शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: May 12, 2012
  

गाडी खरीदमा सजगता



पछिल्लो केही वर्ष नेपालमा मोटरसाइकल, कारदेखि ठूला गाडीसम्मको विक्रीमा उल्लेख्य वृद्धि भएको छ । नेपालमा निजी सवारी शोख र आवश्यकता दुवै बन्दै गइरहेको छ । बढ्दो आम्दानी तथा सुलभ फाइनान्सिङको सुविधाका कारण मध्यम वर्ग पनि निजी सवारीतर्फ आकर्षित भइरहेको छ । तर, गाडी दीर्घकालीन लगानी हो । लाखौं रुपैयाँ पर्ने सवारी किन्दा त्यसको रुपरङ र साजसज्जा मात्र होइन, त्यसमा भएका सुविधा, मूल्य र अन्य प्राविधिक कुरामा पनि पर्याप्त ध्यान पुर्‍याउनु जरुरी छ । बजारमा दर्जनौं कम्पनीका सयौं मोडलमा गाडी पाइन्छन् । सोही कारण उपभोक्ताका लागि पर्याप्त विकल्प उपलब्ध छन् । अर्थान्तरको यो अङ्कमा हामीले नयाँ गाडी किन्दा ध्यान पुर्‍याउनुपर्ने केही मुख्य कुराका बारेमा चर्चा गरेका छौं ।

मूल्य
नयाँ कार छनोटमा मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो क्रयशक्ति कतिसम्म हो, अर्थात् गाडीका लागि कतिसम्म तिर्न सकिन्छ भन्ने निक्र्यौल गरिसकेपछि मात्र गाडी छनोट गर्नुपर्छ । बजारमा धेरै प्रकारका गाडी पाइने भएकाले मूल्यमा पनि उच्च प्रतिस्पर्धा हुने गरेको छ । त्यसकारण तपाईंले धेरैओटा शोरूमको भ्रमण गरी मूल्य बुझेर मात्र सवारी किन्नु उपयुक्त हुन्छ । गाडीको मूल्यलाई त्यसको उत्पादन मिति, डिजाइन, सुविधा र लोकप्रियताले पनि प्रभाव पार्छ । कुनै पनि गाडीको लामो समयसम्म एउटै मूल्य कायम हुँदैन । बजारमा नयाँ ब्राण्ड वा मोडलको गाडी आउनासाथ पुरानो मोडेलको मूल्यमा कमी देखिन थाल्छ ।

माइलेज
गाडी किन्दा प्रत्यक्ष असर पार्ने तत्वमध्ये त्यसले दिने माइलेज (इन्धन खपत दर) पनि एक हो । बढी माइलेज दिने गाडी दीर्घकालमा किफायती हुन्छ । बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । त्यसैले कम इन्धनले धेरै गुड्न सक्ने कार छनोट गर्नुपर्छ । गाडी बजारमा कति लोकप्रिय छ भन्ने कुराको निर्धारण त्यसले दिने माइलेजमा पनि भर पर्छ ।

फाइनान्सको सुविधा
एकैपल्ट ठूलो रकम तिर्न नसक्ने ग्राहकहरूले किस्ताबन्दीमा तिर्ने सुविधा भएको स्थानबाट कार किन्नुपर्छ । साथै, सस्तो र सजिलै फाइनान्स सुविधा उपलब्ध गराउन सक्ने कम्पनीको गाडी किन्नुपर्छ । नेपालमा किस्ताबन्दीमा गाडी किन्ने र त्यसका लागि फाइनान्स सुविधा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । कम्पनीहरूका अनुसार नेपालमा करीब पाँच प्रतिशत ग्राहकले मात्र पूरा पैसा तिरेर गाडी किन्छन् । फाइनान्सको सुविधा उपयोग गर्ने हो भने ब्याजदर तथा मासिक किस्ता रकमबारे स्पष्ट हुनुपर्छ, नत्र किस्ता तिर्न नसकेर समस्यामा परिन्छ ।

