व्यक्तित्व :
सेवापछि समाजसेवा

‘संस्थाले लिएको उद्देश्य प्राप्त गर्न निरन्तर खटिइरहनुपर्छ’ भन्ने मान्यता राख्ने ढुङ्गाना ‘टीमवर्क’मा विश्वास गर्छन्। एउटा कुशल व्यवस्थापकले संस्थाभित्र मैत्रीपूर्ण वातावरण निर्माण गर्न पहल गर्नुपर्ने उनको भनाइ छ ।
कुशल व्यवस्थापक बत्रे उनको लक्ष्य अहिले अग्निपरीक्षामा छ । नेपाल बङ्गलादेश बैङ्क (एनबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना केही समय अघिसम्म खराब कर्जाका कारण निकै दुर्बल बनेको आफ्नो संस्थालाई नयाँ गति दिने तयारीमा छन् । चुनौतीसँग लड्न मनपराउने उनी बैङ्कलाई उठाउन केही ठोस योजनासहित काम गर्दै छन् । ‘बैङ्कमा पुरानो खराब कर्जा र पूँजी पर्याप्तताको समस्या थियो । मैले जिम्मेवारी सम्हालेको छोटै समयमा निष्क्रिय कर्जा करीब ४ प्रतिशत घटेको छ,’ ढुङ्गाना भन्छन्, ‘संस्थागत सुशासन पनि सुधारोन्मुख छ ।’
बैङ्कको निष्क्रिय कर्जा र पूँजी पर्याप्ततालाई ६ महीनाभित्र राष्ट्र बैङ्कले तोकेको मापदण्डमा पुर्याउने लक्ष्य लिएका छन् उनले । २०५१ सालमा बङ्गलादेशको आईएफआईसी बैङ्क लिमिटेडसँगको साझेदारीमा स्थापना भएको एनबी बैङ्कको शेयरलाई यही चैतभित्र ५१ प्रतिशत पुर्याउने उद्देश्य कम्पनीले बोकेको छ । २०२५ सालमा तेह्रथुमको म्याङलुङमा जन्मिएका उनी नेपाल कमर्श क्याम्पस, मीनभवनबाट बीकम गरेपछि २०४७ सालमा चार्टर्ड एकाउण्टेन्सी (सीए) पढ्न भारतको नयाँ दिल्ली गए । इन्ष्टिच्युट अफ चार्टर्ड एकाउण्टेण्टस् अफ इण्डिया (आईसीएआई)बाट २०५० सालमा ‘सीए’ गरेर फर्के । सोही साल उनी बैङ्क अफ काठमाडौंमा अधिकृत तहको जागीरे भए । ७ वर्षसम्म उक्त बैङ्कमा प्रबन्धक तहसम्मको जिम्मेवारी सम्हालेका ढुङ्गाना त्यसपछि राष्ट्र बैङ्कतिर लागे ।
‘अवसरलाई मौकामा समात्यो भने नयाँ गन्तव्य फेला पार्न सकिन्छ,’ भत्रे उनको मान्यता छ । राष्ट्र बैङ्कको खुला प्रतिस्पर्धामा एक नम्बरमा नाम निकालेर उनी उपनिर्देशक बने । ३ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट निर्देशकसम्म बनेका उनले थप ३ वर्षसम्म केन्द्रीय बैङ्कमै काम गरे । त्यसपछि नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको महाप्रबन्धक भए । उक्त बैङ्कमा ९ महीना जिम्मेवारी सम्हालेको अनुभव छ, उनीसँग । झण्डै २ महीना अघिमात्र उनी एनबी बैङ्कको मुख्य जिम्मेवारीमा आएका हुन् ।
‘संस्थाले लिएको उद्देश्य प्राप्त गर्न निरन्तर खटिइरहनुपर्छ’ भत्रे मान्यता राख्ने उनी ‘टीमवर्क’मा विश्वास गर्छन् । एउटा कुशल व्यवस्थापकले संस्थाभित्र मैत्रीपूर्ण वातावरण निर्माण गर्न पहल गर्नुपर्ने उनको भनाइ छ । ‘संस्थाको विकासका लागि व्यक्तिगत विचार लाद्नुहुँदैन । हरेकको विचार र सोच फरक हुन सक्छ, तर कन्भिन्स गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘सबै तहका कर्मचारीको सबैखाले समस्या समाधान गर्न मद्दत गर्नुपर्छ । तब मात्र कर्मचारीले संस्थालाई आफ्नो ठानेर जिम्मेवारी वहन गर्छन् ।’ ढुङ्गाना आफूलाई खुला किताबको संज्ञा दिन्छन् । सबै कर्मचारीका लागि आफ्नो ढोका सदा खुला राख्छन् । भन्छन्, ‘मेरा कर्मचारीले मसम्म आउन समय लिइरहनु पर्दैन ।’
संस्थाको लक्ष्य प्राप्त गर्न उनी सबै कर्मचारीलाई उत्प्रेरित गरिरहन्छन् । फुर्सदको समय परिवार र साथीभाइसँग बिताउन मन पराउने उनको रुचि पुस्तक पढ्नु र घुमफिर गर्नुमा पनि छ । उनी प्रायः व्यवस्थापन र लगानीसम्बन्धी पुस्तक पढ्छन् । नेल्सन मण्डेलाको जीवनी ‘लङ वाक टू फ्रिडम’ र शिव खेराको ‘यु क्यान वीन’जस्ता पुस्तकले आफूलाई ठूलो प्रेरणा दिएको उनको भनाइ छ । महीनामा दुई/तीनओटा पुस्तक पढ्ने उनी यसका लागि रातिको समय प्रयोग गर्छन् । किताब थुपारेर राख्न उनलाई मन पर्दैन । त्यसैले उनी आफूले पढिसकेका पुस्तक अरूलाई पढ्न दिन्छन् । ज्ञान बाँड्नुपर्ने ढुङ्गानाको मान्यता छ ।
आफूलाई ‘सोसल ड्रिङ्कर’ भत्र रुचाउने उनी हरेक शनिवार पशुपतिनाथको दर्शन गर्न जान्छन् । स्वस्थ रहन ४५ मिनेट मर्निङ वाकमा निस्कने ढुङ्गानाको दिनचर्या प्रायः राति ११ बजेसम्म चल्छ । देशका ४० ओटा जिल्ला पुगेका उनी दक्षिण अमेरिकाबाहेकका प्रायः देश घुमेका छन् । नेताहरूमा दृढता र देशमा राजनीतिक स्थिरता भयो भने देशको अर्थतन्त्र उकालो लाग्न धेरै बेर नलाग्ने उनको ठहर छ । देश विकासका लागि नीतिनियम कडा हुनुपर्ने र त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने उनको बुझाइ छ । सर्वप्रथमतः सफल बैङ्कर हुने त्यसपछि सेवानिवृत्त हुनासाथ समाजसेवामा लाग्ने उनको सोच छ ।
प्रस्तुति : शकुन्तला जोशी, तस्वीर : रुकेश श्रेष्ठ