रोजऊड रेष्टुराँ एण्ड बार : रोजऊडमा सुसिरोल र काई एण्ड शाई
राधा चलिसे
प्रत्यक्ष सङ्गीतका साथमा जापानी तथा थाई परिकारमा रमाउन चाहनेहरूका लागि रोजऊड रेष्टुराँ उपयुक्त हुन सक्छ । ललितपुरको झम्सिखेलमा ३ महीनाअघि खुलेको यो रेष्टुराँको विशेष परिकारमा जापानी सुसिरोल र थाइल्याण्डको काई एण्ड शाई पर्छ । रेष्टुराँका यी परिकारले धेरै ग्राहकबाट प्रशंसा पाउँदै आएको सेफ विक्रम थापा बताउँछन् । यी परिकार बनाउन राम्रै शीप आवश्यक पर्ने उनको भनाइ छ । काई एण्ड शाई बनाउँदा क्युब साइजका चिकेनलाई नून, मरिचको धूलो, लेमन ग्रास, थाई अदुवा, मैदा, मकैको पिठोसँग मिश्रण गरेर तेलमा फ्राई गरिन्छ । खैरो रङको भएपछि तेलबाट झिकेर त्यसमा थाई रेड करी, कोकोनट मिल्क हाली करीब ५ मिनेटसम्म पुनः पकाइन्छ । यसरी पाकेको चिकेनलाई प्यानकेकमा हालेर मःमःको जस्तै पोको बनाइन्छ । त्यसलाई विभिन्न कलात्मक रूप दिएर विभिन्न जडीबुटीजन्य सागपातले सजाएर सर्भ गरिन्छ ।
त्यसैगरी, यहाँको अर्को रुचाइएको परिकार जापानी सुसिरोल हो । यो परिकार बनाउन ताइचुन (मोटो) चामललाई १० देखि १५ मिनेट उमालिन्छ । त्यसमा जापानी भेनेगर मिसाइन्छ । साथै सिफूड, प्राउन, पोलेको चिकेन, मुला, सुकेको च्याउ र अग्र्यानिक तरकारी तथा फलफूल पनि मिश्रण गरिन्छ । यसरी मिश्रित परिकारलाई न्यूरी पेपर (लेउबाट बनेको कागज)मा राखेर बेम्बो म्याटको सहयोगले बेरिन्छ र वासावी पिकल्स, किकोमिन सोया सससँग सर्भ गरिन्छ ।
रेष्टुराँले फरक स्वादका खानामात्र होइन सिग्नेचर ड्रिङ्क्स पनि उपलब्ध गराउँदै आएको छ । यहाँका सिग्नेचर ड्रिङ्क्समा ‘पर्फेक्ट लभ’ र ‘लभ प्वाइजन’ले धेरैको मन जितेको बार टेण्डर सागर अधिकारी बताउँछन् । पर्फेक्ट लभ भोड्का वा जिनमा अरेञ्ज जुस र ग्रिनाडाइन सिपर तथा फ्रेस क्रिम हालेर तयार गरिन्छ । त्यसैगरी, लभ प्वाइजनमा भोड्का, पिच स्नाप, अरेञ्ज जुस र ब्लू कारासावाको मिश्रण रहेको हुन्छ ।
रोजऊड रेष्टुराँ परिकारले मात्र होइन आन्तरिक तथा बाह्य वातावरणले पनि धेरै ग्राहकको मन जित्न सफल भएको छ । दुईतले भवनमा सञ्चालित यो रेष्टुराँको भित्रीभागमा आरामदायी फर्निचरसहितको भीआईपी लाउञ्ज रहेको छ । यो लाउञ्ज १० देखि १५ जनासम्म बसेर मिटिङ गर्दै खानका लागि उपयुक्त छ । त्यसैगरी पारिवारिक तथा सामूहिक जमघटका लागि छुट्टाछुट्टै लाउञ्जको व्यवस्था छ । रेष्टुराँको बाहिरी भागमा रहेको बारमा प्राकृतिक वातारणमा रमाउँदै पिउन र खान सकिन्छ । बिहान ७ बजेदेखि खुल्ने यो रेष्टुरामाँ ब्रेकफाष्ट तथा विभिन्न किमिमका कफी उपलब्ध छन् । यसले विभिन्न साइज तथा तौलमा अर्डरअनुसारको केक पनि बनाउँछ । रेष्टुराँमा एकैपटकमा १ सय १० जनासम्म अटाउन सक्ने क्षमता छ ।