कम्पनी :
नेपालमा उपभोक्ताको हकहित तथा अधिकार संरक्षण र संवद्र्धन गर्नका निम्ति केकस्ता ऐनकानून निर्माण गरिएको छ ?
वसन्त क्षेत्री, स्याङजा
वसन्तजी, नेपालमा उपभोक्ताको हकहित तथा अधिकार संरक्षण तथा संवद्र्धन गर्न उपभोक्ता संरक्षण ऐन २०५४ लागू गरिएको छ । यस ऐनमा उपभोक्ताको अधिकार संरक्षण तथा संवद्र्धन गर्नका निम्ति विभिन्न व्यवस्था गरिएको छ । ऐनको प्रस्तावनामा नै उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उपभोग्य वस्तुवा सेवाको गुणस्तर, परिमाण एवम् मूल्यको अनियमितताबाट उभोक्ता वर्गलाई संरक्षण प्रदान गरी उपभोग्य वस्तु वा सेवाको गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गर्न.... वञ्छनीय भएकाले उल्लेख छ । उपभोक्ताको संरक्षण तथा संवद्र्धन गर्न मूलतः यस ऐनमा निम्नानुसार व्यवस्था गरिएको छ ।
ऐनको दफा ६(१) मा उपभोक्ताको हकहित संरक्षण गर्ने प्रयोजनका निम्ति प्रतयेक उपभोक्तालाई देहायका अधिकार हुने उल्लेख छः क) जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने उपभोग्य वस्तु तथा सेवाको विक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार, ख) अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनको निमित्त उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुण, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सूचित हुने अधिकार, ग) यथासम्भव प्रतिस्पर्धात्मक मूल्यमा उपभोग्य वस्तु तथा सेवाको छनोट गर्न पाउने अवसरमा विश्वस्त हुने अधिकार, घ) उपभोक्ताको हकहित संरक्षणका सम्बन्धमा उपयुक्त निकायबाट सुनुवाइ हुन्छ भन्ने कुरामा विश्वस्त हुने अधिकार, ङ) अनुचित व्यापारिक क्रियाकलापबाट उपभोक्ताहरूमा हुने शोषण तथा मर्काको विरुद्ध सुनुवाइ र क्षतिपूर्ति पाउने अधिकार, च) उपभोक्ता शिक्षाको अधिकार । त्यस्तै, दफा ६ (२) मा उपदफा १ मा उल्लिखित उपभोक्ताको अधिकारको संरक्षण तथा संवद्र्धन गर्ने वातावरणको सृजनाका निमित्त नेपाल सरकारलाई आवश्यक निर्देशन दिने उल्लेख छ ।
परामर्शदाता : जीडीपी कन्सल्टिङ,पुतलीसडक