नतिजा ल्याउने बताएको छ । विभिन्न स्तरका खेलकुद प्रतियोगितामा पनि सफल हुँदै आएको यस एकेडेमीमा तीनओटा होष्टेल सञ्चालनमा छन् । ३० जना प्रतिवर्ष क्षमताको ‘ए’ होष्टलमा ए–लेभल तथा कलेजका छात्रहरू बस्ने गर्छन् । उता सोही क्षमताको ‘बी’ होष्टलमा कक्षा १ देखि १० सम्मका जुनियर छात्रहरू राखिएको छ । छात्राहरूका लागि भने अलग्गै छात्रावासको व्यवस्था गरिएको छ । सो छात्रावासमा सिनियर तथा जुनियर छात्राहरू बस्ने व्यवस्था मिलाइएको छ ।