लार्चा ड्राइपोर्ट बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

जेठ ४, काठमाडौं । नेपाल र चीनबीच व्यापारको दृष्टिले निकै महत्वपूर्ण मानिएको लार्चा ड्राइपोर्ट चिनियाँ कम्पनीले बनाउने भएको छ । सिमानाबाट नेपालतर्फ करीब ८ किलोमिटरको दूरीमा रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसमा पर्ने लार्चामा उक्त ड्राइपोर्ट बन्न लागेको हो । चीनको बेइजिङ रियल इस्टेट ग्रूप कम्पनी लिमिटेडले उक्त ड्राइपोर्ट बनाउनेछ । बिहीवार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकार र उक्त कम्पनीबीच ड्राइपोर्ट बनाउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इण्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणा र चिनियाँ कम्पनीका तर्फबाट डेपुटी प्रोजेक्ट लिडर कि वेईले उक्त ड्राइपोर्ट निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । चीन सरकारले नै ड्राइपोर्ट निर्माणका लागि उक्त कम्पनीलाई छनोट गरेको हो । कम्पनीले आगामी २६ महीनामा ड्राइपोर्टको सम्पूर्ण निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ । लार्चा ड्राइपोर्ट चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । ड्राइपोर्ट निर्माणमा करीब रू. ११ करोड ८१ लाख खर्च हुने अनुमान गरिएको छ । उक्त ड्राइपोर्टको क्षेत्रफल ४ दशमलव २ हेक्टर हुने नेपाल इण्टरमोडल यातायात विकास समितिले बताएको छ । यसका लागि सरकारले आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ ।
उक्त ड्राइपोर्टमा १ सय ५८ ओटा ठूला कण्टेनर र २३ ओटा कार पार्किङ गर्न मिल्ने बोर्डर इन्फेक्शन बिल्डिङ निर्माण गरिनेछ । जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदामजस्ता व्यापार सहजीकरणसम्बन्धी निकाय एकै ठाउँमा हुने राणाले बताए । ‘सिङ्गल विण्डो सिष्टमबाट काम गर्ने गरी ड्राइपोर्ट निर्माण गर्न लागेका छौं,’ उनले भने । यसबाट व्यापार खर्च र समयसमेत बचत हुने हुँदा नेपालको व्यापार प्रतिस्पर्धी बन्ने राणाको भनाइ छ ।
ड्राइपोर्ट निर्माणको क्रममा नेपाल र चीन सिमानामा पर्ने लिपिङदेखि ड्राइपोर्टसम्मको साढे ६ किलोमिटर सडकको समेत स्तरोन्नति गरिनेछ । त्यस्तै, भोटेकोशी नदीमा १ सय १२ मिटर लम्बाइ भएको नयाँ पक्की पुलसमेत निर्माण गरिने राणाले जानकारी दिए । ड्राइपोर्ट नेपाल र चीन व्यापारका लागि निकै महत्वपूर्ण भएको र यसले दुई देशबीचको व्यापारमा उल्लेख्य प्रगति ल्याउने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । ड्राइपोर्ट निर्माणका लागि आवश्यक सामग्री र केही प्राविधिकबाहेक जनशक्तिसमेत उपलब्ध भएसम्म नेपालकै प्रयोग गर्ने उक्त कम्पनीले बताएको छ ।