कास्कीमा आलमण्ड खेतीको सम्भाव्यता अध्ययन शुरू
वैशाख २६, पोखरा । कास्कीमा चिनियाँ बदाम (आलमण्ड)को व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययन शुरू गरिएको छ । ‘अलमण्ड स्टडी ग्रूप’को संयोजनमा कास्कीको सार्दिखोला, ल्वाङघलेल, अर्मला तथा लुम्लेमा बुधवारदेखि अध्ययन गर्न लागीएको संयोजक कुसुमकेशव पराजुलीले जानकारी दिए । उनले भने, ‘चिनियाँ बदाम बहुउपयोगी भएकाले यसको व्यावसायिक खेतीका लागि अध्ययन गर्न लागेका हौं ।’ १ हजार रोपनीमा बदाम खेती गर्न ८ करोड रुपैयाँ खर्च लाग्ने पराजुलीले बताए । उनले भने, ‘५ वर्षसम्ममा लगानी उठाउन सकिन्छ ।’
चिनियाँ बदाममा भिटामिन ई, प्रोटिन, क्याल्सियम, आइरन, फस्फोरसलगायतका तत्वहरू पाइने विज्ञहरू बताउँछन् । सौन्दर्य तेल, क्यान्सरविरुद्धको औषधि तथा आँखाको सुरक्षाका लागि यसको प्रयोग हुने गरेको पराजुलीले बताए । यसको २३ दानाले १ सय ६० क्यालोरी पूर्ति गर्ने बदामविज्ञ सुन्दर अधिकारीले अभियानलाई बताए । बदामको एउटा बिरुवा हुर्काउनमात्रै ५ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने ग्रूपले जानकारी दियो । सहकारीद्वारा यसको खेती गर्नु उत्तम हुने उनीहरूको धारणा छ । हाल नेपालमा वार्षिक ४० करोड रुपैयाँबराबरको चिनियाँ बदाम भित्रिने गरेको तथ्याङ्क छ । भारतमा वार्षिक ५८ हजार मेट्रिक टनभन्दा बढी बदाम खपत हुने गरेकाले यसको व्यावसायिक उत्पादन गरेमा नेपालले आफ्नो सम्पूर्ण उत्पादन भारतलाई निर्यात गर्न सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।