प्रविधिले बदलेको कार्यस्थलको मुहार
नयाँ सम्भावनाका साथ विकास भइरहेको ‘क्लाउड कम्प्युटिङ’को अवधारणाले पनि कम्पनीहरूलाई आफ्ना कामबारे नयाँ शिराबाट सोच्न बाध्य पारिरहेको छ । यसबाट विशेषगरी विश्वका ठूला कम्पनीहरूले आफ्नो कार्यस्थलको काम थप लचकदार र सृजनात्मक बनाउन विभिन्न रणनीति अख्तियार गरिरहेका छन् ।

सञ्जीव शर्मा
कल्पना गर्नुहोस् (अथवा सम्झिनुहोस्) सन् ८० को दशकको अन्त्यतिरको एक कार्यालय । बेढङ्गी पाराले राखिएका टेबुल कुर्सी, त्यसमाथि अस्तव्यस्त कागजात, टाइपराइटर र जथाभावी तरीकाले कुनातिर राखिएका फाइलिङ दराज । कर्मचारीहरू आ–आफ्नो काममा व्यस्त नै छन् । तर, सबै काम मानिसले नै गर्नुपर्ने (हिसाब गर्नका लागि क्यालकुलेटरचाँहि उपलब्ध भइसकेको थियो) त्यो समयमा कर्मचारीहरूले जति मेहनत गरे पनि प्रतिफल त्यसअनुरूप प्राप्त हुँदैनथ्यो ।
सो समयमा सुस्तता कार्यालयहरूको विशेषता नै बनेको थियो (विशेषगरी सरकारी कामहरूमा) । सेवाग्राहीहरूका लागि त अवस्था झनै कठिन थियो । एउटा सानो कामका लागि पनि धेरैपटक कार्यालय धाइरहनुपर्ने, आफ्नो कागजात लिएर कार्यालयका सम्बधित विभागहरूमा दौडधुप गरिरहनुपर्ने अथवा हातले नै गर्नुपर्ने भएकाले घण्टौं लाइनमा बसेर समय बर्वाद गर्नुपर्ने बाध्यतामा सेवाग्राहीहरू हायल–कायल हुने गर्दथे । त्यो दशकका कर्मचारी तथा सेवाग्राहीहरूले यस्ता थुप्रै अनुभवहरू सुनाउँछन् ।
सन् ९० को दशक भने थुपै्र परिवर्तन बोकेर आयो । सूचनाप्रविधिको विकासले विभिन्न क्षेत्रहरूसँगै कार्यस्थलको संस्कृति पनि परिमार्जन गर्दै लगेको देखिन्छ । कर्मचारीहरूले नचाहिँदा कागजातका थुप्रामा आफ्नो टाउको दुखाउनु नपर्ने भयो । शुरूमा धेरैले टाइपराइटरको काम गर्ने मेशिन ठाने पनि कम्युटर एउटा यस्तो जादुयी मेशिन सावित भयो, जसले कामको परिभाषा नै बदलिदियो । डेक्समा राखिएका कम्प्युटरका किबोर्डमा कर्मचारीका औंला अभ्यस्त भएपछि कार्यालयका काम निकै छिटो÷छरितो हुन थाल्यो । सेवाग्राहीहरूले पनि कार्यालयबाट चुस्त सेवा पाउन थाले ।
व्यापारिक सफलताका लागि प्रविधि
९० कै दशकमा विकास भएको कम्प्युटर नेटवर्किङले त विभिन्न ठाउँहरूबाट हुने काम एकै स्थानबाटै गर्न सकिने अवस्था सृजना गरिदियो । कार्यालयको एक कुनाबाट अर्को कुनामा मात्र नभई एक देशको शाखाबाट अर्को देशको कारोबारसमेत नियमन गर्न सकिन्छ । कार्यस्थलको सञ्चारका लागि कम्प्युटर एक भरपर्दो र अत्यावश्यक साधन भएको छ । यसले व्यापारिक क्षेत्रको उत्पादकत्व पनि तीव्र रूपमा बढेको छ । त्यसैगरी कर्मचारीहरूबीच हुने सञ्चारको प्रकृतिमा पनि तीव्र गतिले परिवर्तन भएको छ ।
दोस्रो वा तेस्रो व्यक्तिको सहयोगविनै हुने सञ्चारले कार्यस्थलमा कर्मचारीहरूबीचको आपसी सम्बन्धलाई थप बलियो बनाएको छ । विशेषगरी सामाजिक सञ्जाल साइटहरूको प्रयोगले पनि कर्मचारीहरूको आपसी सम्बन्धलाई नयाँ प्रकारले अघि बढाइरहेको देखिन्छ । सूचनाप्रविधिले कर्मचारीहरूमा सामूहिकताको भाव पैदा गर्न सहयोग गरिरहेको छ ।
