ड्रिमल्याण्डमा वार्षिक

दश हजार पर्य६क कवीन्द्र नेपाल/रूपन्देही रूपन्देहीको आनन्दवन–३ मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट फुर्सद बिताउने थलो बन्दै गएको छ । एकान्त, शान्त तथा मनोरम वातावरणमा गुणस्तरीय सेवा दिएका कारण यो क्षेत्रको भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक बस्न ड्रिमल्याण्डमै आउने गरेको रिसोर्टका कार्यकारी निर्देशक विष्णुप्रसाद पौडेलले बताए । ‘रिर्साेट रमणीयस्थलमा अवस्थित छ । २५ दशमलव ५० मिटर क्षेत्रफलमा निर्माण भएको अन्तराष्ट्रियस्तरको स्वीमिङ पुल मात्र होइन, पारिवारिक वातावरणमा अत्याधुनिक तथा उच्चकोटीको सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । रिसोर्टले ‘थ्री स्टार’स्तरको सेवा दिइरहेको उनको दाबी छ ।
चौबीसै घण्टा खुला रहने यस रिसोर्टभित्र निःशुल्क वाईफाई उपलब्ध छ । विदेशी मुद्रा सटहीको सुविधा, भिसा तथा माष्टर कार्ड सेवा, पर्याप्त पार्किङ, बारजस्ता सुविधाका कारण रिसोर्टमा ग्राहक आकर्षित हुने गरेको सञ्चालकहरू बताउँछन् । रिसोर्टमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय टेलिफोन सेवा, ‘लण्ड्री सर्भिस’, ‘सेफ डिपोजिट लगेज’जस्ता सुविधा पनि उपलब्ध छन् । सोही कारण बुटवल र लुम्बिनी आउने पर्यटक रिसोर्टसम्म आएरमात्र फर्कने गरेको निर्देशक पौडेलको भनाइ छ ।
अहिलेको ड्रिमल्याण्ड ‘समरल्याण्ड’को नाममा करीब ७ वर्षअगाडि शुरू भएको थियो । सञ्चालनमा आएको केही समयमै बन्द भएको सो रिसोर्ट २०६७ सालमा नयाँ व्यवस्थापन र नामसहित पुनः सञ्चालनमा आएको हो । गुणस्तरीय खाना तथा चुस्त सेवालाई ध्यानमा राखी सञ्चालन गरिएका कारण पछिल्लो समय रिसोर्ट सफल बन्दै गएको कम्पनीको भनाइ छ । रिसोर्टमा हाल आन्तरिक तथा बाह्य गरी वार्षिक १० हजारभन्दा बढी पर्यटक आउने पौडेलले बताए । यहाँ हरेक महीना १० देखि १२ ओटासम्म सेमिनार तथा विभिन्न संस्थाको वार्षिकोत्सव कार्यक्रम हुने गरेको रिसोर्टका प्रबन्ध निर्देशक कृष्ण खनाल बताउँछन् ।
रिसोर्टमा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ शुल्कमा दिनभर पौडी खेल्न पाइने व्यवस्था पनि छ । एक रातका लागि रिसोर्टमा बस्नेका लागि निःशुल्क पौडीको व्यवस्था भएको रिसोर्टमा बालबालिकाका लागि ‘बेबी स्वीमिङ पुल’ पनि उपलब्ध छ । प्रतिदिन प्रतिकोठा २ हजारदेखि ६ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको रिसोर्टमा भारत, जापान, कोरिया, नर्वे, स्वीडेन, डेनमार्क, फ्रान्स, अष्ट्रेलिया, श्रीलङ्कालगायत देशका पर्यटक आउने गरेका छन् । बुटवल तथा भैरहवाबाट समान दूरीमा पर्ने यो रिसोर्ट बुटवलबाट ९ किलोमिटर दक्षिणमा अवस्थित छ । ड्रिमल्याण्ड सिद्धार्थ राजमार्गबाट करीब ४ सय मिटर पश्चिममा २ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
राम्रो सुरक्षा व्यवस्था अपनाइएको यस रिसोर्टमा १ सय ५० र १ सय जना क्षमताका दुईओटा प्रदर्शनी हल छन् । रिसोर्टमा सुविधा थप गर्दै जाने योजना रहेको सञ्चालकहरू बताउँछन । रिसोर्टमा यस क्षेत्रका १० जना उद्योगीहरूको करीब १० करोड रुपैयाँ लगानी रहेको छ । ‘ड्रिमल्याण्डमा सुविधा र क्षमता थप गर्ने योजना छ,’ अध्यक्ष गोपाल रानाले भने ।