सामसोनाइटका चार नयाँ ब्रिफकेश
वैशाख २७, काठमाडौं । सामसोनाइट ब्राण्डका चार नयाँ मोडलका ब्रिफकेश नेपाली बजारमा आएका छन् । सामसोनाइटका ब्लाइट, जीअन थ्री, हेरास र सेटिना मोडलका ब्रिफकेश बजारमा ल्याइएको पुल्चोकस्थित सामसोनाइट शोरूमका शाखा प्रबन्धक उमा आलेले बताइन् ।
नयाँ मोडलका ब्रिफकेशहरू विशेषगरी हवाईमार्गमार्फत यात्रा गर्ने उपभोक्तालाई लक्षित गरी ल्याइएको कम्पनीले बताएको छ । यस्ता ब्रिफकेशहरू हलुका भएकाले हवाई यात्रुका लागि बढी उपयोगी हुने आलेले बताइन् । यी ब्रिफकेशको तौल १ दशमलव ५ देखि ४ केजीसम्म रहेको छ । रातो कालो, हरियो, खैरोलगायत ६ रङमा उपलब्ध यस्ता ब्रिफकेशमा सुट, कपडा, जुत्ता तथा किताब राख्नका लागि छुट्टाछुट्टै ५ देखि ८ ओटासम्म गोजी छन् । नयाँ ब्रिफकेशहरूमा लञ्चिङ अफरस्वरूप २० देखि २५ प्रतिशतसम्म छूटको समेत व्यवस्था गरिएको आलेले जानकारी दिइन् । ब्रिफकेशको ट्रली, ह्याण्डिल ह्वील तथा स्टेचिङमा ३ देखि १० वर्षसम्मको अन्तरराष्ट्रिय वारेण्टी रहेको छ । यसका उपभोक्ताले विश्वका कुनै पनि देशमा रहेको सामसोनाइट शोरूमबाट वारेण्टी दाबी गर्न पाउने उनले जानकारी दिइन् ।
नेपालबाट मासिक करीब १० लाख रुपैयाँको सामसुनाइट ब्रिफकेश विक्री हुने गरेको जानकारी दिइएको छ । हाल नेपालमा सामसोनाइट ब्राण्डका अफिस ब्याग ब्रिफकेश डफल ब्याग, ल्यापटप कभर, क्यामरा ब्यागलगायत प्रडक्ट उपलब्ध छन् । त्यसैगरी, लक, चेन, वालेटलगायत एक्सेसरिज पनि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । यस्ता सामग्रीको मूल्य २ हजारदेखि ४२ हजार रुपैयाँसम्म पर्ने आलेले जानकारी दिइन् । हाल नेपालमा सामसोनाइटका १ दशमलव ५ देखि ७ केजीसम्मका ब्रिफकेश उपलब्ध छन् ।