विस्तार हुँदै इण्टरनेट सेवा

विश्वास रेग्मी
शुरू भएको छोटो अवधिमै नेपालमा इण्टरनेट सेवाले ठूलो फड्को मारेको छ । सेवाप्रदायक कम्पनीहरूको सङ्ख्यात्मक वृद्धिसँगै आममानिसमा इण्टरनेटको पहुँच बढ्दै गएको छ । सूचनाप्रविधिको विकासले इण्टरनेट सेवा अनिवार्य आवश्यकता बन्न पुगेको इण्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएशन अफ नेपाल (आईएस्पान)का अध्यक्ष विनय बोहराले बताए । यसबाहेक अन्तरराष्ट्रिय सञ्चारको भरपर्दो माध्यम र सूचनाको मुख्य स्रोतका रूपमा पनि इण्टरनेटले पहिचान बनाइसकेका कारण नेपालमा यसको उच्च सम्भावना रहेको हो ।
इण्टरनेटको बजार सम्भावनालाई पछ्याउँदै केही निजी आईएसपी कम्पनीहरूले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको रेडियस कम्युनिकेशन्सका विक्री अधिकृत कौशल श्रेष्ठ बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ४५ ओटा निजी इण्टरनेट सेवाप्रदायक कम्पनी सञ्चालनमा रहेका छन् । यीबाहेक तीनओटा टेलिकम कम्पनी र ६ ओटा ग्रामीण इण्टरनेट सेवाप्रदायकले इण्टरनेट सुविधा उपलब्ध गराउँदै आएका छन् । नेपाल टेलिकम, एनसेल र युनाइटेड टेलिकमले इण्टरनेट सेवासमेत उपलब्ध गराइरहेका छन् ।
सञ्चालनमा रहेका सबै खालका इण्टरनेट सेवाप्रदायकका हालसम्म ४५ लाख ग्राहक रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । ग्राहकको सङ्ख्या बढ्दै गएपछि निजी आईएसपी कम्पनीहरूले सेवालाई अझ विस्तार गर्ने योजना बनाएको श्रेष्ठ बताउँछन् । ग्रामीण क्षेत्रमा रहेका मानिस पनि इण्टरनेट सेवाप्रति आकर्षित हुँदै गएकाले सेवालाई अझ विस्तार गर्ने योजनामा कम्पनीहरू रहेका छन् । नेपालमा इण्टरनेट सेवाको जम्मा १ प्रतिशत मात्र पूर्णरूपले उपयोगमा आएको छ । बाँकी ९९ प्रतिशत क्षेत्रमा अझै सुविधा विस्तारको सम्भावना रहेकाले आईएसपीहरू सेवा विस्तारमा केन्द्रित रहेको बोहराले बताए । यद्यपि, निजी आईएसपी कम्पनीहरूको सेवा देशका प्रमुख शहरमा मात्र केन्द्रित छ । टेलिकम कम्पनीहरूको तुलनामा निजी आईएसपी कम्पनीले प्रदान गर्ने सेवा केही महँगो भएका कारण ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न समस्या भएको हो ।
प्रायः निजी आईएसपी कम्पनीहरूले कर्पोरेट क्षेत्रलाई लक्षित गरी सोहीअनुसारको सेवा प्रदान गर्दै आएका छन् । टेलिकम कम्पनीहरूले भने व्यक्तिगत प्रयोगलाई समेत लक्षित गरी सेवा प्रवाह गरिरहेको अवस्था छ । टेलिकम कम्पनीहरूले जीपीआरएस, एडीएसएल र सीडीएमए फोनको माध्यमबाट इण्टरनेट सुविधा उपलब्ध गराउँदै आएका छन् । त्यसमध्ये जीपीआरएस इण्टरनेट प्रणाली लोकप्रिय छ । व्यापक नेटवर्किङ, सस्तो, सहज सञ्चालनजस्ता विशेषताले जीपीआरएस लोकप्रिय बन्दै गएको टेलिकम कम्पनीहरूको भनाइ छ ।
निजी आईएसपी कम्पनीहरूले वायरलेस, अप्टिकल फाइबर, भिस्याट (भेरी स्मल अप्टिकल एपर्चर) तथा डायलअप प्रविधिबाट इण्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । यीमध्ये वायरलेस प्रविधिको इण्टरनेट सेवा बढी प्रचलनमा छ । नेपालमा गुणस्तरीय इण्टरनेट सेवा प्रदान गर्ने प्रविधि मानिएको अप्टिकल फाइबरको प्रयोग पनि बढ्दै छ । उच्चगतिको इण्टरनेट प्रयोगकर्ताका लागि यो प्रविधि उपयुक्त मानिन्छ । खासगरी कार्यालय प्रयोजनमा फाइबर प्रविधिको इण्टरनेट प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको हो । पुरानो मानिने डायलअप प्रविधि भने लोप हुने अवस्थामा पुगेको मर्कण्टायल कम्युनिकेशन्सका प्राविधिक व्यवस्थापक शेखर बस्नेतले बताए ।
