शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Nov 25, 2011
  



इजरायल जानका लागि हिब्रु भाषा

उच्च शिक्षा प्राप्त नगरेका तर आकर्षक कमाइका लागि वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि उचित गन्तव्य हो, इजरायल । मध्यपूर्वी देश इजरायलमा कामदारका रूपमा जाने जोकोहीलाई समान कानूनी व्यवस्था भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले बताए । इजरायलमा नेपालीहरू कृषिक्षेत्रमा काम गर्न र केयर गिभरका रूपमा जान पाउने नियम छ । यीबाहेक अन्य काम भने इजरायलमा गर्ने नपाइने उनले जानकारी दिए । हालै इजरायलमा केयर गिभरका रूपमा कामदार पठाउन १ सय ८२ ओटा म्यानपावर कम्पनीहरूलाई सूचीकृत गरिएको छ । इजरायल जान चाहने व्यक्ति सरकारले सूचीकृत गरेका म्यानपावर कम्पनीहरूबाट मात्र इजरायल जान सक्छन् । इजरायल जानुपूर्व सबैले हिब्रु भाषा सिक्नुपर्ने अनिवार्य व्यवस्था छ । हिब्रु भाषा मात्र सिकाउन भने नेपाल सरकारले कुनै पनि भाषा प्रशिक्षण केन्द्रलाई सूचीकृत गरेको छैन ।


इजरायलका लागि हिब्रु भाषा

इजरायल जान चाहनेका लागि हिब्रु भाषा अनिवार्य छ । इजरायलको राष्ट्र भाषा नै हिब्रु भएकाले त्यहाँ जानुअघि लागि यो भाषाको सामान्य ज्ञान प्राप्त गर्नैपर्छ । त्यसो त जुनसुकै देशमा जानका लागि त्यहाँको राष्ट्र भाषा सिक्नुपर्ने नेपाल सरकारको प्रावधान छ । सामाजिक सुरक्षा र पारिश्रमिक राम्रो भएका कारण नै इजरायल जान चाहने मानिसको सङ्ख्यामा वृद्धि भइरहेको देवकोटा बताउँछन् । १ सय २० घण्टा हिब्रु भाषा सिकेको प्रमाणपत्र भएमा मात्र उनीहरूले इजरायल जानका लागि अनुमति पाउने उनले बताए । हाल उपत्यकामा मात्र १ सय ५० को हाराहारीमा हिब्रु भाषा सिकाउने संस्था छन् । प्रायः संस्थाले हिब्रु भाषा सिक्न आउने विद्यार्थीका लागि ५ हजार रुपैयाँ शुल्क तोकेका छन् ।


rojgariभाषाका साथै अन्य जानकारी

काठमाडौं मल्टिपल इन्ष्टिच्युटकी संयोजक प्रभा प्रधानाङ्गका अनुसार विद्यार्थीहरूलाई भाषा सिकाउने क्रममा उनीहरूलाई इजरायलको सांस्कृतिक मूल्यमान्यताहरू पनि सिकाइन्छ । आपूmहरूले पनि भाषा मात्र सिकाउने नगरेको बताउँछन्, ओरियन एकेडमीका एक कर्मचारी । उनका अनुसार आफ्ना विद्यार्थीहरूलाई इजरायलमा पुगेपछि कसरी काम गर्ने, कोसँग कसरी बोल्ने, बजारमा किनमेल गर्न जाँदा कसरी व्यवहार गर्नेलगायतका आधारभूत कुराको पनि ज्ञान दिइन्छ । कुनै पनि जानकारीविना विदेश जानाले कतिपयले दुःख भाग्नु परेको पनि आफूहरूले थाहा पाएको प्रधानाङ्ग बताउँछिन् ।

विद्यार्थीको चाप बढ्ने आशा

यसअघिका झण्डै २ वर्ष नेपाल सरकारले इजरायलमा नेपाली कामदार पठाउन रोक लगाएको थियो । हाल फेरि अनुमति दिएपछि वैदेशिक रोजगारीमा जान चाहनेका लागि इजरायल फेरि आकर्षक गन्तव्यका रूपमा देखा परेको छ । त्यसले गर्दा हिब्रु भाषा सिकाउने संस्थाहरू पनि आफ्ना विद्यार्थीहरू बढ्नेमा आशावादी छन् । भर्खरै एक समूहलाई भाषा प्रशिक्षण दिएको बताउने काठमाडौं मल्टिपल इन्ष्टिच्युटमा फेरि नयाँ विद्यार्थीको समूह आएमा नयाँ कक्षा सञ्चालन गर्ने बताइएको छ । त्यस्तै ओरियन एकेडेमीले पनि नयाँ कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । राजधानीमा सञ्चालित अधिकांश भाषा प्रशिक्षण संस्थामा हिब्रु भाषालाई समावेश गरिँदै गएको छ ।

संस्थामा प्रशिक्षकको अभाव

आफ्ना संस्थामा भएका भाषा प्रशिक्षकहरू निकै राम्रो भएको बताए पनि अझ राम्रा भाषा प्रशिक्षकहरू अपुग भएको उनीहरूले बताएका छन् । अरू भाषामा जस्तो राम्रोसँग तालीम लिएका शिक्षकहरूको सङ्ख्या निकै कम भएको प्रधानाङ्ग बताउँछिन् । उनी भन्छिन्, ‘भाषा सिक्न आउने सबैको लक्ष्य नै इजरायल जाने हुन्छ । सिकेर नेपालमा नै बसी फेरि भाषा सिकाउने पनि कसैले गर्दैनन् । त्यसमा पनि हिब्रु भाषा सिक्न आउने विद्यार्थी सङ्ख्यामा नियमिता छैन ।’ कहिले कुन समयमा त कहिले कुन समयमा विद्यार्थीको चाप बढ्ने भएकाले शिक्षक सङ्ख्या कति राख्ने भन्नेमा पनि भाषा प्रशिक्षण संस्थाहरू अन्योलमा भएको उनले जानकारी दिइन् । तर, राम्रो प्रशिक्षकले भने अब भाषा सिकाएरै राम्रो आम्दानी गर्न सक्ने कम्पनीहरूको भनाइ छ ।


भाषामा महिलाको आकर्षण बढ्दो

इजरायलमा कामदारका रूपमा जाने नेपाली सङ्ख्यामा करीब ९० प्रतिशत महिला रहेको देवकोटा बताउँछन् । अन्य मुलुकको तुलनामा यो देश सुरक्षाको दृष्टिकोणले निकै राम्रो मानिन्छ । देवकोटा आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘म एकपटक इजरायल जाँदा रातको समयमा पनि नेपाली महिलाहरू निकै स्वतन्त्रपूर्वक पार्कमा घुमिरहेका थिए । उनीहरूलाई सोध्दा पनि त्यहाँ कुनै पनि किसिमको असुरक्षाको नभएकोे बताए ।’ यसैकारण पनि हिब्रु भाषा सिक्नेमा पनि महिलाहरू नै धेरै छन् । अक्षर चिन्न र पढ्न सक्ने भएका जोकोहीले पनि जान पाउने भएकाले नेपाली महिलाहरूले हिब्रु भाषामा रुचि राखेको हुन सक्ने प्रधानाङ्गले बताइन् ।