सुरक्षा पनि सिकाउँछन् ड्राइभिङ स्कूल
अटो मोबाइल

स्याकार कम्पनीले ‘सेफ्टी नेपाल’ कार्यक्रमअन्तर्गत ड्राइभिङसम्बन्धी विभिन्न कोर्स सञ्चालन गरिरहेको छ । कम्पनीले विक्रीपछिको सुरक्षालाई प्राथमिकता दिएर सो कार्यक्रम सञ्चालन गरेको स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेण्टरका प्रमुख प्रशिक्षक सन्दीप रेग्मीले बताए । स्याकार कम्पनी होण्डाको नेपालका लागि आधिकारिक विक्रेता हो । सेण्टरमा मोटरसाइकल चलाउनेसम्बन्धी सम्पूर्ण तालीम प्रदान गरिनुका साथै सैद्धान्तिक ज्ञान पनि दिइन्छ । ‘नेपालमा कुनै पनि अन्तरराष्ट्रिय कम्पनीले आधिकारिक रूपमा सञ्चालन गरेको यो नै पहिलो र एकमात्र ट्रेनिङ सेण्टर हो,’ रेग्मी भन्छन्, ‘पछिल्लो समय तालीमका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।’
यातायात व्यवस्था विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर यस्ता स्कूलको सङ्ख्या ६ सयभन्दा बढी छ । त्यसमध्ये बागमती अञ्चलमा मात्रै २ सय ४८ ओटा ड्राइभिङ स्कूल सञ्चालनमा छन् । आर्थिक वर्ष २०६५÷६६ मा देशभर ५१ ओटा नयाँ ड्राइभिङ स्कूल खुलेका थिए । आव ६६÷६७ मा त्यसरी स्थापना हुने स्कूलको सङ्ख्या बढेर ९५ पुगेको थियो । यसैगरी आव ६७÷६८ मा स्थापना हुने यस्ता विद्यालयको सङ्ख्या १६ ओटा रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । ड्राइभिङ स्कूल सङ्घ नेपालको पछिल्लो तथ्याङ्कअनुसार पनि बागमती अञ्चलमा मात्र करीब २ सय ५० ओटा स्कूल दर्ता भएका छन् । वैदेशिक रोजगारीमा सवारी चालक आकर्षक क्षेत्रमा पर्नु र स्वदेशमा सवारीसाधनको सङ्ख्या बढनुलाई यस्ता ट्रेनिङ सेण्टर खुल्नुको मुख्य कारण मानिएको छ । सङ्घका सदस्य तथा महिमा मोटर ड्राइभिङ ट्रेनिङ सेण्टरका सञ्चालक गणेश आचार्य ड्राइभिङ स्कूलहरूले गुणस्तरीय प्रशिक्षण दिने भएकाले पनि ग्राहकको आकर्षण बढ्न थालेको बताउँछन् ।

रोजगारी लक्षित व्यवसाय
उपत्यका भित्रका अधिकांश तालीम केन्द्रमा हलुका गाडी तथा मोटरसाइकल चलाउन सिकाइन्छ । उपत्यकाबाहिर सञ्चालित विद्यालयले भने वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी ठूला बस, ट्रक, तथा डोजरलगायत सवारीसाधन चलाउनेबारे तालीम दिने गरेका छन् । ‘स्कूलहरूले आत्मविश्वाससहित कसरी सवारी चलाउने र कसरी सुरक्षित हुने भन्नेबारे प्रशिक्षण दिन्छन्,’ पुल्चोकस्थित प्रोफेसनल ड्राइभिङ इन्ष्टिच्युटका सञ्चालक कृष्ण पाण्डे भन्छन् । ड्राइभिङ स्कूलहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनसक्ने गरी कक्षा सञ्चालन गर्ने गरेको आचार्य बताउँछन् । यस्ता विद्यालयमा ट्राफिक चिन्हबारे जानकारी, सवारीसाधनको सामान्य प्राविधिक ज्ञान र आत्मविश्वास बढाउनेजस्ता कुरा पनि सिकाइन्छ । ‘स्कूलहरूले विशेषगरी सुरक्षा र शीपलाई प्राथमिकता दिएर तालीम सञ्चालन गर्छन्,’ पाण्डे भन्छन् ।