विस्तार हुँदै गएको सेवा र प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि हुँदै गएपछि आईएसपी कम्पनीहरूको कारोबारसमेत बढ्न थालेको छ । निजी आईएसपीहरूले मात्र वार्षिक १ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने बोहराले बताए । अहिले आईएसपीको कारोबार वार्षिक ५ प्रतिशतसम्मले बढ्दै गएको देखिन्छ । सेवा विस्तारको पर्याप्त सम्भावना रहेकाले कारोबार रकम अझ बढ्न सक्ने बोहराको अनुमान छ । टेलिकम कम्पनीसरहको सुविधा पाएमा निजी आईएसपीहरूले हालको लगानीलाई दोब्बर गर्ने ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन प्रालिका प्रमुख कार्यकारी अधिकृत विनोद तिमल्सिनाको भनाइ छ ।
आईएसपीका समस्या
निजी आईएसपीहरूले नीतिगत समस्याकै कारण सम्भावनाअनुसार आफूलाई विकास गर्न नसकेको सम्बद्ध अधिकारीहरू बताउँछन् । निजी आईएसपीहरूलाई हात बाँधेर प्रतिस्पर्धामा आउनू भन्ने आशयको सरकारी नियम रहेका कारण प्रतिस्पर्धामा पछि परेको बोहराले बताए । सोहीकारण निजी आईएसपीहरूले टेलिकम कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । टेलिकम कम्पनीहरूले भीओआईपी, जीपीआरएसजस्ता प्रविधिबाट इण्टरनेट सेवा प्रदान गर्न सक्ने नियमले आईएसपीले प्रतिस्पर्धा गर्न नसकेका हुन् । त्यस्तै, एडीएसएल र सीडीएमएमबाट प्रदान गर्दै आएको सेवाले घरेलु ग्राहकलाई निजी आईएसपीबाट अलग्याएको उनीहरूको आरोप छ । निजी आईएसपीहरूले प्रदान गर्दै आएको इण्टरनेट सेवा नयाँ पुस्ताका लागि व्यावहारिक हुन नसक्ने बोहराको बुझाइ छ । नयाँ पुस्ताले इण्टरनेटबाट सूचना मात्र नभएर व्यावहारिक प्रयोग गर्ने चाहनासमेत राख्न थालेको छ । व्यावहारिक प्रयोग भीओआईपी (भ्वाइस ओभर इण्टरनेट प्रोटोकल)जस्ता सुविधाबाट मात्र दिन सकिन्छ । तर, नेपालमा निजी आईएसपीहरूलाई भीओआईपी सेवा सञ्चालन गर्ने अनुमति छैन ।
निजी आईएसपीहरूबीच बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धा पनि यस क्षेत्रको मुख्य समस्या बनेको छ । सेवाक्षेत्र सीमित हुँदै जाँदा कतिपय कम्पनीले घाटामा गएर पनि इण्टरनेट सेवा उपलब्ध गराउन थालेका कारण अस्वस्थ प्रतिस्पर्धा सृजना भएको हो । अस्वस्थ प्रतिस्पर्धाले समग्र व्यवसायलाई नै असर पार्न सक्ने तिमल्सिना बताउँछन् । अझै पनि सेवाबारे गुनासो आउने क्रम नरोकिएको तथा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा सेवाको गुणस्तर अझ खस्किने सम्भावना रहेको उनले बताए । यसबाहेक ब्याण्डविथको शेयरिङ (विभाजन)मा पनि समस्या देखिन थालेको छ । छिटो नाफा कमाउने उद्देश्यले कतिपय आईएसपीले क्षमताभन्दा बढी व्यक्तिमा शेयरिङ गर्न थालेका कारण पनि इण्टरनेटको गुणस्तरमा सुधार आउन नसकेको हो ।
नेपालमा आईएसपी
नेपालमा सबैभन्दा पहिले मर्कण्टायल कम्युनिकेशनले आईएसपी सेवा उपलब्ध गराएको हो । मर्कण्टायल कम्युनिकेशन प्रालिका सञ्जीव राजभण्डारीले आईएसपी सेवा सन् १९९५ मा शुरू गरेका हुन् । मर्कण्टायलपछि वल्र्डलिङ्क कम्युनिकेशनले सन् १९९७ बाट इण्टरनेट सेवा शुरू गरेको हो । वल्र्डलिङ्क कम्युनिकेशनका निर्देशक पवन शाक्य मर्कण्टायलपछि आफ्नो कम्पनीले इण्टरनेट सेवा दिन थालेको बताउँछन् ।
