शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Mar 26, 2012
  

सूचनाप्रविधि : सूचनाप्रविधिमा ५ अमेरिकी कम्पनी


सञ्जीव शर्मा

सूचनाप्रविधि (आईटी) उद्योगमा अमेरिकी कम्पनीहरू सधैं ‘पायोनियर’का रूपमा रहँदै आएका छन् । विश्वमा त्यस्तो कुनै आईटी बजार छैन, जहाँ अमेरिकी कम्पनीहरूका उत्पादन नभेटिउन् । पछिल्लो दशकमा अन्य मुलुकमा थुप्रै कम्पनीको उदय भए पनि उनीहरू एक या अर्को प्रकारले अमेरिकी उत्पे्ररणाबाट अछुतो रहेका छैनन् । प्रस्तुत छ, विश्वकै आईटी क्षेत्रलाई नयाँ आयाम दिने ५ प्रमुख अमेरिकी कम्पनी र उनीहरूले बजारमा वर्चस्व कायम गर्नुको कारणबारे सङ्क्षिप्त जानकारी :

एप्पल इङ्क
विश्वकै मूल्यवान् कम्पनीका रूपमा घोषित एप्पल इङ्कको मुख्यालय क्यालिफोर्निया राज्यको कुपर्टिनोमा रहेको छ । यसको स्थापना हालसालै निधन भएका पूर्वअध्यक्ष तथा कार्यकारी प्रमुख स्टीभ जब्सले आफ्ना साथीहरू स्टीभ वज्नियाक र रोनाल्ड वेनसँगको सहकार्यमा गरेका थिए । सन् १९९० को दशकको अन्त्यसम्म म्याकिन्तोश कम्प्युटर बनाउने एप्पल इङ्कले सन् २००१ मा पोर्टेबल एमपीथ्री प्लेयर ‘आईप्याड’ बजारमा ल्याएपछि सफलताको नयाँ सिँढी उक्लन थाल्यो । त्यसैगरी सन् २००७ मा स्मार्टफोन बजारमा कब्जा जमाउने उद्देश्यले कम्पनीले ल्याएको ‘आईफोन’ले सफलताका नयाँ कीर्तिमान बनाइरहेको छ । सबैभन्दा लोकप्रिय ग्याजेटका रूपमा उदाएको आईफोन अहिलेसम्मकै सबैभन्दा सृजनात्मक उत्पादन भएको विश्लेषकहरू बताउने गर्छन् । त्यसैगरी सन् २०१० यता एप्पलले बजारमा ल्याइरहेको ट्याब्लेट पीसी शृङ्खला ‘आईप्याड’ले पनि निकै सनसनी मच्चाइरहेको छ । सन् २०११ अक्टोबरमा स्टीभ जब्सको निधनलगत्तै टीम कुकले कार्यकारी प्रमुख पद सम्हालेपछि एप्पल इङ्कको कुल आम्दानी १ खर्ब ८ अर्ब डलर पुगेको छ । यसका साथै कम्पनीको ‘मार्केट क्यापिटलाइजेशन’ ५ खर्ब डलर पुगेको छ ।

आईबीएम कर्पोरेशन
‘बिग ब्लू’ पनि भनिने आईबीएमको स्थापना सन् १९११ मा टेबुलेटिङ मेशिन कम्पनी, इण्टरनेशनल टाइम रिकर्डिङ कम्पनी र कम्युटिङ स्केल कर्पोरेशनजस्ता त्यस समयमा धराशयी हुन लागेका कम्पनीहरूको मर्जरबाट भएको थियो । शुरूमा यसको नाम ‘कम्युटिङ टेबुलेटिङ रेकर्डिङ कम्पनी’ राखिए पनि सन् १९२४ मा ‘इण्टरनेशनल बिजनेश मेशिन्स कर्पोरेशन’मा परिवर्तन गरिएको थियो । सन् २०११ म आफ्नो शतवार्षिकी मनाएको आईबीएमले उक्त वर्ष १५ अर्ब ९० करोड डलरको कीर्तिमानी नाफा कमाएको थियो ।

कम्युटर हार्डवेयर, सफ्टवेयर निर्माणका साथै यो कम्पनीले ‘क्लाउड कम्प्युटिङ’ र आईटीसम्बन्धी परामर्श सेवा पनि प्रदान गर्दछ । पछिल्ला केही वर्षयता आईबीएमले अमेरिका र यूरोपभन्दा उदीयमान अर्थतन्त्रहरूमा आफ्नो व्यापार केन्द्रित गरिरहेको देखिन्छ । केही वर्षयता आईबीएम कम्प्युटर प्रविधिबाटै ट्राफिक समस्याको समाधान र सफा पानी व्यवस्थापनमा पनि सक्रिय छ । यसको मुख्यालय न्यूयोर्कको आर्मोङ्कमा रहेको छ ।