नेपालमा सवारी चलाउन जान्नेहरूलाई लाइसेन्स प्रदान गरिन्छ । ट्राफिक प्रहरीले लिने ट्रायल र लिखित परीक्षामा उत्तीर्ण सबैले सजिलै लाइसेन्स प्राप्त गर्छन् । विद्यालयहरूले सामान्यतया तीन चरणका तालीम सञ्चालन गर्छन् । ‘जान्दै नजान्नेहरूका लागि ‘बिगिनर्स तालीम’ दिइन्छ । पहिले सिकेर निरन्तरता दिन नसकेकाहरूका लागि ‘डिफेन्सिङ तालीम’ र लाइसेन्स प्राप्त गरिसकेकाहरूका लागि सुरक्षा र प्राविधिसम्बन्धी तालीम प्रदान गरिन्छ,’ सेफ्टी नेपालका रेग्मी भन्छन् । सवारी सञ्चालन, मर्मत र सुरक्षालाई विद्यालयहरूले आफ्नो सिकाइको पाठ्यक्रममा समावेश गर्ने गरेको गोंगबुस्थित गुरुङ मोटर ड्राइभिङ सेण्टरका सञ्चालक गणेश गुरुङ बताउँछन् ।
मूल्यमा प्रतिस्पर्धा
‘ड्राइभिङ स्कूलहरूको बढ्दो सङ्ख्यासँगै मूल्यमा पनि उच्च प्रतिस्पर्धा हुने गरेको छ,’ आचार्य भन्छन् । ‘जसका कारण उपभोक्ता लाभान्वित भएका छन् ।’ बजारमा ड्राइभिङ स्कूलहरूको सङ्ख्या बढ्दै गएको र घरमै सिकेर पनि लाइसेन्स प्राप्त गर्न सकिने भएकाले पछिल्लो समय मूल्यमा प्रतिस्पर्धा बढ्न थालेको स्कूल सञ्चालकहरू बताउँछन् । अधिकांश स्कूलहरूले मोटरसाइकल चलाउन सिकाएको १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म शुल्क लिन्छन् । विश्वकर्मा मोटर ड्राइभिङ सेण्टरमा स्कूटर सिकेको ३ हजार रुपैयाँ र मोटरसाइकलका लागि २ हजारदेखि २५ सय रुपैयाँसम्म शुल्क लाग्छ । हलुका सवारीसाधन चलाउन सिकाएको ४ हजार रुपैयाँ शुल्क लिने सो कम्पनीले गाडीको स्पेशल कोर्सका लागि भने ८ हजार रुपैयाँ शुल्क लिने कम्पनीकी कर्मचारी सरिता श्रेष्ठ बताउँछिन् । स्याकार कम्पनीको सेफ्टी राइडिङ ट्रेनिङ सेण्टरले लाइसेन्स प्राप्त हुन योग्य मात्र होइन, सुरक्षित हुने गरी सिकाउने र त्यसबापत ६ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको छ ।
एबिलिटीको व्यवस्थित सिकाइ 
ललितपुर, कुपण्डोस्थित एबिलिटि ड्राइभिङ स्कूलले अन्तरराष्ट्रिय स्तरको पिच बनाई मोटर ड्राइभिङसम्बन्धी तालीम दिने गरेको छ । वास्तविक बाटोको रुपमा परिणत गरिएको पिचमा उकालो, ओरालो, मोडलगायतमा गाडी चलाउनेबारे शीप सिकाइने स्कूलका प्रबन्धक जीवन थापा बताउँछन् । स्कूलमा डिभाइडर पोल प्रयोग गरी मोडहरूबारे सिकाइन्छ । यातायात व्यवस्था विभागले निर्धारण गरेको कोर्सअनुसार गाडी चलाउन सिकाइने स्कूलमा ३ प्रकारका कोर्स सञ्चालन हुन्छन् । ७, १५ र २० दिने तालीम दिइने स्कूलमा गाडीको प्राविधिक पक्षबारे पनि ज्ञान दिइन्छ ।
स्कूलका विशेषताहरू :