४५ लाख नेपालीको पहुँचमा इण्टरनेट
आशुतोष अधिकारी
नेपालमा इण्टरनेटको प्रयोग कहिलेबाट शुरू भयो भन्नेबारे आधिकारिक रूपमा कुनै तथ्याङ्क उपलब्ध छैन । यद्यपि, रोयल नेपाल एकेडेमी फर साइन्स एण्ड टेक्नोलोजी (रोनाष्ट)ले ९० को दशकको प्रारम्भमा सञ्चालनमा ल्याएको ई–मेल सेवालाई नै नेपालमा इण्टरनेट प्रयोगको थालनी मानिँदै आएको छ । तर, आमनेपालीसम्म इण्टरनेटको पहुँच पुर्याउने श्रेय भने निजीक्षेत्रलाई नै जान्छ । सन् १९९४ को जुन महीनाबाट मर्कण्टायल अफिस सिष्टमले शुरू गरेको ई–मेल सेवालाई नेपालमा व्यावसायिक इण्टरनेट सेवाको शुरुआत मानिन्छ । त्यसको १ वर्षपछि यसको भगिनी संस्था मर्कण्टायल कम्युनिकेशनले व्यावसायिक रूपमा इण्टरनेट सेवा शुरू गर्यो । आधिकारिक रूपमा इण्टरनेट सेवा शुरू भएको वर्ष सन् १९९५ मा यसको जम्माजम्मी १ सय ५० जना ग्राहक थिए । अहिलेको अवस्थासम्म आइपुग्दा यो व्यवसायले करीब ४५ लाख नेपालीलाई इण्टरनेटको पहुँचमा पुर्याएको छ ।
दूरसञ्चार ऐन १९९७ अनुसार सन् १९९८ मा नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना भएपछि हालसम्म ४५ निजी कम्पनीले इण्टरनेट र ई–मेल सेवा सञ्चालन गर्ने अनुमति पाएका छन् । निजीक्षेत्रका इण्टरनेट सेवाप्रदायक (आईएसपी)हरूले यो क्षेत्रमा झण्डै ३ अर्ब रुपैयाँ लगानी गरिसकेको इण्टरनेट व्यवसायीहरूको छातासङ्गठन इस्पानका अध्यक्ष विनय बोहराले जानकारी दिए । यी कम्पनीहरूको अनुमानित वार्षिक कारोबार १ देखि डेढ अर्ब रुपैयाँ पुगेको पनि उनी बताउँछन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार गत फागुन महीनाको अन्त्यसम्ममा इण्टरनेट सेवाप्रदायकहरूको कुल ग्राहक सङ्ख्या ४४ लाख ३७ हजार ६ सय ८९ रहेको छ । यो सङ्ख्याको ठूलो हिस्सा दुई प्रमुख मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलको जीपीआरएस प्रणालीमा आधारित इण्टरनेटका ग्राहकले ओगटेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार गत फागुनको अन्त्यसम्ममा आईएसपीहरूको ग्राहक सङ्ख्या मात्र ६३ हजार ४ सय ६० रहेको छ । नेपाल टेलिकम र एनसेललाई छाड्ने हो भने कुल इण्टरनेट प्रयोगकर्ताको १ दशमलव ५ प्रतिशतभन्दा कम मात्र निजीक्षेत्रका आईएसपीहरूका ग्राहक छन् । यसबाहेक लिमिटेड मोबिलिटीको अनुमतिप्राप्त युनाइटेड टेलिकमले सञ्चालन गरेको सीडीएमए एक्सआई प्रणालीमा आधारित इण्टरनेटको ग्राहक सङ्ख्या ७० हजार ५ सय ५२ रहेको छ ।
निजीक्षेत्रका आईएसपीहरूले हाल डायलअप, वायरलेस, अप्टिकल फाइबरका माध्यमबाट र केबल मोडेम तथा केवलका माध्यमबाट आममानिसको घरघरसम्म इण्टरनेट सेवा प्रदान गरिरहेका छन् । नेपाल टेलिकमले जीपीआरएस प्रणालीबाहेक सीडीएमए एक्सआई र एडीएसएल प्रणालीमा आधारित इण्टरनेट सेवा प्रदान गरिरहेको छ । एनसेलले भने जीपीआरएसमा आधारित इण्टरनेट सेवाका लागि मात्र अनुमति पाएको छ । ब्रोडब्याण्ड इण्टरनेटमा अप्टिकल फाइबरबाहेक टेलिकमको एडीएसएल सेवालाई ग्राहकले धेरै रुचाएका छन् । २००८ मा शुरू भएको टेलिकमको एडीएसएल सेवाका हाल ८१ हजारभन्दा बढी ग्राहक रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।