त्यस्तै कर्मचारीहरूले एकअर्कासँग सजिलैसित अन्तरक्रिया गर्नसमेत पाइरहेका छन् । व्यापारिक कम्पनीमा काम गर्ने कर्मचारीहरूप्रति लक्षित सामाजिक सञ्जाल साइट ‘लिङ्क्डइन’ यसको एक राम्रो उदाहरण हो । अहिले थुप्रै कम्पनीहरूले यो साइट प्रयोग गर्न आफ्ना कर्मचारीहरूलाई प्रेरित गरिरहेका छन् । त्यसैगरी नयाँ सम्भावनाका साथ विकास भइरहेको ‘क्लाउड कम्प्युटिङ’ को अवधारणाले पनि कम्पनीहरूलाई आफ्ना कामबारे नयाँ शिराबाट सोच्न बाध्य पारिरहेको छ ।
यसबाट विशेषगरी विश्वका ठूला कर्पोरेशनहरूले आफ्नो कार्यस्थलको काम थप लचकदार र सृजनात्मक बनाउन विभिन्न रणनीति अख्तियार गरिरहेका छन् । व्यापारिक सफलताका लागि कार्यस्थलको संस्कृति पनि परिवर्तन हुनुपर्नेमा अब धेरैको दुईमत छैन । जस्तोसुकै अवस्थामा पनि अगाडि नै रहिरहनुपर्ने वर्तमान प्रतिस्पर्धात्मक युगमा कम्युटर प्रविधिको अत्यधिक प्रयोग नगरिकन टिक्नै नसकिने अवस्था रहेको कम्पनीहरूले राम्रैसँग बुझेका छन् । कतिपय अवस्थामा त कार्यालय नगइकनै सुरक्षित नेटवर्कबाट कर्मचारीहरूले आफ्ना काम गरिरहेको समेत पाइन्छ ।
फाइदासँगै निम्तिएको जोखिम
एक दशकयता तथ्याङ्क सुरक्षा (डाटा सेक्युरिटी) एउटा प्रमुख चुनौती बनेको छ । इण्टरनेटको विकासले सम्भावनाका थुप्रै पक्षहरू उद्घाटन गरे पनि पछिल्लो एक दशकमा ह्वात्तै बढेका ‘ह्याकिङ’ र डाटा चोरीले कार्यस्थलहरू आक्रान्त बनिरहेका छन् । सर्भरहरूमा राखिएका कार्यालयीय तथ्याङ्कहरू नेटवर्कमा अवाञ्छित तवरले हुने घुसपैठबाट चोरी हुने खतराहरू पनि उत्तिकै बढेका छन् । केही वर्षयता पश्चिमी देशका ठूला कम्पनी र वित्तीय संस्थाका अतिगोप्य तथ्याङ्कहरू चोरी भएर उच्च आर्थिक क्षति बेहोर्नुपरेका उदाहरण प्रशस्तै छन् ।
तिनमा कर्मचारी तथा उपभोक्ता÷ग्राहकका तथ्याङ्क (बैङ्क खाता, बैङ्क कार्डबारेका जानकारीलगायतका बायोडाटा) चोरी धेरै भएका देखिएका छन् । तर, अहिलेसम्म कम्प्युटर सुरक्षामा काम गर्ने कसैले पनि पूर्णरूपमा सुरक्षित ‘ह्याकिङ प्रुफ’ नेटवर्क भने बनाउन सकेका छैनन् । यद्यपि, यो समस्याको सामना गर्न कम्पनीहरूको नेटवर्कलाई सुरक्षित बनाउने प्रयत्नहरू पनि भइरहेका छन् ।

भविष्यको कार्यस्थल
भविष्यको कार्यस्थल कस्तो हुनेछ ? ठ्याक्कै यस्तै हुन्छ भनेर त भन्न सकिन्न । तर, सचूनाप्रविधिको उच्च प्रयोगले सन् ८० पछि बदलिदिएको कार्यालयको मुहार भविष्यमा अहिले जस्तै पक्कै हुने छैन । कार्यालयको सम्पूर्ण काम कम्प्युटरबाटै हुनेछ, त्यहाँका कागजातको प्रयोग अत्यन्त न्यून बिन्दुमा पुग्नेछ र इलेक्ट्रोनिक फाइलहरूको प्रयोगको विकल्प भेट्टाउनै गाह्रो पर्नेछ ।
यसले गर्दा कार्यस्थलमा कर्मचारीहरूको उपस्थिति निकै कम हुन जानेछ । कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई थप उत्पादनमूलक क्षेत्रमा खटाउन सक्नेछन्, जसले उत्पादकत्वमै सकारात्मक प्रभाव पर्नेछ । खर्चमा उल्लेख्य रूपले कमी आउनेछ । अमेरिकाको कान्सास सिटीमा मुख्यालय भएको ‘इण्टरनेशनल एशोसिएशन अफ एडमिनिष्ट्रेटिभ प्रोफेशनल्स’ (आईएएपी) ले हालै गरेको एक अध्ययनमा पनि सूचनाप्रविधिले कार्यस्थलमा ल्याउने बदलाव यस्तो रहने औंल्याइएको छ –