शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: May 18, 2012
  

पर्यटकीय गतिविधि ८० प्रतिशत कम

जेठ ४, काठमाडौं । निरन्तर चलेको बन्दहडतालका कारण नेपालको पर्यटकीय गतिविधि ८० प्रतिशतसम्म घटेको छ । नेपाल भित्रिएका पर्यटकले गर्ने ट्राभल, टूर, पर्यटकीय क्षेत्र तथा गन्तव्यको दृश्यावलोकन मुश्किलले १० देखि २० प्रतिशतसम्म भएको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटीभीए)का अध्यक्ष रामहरि शर्माले अभियानलाई बताए । ‘दलहरू एवम् जातीय सङ्गठनले गरेको बन्दमा प्रायजसो पर्यटक बाहिर निस्कन रुचाउँदैनन्,’ उनले भने, ‘केहीले पर्यटकीय गतिविधिमा रूचि देखाए पनि सेवा दिन सकिएको छैन ।’ बिहीवारको बन्दमा पनि मुश्किलले १० प्रतिशतसम्म मात्र सेवा दिन सकिएको शर्मा बताउँछन् ।

यसअघिका बन्दमा पर्यटकीय सवारी चलाउँदा खासै अवरोध नभएको उनको भनाइ छ । पछिल्लो समयका बन्दमा भने पर्यटक सवारीलाई पनि अवरोध हुन थालेकाले पर्यटकीय गतिविधि ह्वात्तै घटेको एनटीभीएले बताएको छ । सामान्य अवस्थामा दैनिक करीब १ हजार २ सयओटा पर्यटक सवारी सञ्चालन हुने गरेको सङ्घले जानकारी दिएको छ । ‘बिहीवारको बन्दमा मुश्कलले २ सयओटा मात्र यस्ता सवारी गुडेका छन्,’ शर्माले भने, ‘उपत्यकाबाट कुनै पनि सवारी बाहिर जान/आउन सकेनन् ।’ यसबाट प्रतिसवारी न्यूनतम ३ हजारका दरले दैनिक ३० लाख रुपैयाँ गुमेको एनटीभीए बताउँछ । हडतालका कारण नेपाल आउने पर्यटकभन्दा बाहिरिनेको सङ्ख्या बढ्न थालेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।

बिहीवार करीब १ हजार पर्यटक नेपाल भित्रिएका छन् भने १ हजार ५ सय बाहिरिएको उक्त कार्यालयका कम्युटर अपरेटर शान्तप्रसाद भुजुले जानकारी दिए । ‘विदेशी पर्यटकलाई नै लक्षित गरी नेपाल पर्यटन बोर्डले बन्दको दिन सटल बसमार्फत सेवा उपलब्ध गराउने गरेको छ,’ नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्याण्ट शरद प्रधानले भने । उनका अनुसार यस्तो सवारी विमानस्थलबाट पर्यटकलाई होटलसम्म ल्याउने र लाने काममा मात्र प्रयोग हुन्छ । बोर्डले हिमालय उद्धार सङ्घको सहकार्यमा हरेक बन्दको दिन चार ओटासम्म सटल बस सञ्चालन गर्ने गरेको उनले जानकारी दिए ।

नेपाल घुम्न आएका पर्यटकले पनि बन्दकै कारण भ्रमण छोट्याएर फर्किने गरेको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष पवित्रकुमार कार्कीले बताए । ‘बन्दहडताल सुन्नासाथ भारतीय पर्यटक त तुरुन्तै फर्कने र नेपाल भ्रमणको योजना बनाएकाले स्थगित गर्छन्,’ उनले भने । नयाँ बूकिङ नहुने र भइसकेका बूकिङसमेत धमाधम रद्द हुने क्रम बढेको उनको भनाइ छ । नाट्टाका अनुसार गत अप्रिलको तुलनामा मे महीनामा ५० प्रतिशत बूकिङ कम भएको छ ।

‘पर्यटकले विशेषगरी असुरक्षाको कारण देखाउँदै बूकिङ रद्द गर्ने गरेको होटल एशोसिएशन अफ नेपाल (हान)का कार्यकारी निर्देशक माधवओम श्रेष्ठ बताउँछन् । ‘केही समयअघि पर्यटकमाझ नेपालको छवि सुध्रँदै गएको थियो, अहिले फेरि बन्दहडताल बढेर पर्यटन क्षेत्र बिथोलिन पुगेको छ,’ उनले भने । हाल बूकिङ रद्द गर्नेहरूमा यूरोपेली र भारतीय पर्यटक बढी भएको नाट्टाका कार्कीले बताए । बन्दहडतालले सम्पूर्ण पर्यटन व्यवसायलाई नकारात्मक प्रभाव पारेको सम्बद्ध व्यवसायीहरूको भनाइ छ । ‘काठमाडौं आइपुगेका पर्यटक उपत्यकाबाहिरको पर्यटकीय गतिविधिमा पनि रमाउन चाहन्छन्,’ सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालका महासचिव यमबहादुर खड्काले भने, ‘तर, बन्दहडतलाकै कारण बूकिङ लिन सक्ने अवस्था छैन ।’

चार्टर उडान बढ्यो
नेपालमा बन्दहडताल बढे पनि जहाज चार्टर गरी आउने विदेशीको सङ्ख्या भने बढ्दै गएको नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान तथा अनुमति शाखाका प्रबन्धक रामजिनेशलाल कर्ण बताउँछन् ।