बीमा
मोटर बीमा नेपालमा कानुनीरूपमै अनिवार्य गरिएको छ । बीमाले लगानी सुरक्षित गर्ने मात्र होइन दुर्घटना भइहालेमा पनि राहत दिलाउँछ । बढ्दो सडक असुरक्षा र बीमामा आएका नयाँ नयाँ प्रावधान र सुविधाका कारण पनि नयाँ गाडी किन्दा बीमा अनिवार्य जस्तै बनेको हो । नेपालमा बीमाका बारेमा पर्याप्त जानकारी नभएको अवस्था छ । बीमा गरिएको गाडीलाई सजिलै अटोलोन प्राप्त हुने सम्भावना हुन्छ । साथै बीमाका कारण पुनः विक्रीमा पनि सहज हुन्छ । सोही कारण जुन गाडीको कम्पनीले बीमाका विविध व्यवस्थामा ग्राहकलाई सुविधा र सहजता उपलब्ध गराउँछ उसकै गाडी किन्नु ठीक हुन्छ ।

ग्राउण्ड क्लियरेन्स
नेपाली सडकको अधिकांश भाग सवारीमैत्री छैन । धेरै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ । जतिसुकै बढी मूल्यको गाडीले पनि राम्रो र सुविधायुक्त बाटोको अभावमा वास्तविक क्षमता प्रदर्शन गर्न सक्दैन । ‘ग्राउण्ड क्लियरेन्स’ बढी भएको अर्थात् चक्काको बेसदेखि एक्सलसम्मको उचाइ बढी भएको गाडी नेपाली बाटोमा उपयोगी मानिन्छ । यस्ता गाडी लामो तथा कच्ची बाटोका लागि पनि उपयुक्त हुन्छन् । गाडीलाई उसको क्षमताअनुसार तथा राम्रो माइलेजमा धेरै समयसम्म कुदाउन ग्राउण्ड क्लियरेन्सको पनि भूमिका हुन्छ । नेपालको बाटोमा सुरक्षित र आरामदायी यात्राका लागि १ सय ६० मिलिमिटरसम्मको ग्राउण्ड क्लियरेन्स हुनु उपयुक्त मानिन्छ ।

पार्टपुर्जाको सर्वसुलभता

गाडी संवेदनशील साधन हो । जुनसुकै बेला, जहाँ पनि बिग्रिने र मर्मत गर्नुपर्ने हुनसक्छ । सोही कारण नयाँ गाडी किन्ने बेला पार्टपुर्जाको सर्वसुलभतामा पनि ध्यान दिनु आवश्यक छ । सस्तो मूल्यमा सर्वसुलभ हुने पार्टपुर्जाले गाडी किन्दा लाग्ने समग्र लागतमा कमी ल्याइदिन्छ । विशेष गरी गाडीको बाहिरी अङ्गहरू ऐना, हेडलाइटसँगै इञ्जिनका पार्टहरू पनि सहज उपलब्ध हुने कम्पनीका गाडी धेरै उपभोक्ताको रोजाइमा पर्ने विक्रेताहरू बताउँछन् ।

सर्भिस डेलिभरी
कम्पनीहरूले आफ्नो गाडी चढ्ने ग्राहकलाई सुविधा प्रदान गर्न होम सर्भिसको व्यवस्था गरेका हुन्छन् । त्यस्ता कम्पनीका ग्राहक पनि बढी हुन्छन् । ग्राहकका लागि यो पनि महत्वपूर्ण पक्ष हो । कम्पनीले घरसम्म आएर गरिदिएको सेवाको प्रभावले ग्राहकका नजरमा कम्पनी सधैं लोकप्रिय हुन सक्छ । बिग्रिएका बेला गाडी रहेकै स्थानमा बनाइदिने, कम शुल्कमा राम्रो सेवा दिन सक्ने कम्पनीको गाडी छनोट गर्नु बुद्धिमानी हुन्छ ।

स्रोतः डब्ल्यूडब्ल्यूडब्ल्यू डट इजीकार्स डट कम डट एनपी