गूगल इङ्कर्पोरेटेड
सन् १९९८ मा स्टानफोर्ड युनिभर्सिटीका दुई विद्यार्थी ल्यारी पेज र सर्गेई ब्रिनले व्यापारी एरिक स्मिड्टसँग मिलेर स्थापना गरेको गूगल विश्वको सबैभन्दा ठूलो इण्टरनेट सर्च इञ्जिन बनेको छ । सन् २००४ मा आईपीओ जारी गर्दै सार्वजनिक कम्पनी बनेको गूगल इङ्कले अहिले विश्व इण्टरनेट बजारमा एकछत्र वर्चस्व कायम गरेको छ भन्दा फरक पर्दैन । वेब सर्च इञ्जिन तथा ई–मेलका रूपमा शुरू भएको गूगलले अहिले भने आईटीका विभिन्न क्षेत्रमा पनि उत्तिकै सफलता प्राप्त गरिरहेको छ । कम्पनीले भिडियो शेयरिङका लागि सबैभन्दा बढी प्रयोग गरिने ‘यूट्युब’ र पछिल्लो समयमा निकै लोकप्रिय हुँदै गएको सामाजिक सञ्जाल ‘गूगल प्लस’ पनि सञ्चालन गरिरहेको छ । त्यसैगरी सन् २००७ मा कम्पनीले ल्याएको ‘एण्ड्रोइड अपरेटिङ सिष्टम’ स्मार्टफोन तथा ट्याब्लेटमा सर्वाधिक प्रयोग गरिने ओएस भएको छ । एक अध्ययनअनुसार अहिले विश्वभरिका स्मार्टफोनहरूमा दैनिक ७ लाखको सङ्ख्यामा एण्ड्रोइड ओएस एक्टिभेट गरिन्छ । त्यससँगै गूगल इङ्कले सन् २०१२ फेब्रुअरीमा साढे १२ अर्ब डलरमा ‘मोटोरोला मोबिलिटी’ किन्दै स्मार्टफोन उत्पादनमा पनि हात हालेको छ । सन् २०११ मा कम्पनीले ३७ अर्ब ९० करोड डलर आम्दानी गरेको थियो ।

माइक्रोसफ्ट कर्पोरेशन
वाशिङटन राज्यस्थित रेडमण्ड शहरमा केन्द्रीय कार्यालय रहेको माइक्रोसफ्ट कर्पोरेशनलाई विश्व सूचनाप्रविधि क्षेत्र नै परिवर्तन गरिदिएकोमा प्रशंसा गरिन्छ । सन् १९७५ मा स्थापित यो कम्पनीले विण्डोज अपरेटिङ सिष्टम (ओएस) ल्याएपछि प्रयोगकर्ताहरूले कम्प्युटिङको नयाँ अनुभूति गर्न पाएका हुन् । अघिल्ला ओएसहरूमा जस्तो सुस्त र आकर्षणहीन बनोट नभई विण्डोज ओएस निकै अपीलयुक्त सफ्टवेयर मानिन्छ । त्यसका साथै व्यक्तिगत र व्यावसायिक दुवै कार्यका लागि प्रयोगकर्ताहरूले यसमा धेरै छनोट पनि पाउने गर्दछन्, जुन अन्य ओएसमा पाउन सकिन्न । एक अध्ययनअनुसार विश्वका ९० प्रतिशत पर्सनल कम्प्युटरहरू विण्डोजका कुनै न कुनै संस्करणमै चल्ने गर्छन् । स्थापनापछिको लामो समयसम्म यसको नेतृत्व रहेका संस्थापक बिल गेट्स माइक्रोसफ्टले आगामी धेरै वर्षसम्म अपरेटिङ सिष्टम बजारमा वर्चस्व कायमै राख्ने बताउँछन् । सन् २००५ देखि बजारमा ल्याइएको उत्पादन ‘एक्स बक्स’ गेम कन्सोल एक लोकप्रिय मल्टिमिडिया डिभाइसका रूपमा स्थापित भएको छ । तर, पीसी ओएसमा एकछत्र वर्चस्व कायम गरेको माइक्रोसफ्ट मोबाइल अपरेटिङ सिष्टममा भने प्रतिस्पर्धीहरूभन्दा पछाडि नै देखिन्छ । गतवर्ष मात्रै कम्पनीले ल्याएको विण्डोज फोन ओएसले कत्तिको सफलता पाउँछ, त्यो भने हेर्न बाँकी नै छ । फोब्र्स पत्रिकाका अनुसार माइक्रोसफ्ट कर्पोरेशनमा काम गर्ने कर्मचारीमध्ये अहिलेसम्म ३ जना अर्बपति र १२ हजार जना धनाढ्य (मिलियनेयर) भइसकेका छन् । सन् २०११ मा कम्पनी ६४ अर्ब ९४ करोड डलर आम्दानी गर्न सफल भएको थियो ।

अमेजन डट कम इङ्क
ई–कमर्श र अनलाइन शपिङको शुरुआत गर्ने अमेजन डट कम इङ्क विश्वकै सबैभन्दा ठूलो अनलाइन रिटेलर हो । विश्वभरि नै अनलाइन शपिङ सञ्जाल भएको यो कम्पनीको स्थापना जेफ बेजोसले सन् १९९४ मा वेब पुस्तक स्टोरका रूपमा गरेका थिए । अहिले अमेजनले सबैजसो घरायसी सामग्री विक्री गर्दछ । त्यसैगरी सन् २०११ मा कम्पनीले ‘किण्डल फायर ट्याब’ ल्याएर ट्याब्लेट पीसी बजारमा पनि प्रवेश गरेको छ । कम्पनीका अनुसार ५ महीनाभित्र अमेरिकामा मात्रै ६० लाख किण्डल फायर विक्री भइसकेका छन् । गतवर्ष कम्पनीको कुल आम्दानी ४८ अर्ब डलर रहेको थियो । अमेजन डट कम इङ्कको मुख्यालय वाशिङटन राज्यको सियाटल शहरमा रहेको छ ।