तीतोमीठो
भ्यालेण्टाइनलाई आधुनिक प्रेमपत्र 
मदन लम्साल
केही वर्षयता हाम्रो नेपालमा पनि भेण्टालिने डे हो कि भ्यालेण्टाइन के दिवस भनेर १४ फबे्रुअरीको दिनलाई धुमधामसँग मनाउन थालिएको कुरा पत्रपत्रिकामा र स्कूलकलेजतिर देख्न सकिन्छ । बरू नयाँ वर्ष, दशै, तिहार, आमाबुबा ख्वाउने औंशी आदि नेपाली चाडको हेक्का नेपालीलाई हुन छोडेको छ । तर, अङ्गे्रजी न्यू इयर, क्रिसमस, भ्यालेण्टाइन डेहरुको चमकधमक धेरै बढ्दै गएको छ । आखिर विकास भनेको यही त हो । त्यसैले यसपालिको भ्यालेण्टाइन डेमा डेटिङ अर्थात् नेपालीमा भन्दा प्रेमिकासँग भेटिङमा जान मन लागेको थियो ।
फोन गरे लागेन । एकपछि अर्को प्रेमिकालाई एसएमएस गरे तर कसैबाट पनि जवाफ आएन । इमेल गर्न बिजुली थिएन । त्यसैले एकएक गर्दै तलका यी प्रेमिकालाई गुलाफको फूल सहित प्रेम पत्र पठाएँ । तर, अहिलेसम्म कसैले जवाफ पठाएका छैनन् । तैपनि पढिहाल्छन् कि भनेर ती प्रेम पत्र यहाँ प्रकाशित गरेको छु ।
प्यारी पानी,
पोहोर असार, साउनमा आकाशबाट अलिअलि झरेको देखेको र काठमाडौं बाहिर जाँदा नदीहरुमा टाढै बाट दर्शन गरेको बाहेक वषौ भइसक्यो तिमीलाई राम्रोसँग छुन र अँगाल्न पाएको छैन । ‘पानी, तिमी किन यति बेइमानी’ मैले बुझ्न सकेको छैन । नचाहिएका बेला अरुलाई निथु्रक्कै पार्न खप्पिस तिमी हाम्रा घरमा भने कहिल्यै आउँदिनौ । आफ्नो साटो धारामा हावा पो पठाउँछ्यौ । खानेपानीका तिम्रा काका र बाउहरु तथा कतिपय स्थानीय हरूवाचरूवाको बदमासीका कारण पनि तिमी आउने बाटोहरुमा तिमी ठोक्किदै चुहिदै आउनु पर्ने हुनाले म सम्म नआइ पुगेको खबर आएको छ ।
धन्न निजीक्षेत्रका केही व्यवसायीले तिमीलाई जार र प्लाष्टिकको बोतलभित्र राखेर तिम्रो प्रतिरुपसम्म भुल्न दिएका छैनन् । नत्र तिमीविना म उहिल्यै ठहरै भइसक्थे । मेलम्चीबाटै तिमी आउने कुरा एक दशक अघिदेखि सुने पनि अहिले सम्म आएकी छैनौं । तर, तिमीलाई पूर्ण रुपमा पाउने मेरो प्रयास र आशा अझै मरेको छैन, बरू तिम्रो नियास्रोले यो भ्यालेण्टाइन डेमा यो पत्र नलेखी बस्नै नसक्ने भएको छु ।
उही तिम्रो काकाकुल प्रेमि, काठमाडौं ।
प्यारी पेट्रोल,
के हो ? हिजो आज त तिम्रो दर्शन पाउन पनि मुश्किल भो । किन यति भाउ खोजेकी ? तिम्रो भाउको त के कुरा गर्नु ? आकाश छुन मात्र बाँकी छ । किन यति निष्ठुरी हुँदै गएकी ? तिमीलाई भेटन् काहाँ काहाँ धाइएन ? प्रहरी, सेनादेखि, मन्त्रालय, विभाग कहाँ नमस्कार टक्र्याइएन तर खै तिमीलाई त पाइएन, पाइएन । तिम्री दिदी, बहिनी ग्यास, डिजेल, मट्टीतेल कसैलाई पनि देख्नसम्म साइत जुरेन । तिमीविना न त घरमा चूलो बल्ने भो, न त अफिस जाने मेसो भो । उसै त बुहारी... के जाति भनेजस्तै यसै पनि दिनमा आठ घण्टा मात्र झुल्किने बिजुली मैया पनि तिमी नभएकै मौका पारेर झन् अफिस टाइममा दिउँसै ऊ पनि छुट्टीमा जानथाली ।
मलाई राम्रोसँग थाहा छ । तिमी टाढाबाट आउनुपर्छ । तिमी आफै आउन पनि सक्तिनौ । तिमीलाई मसम्म ल्याइदिने जिम्मा लिएका दलाल, कमिशनखोर हरुले तिमीलाई सजिलै यहाँ ल्याइदिँदैनन् । त्यो मैले रामै्र सँग बुझेको छु । तिमीलाई मसम्म ल्याइदिने बहानामा यहाँ महल ठड्याउने नेता, कर्मचारी, व्यापारी, कमिशनवाजहरु तिमीलाई अनेक तरीकाले लुकाएर, चोरेर, घोचेर, मिसाएर, बिगारेर मकहाँ आइपुग्नबाट विलम्ब र अवरोध गरिरहेको कुरा पनि बुझेको छु । तर, म निरीह भएर चुपचाप बसिरहेको छु । तिमीलाई ल्याउन मैले दिने गरेको कर, भ्याट, नाफा, सबै दिँदा पनि तिमीलाई उपलब्ध नगराइदिँदा म कति रात भोकै सुत्न बाध्य भएको छु । कति दिन काम नगरी बसेको छु । कि त मैले तिमीलाई पाउनै सक्तिनँ भन्ने भएको भए तिम्रो आशै गर्न छाडिदिन्थेँ वा विकल्प खोज्थेँ होला । तर, अब त म तिम्रो ‘एडिक्ट’ प्रेमि भइसकेको छु ।
तिमी छिट्टै आऊ, नत्र त म भोकहडताल शुरु गर्न बाध्य हुनेछु । अथवा एक प्यारालाइसिस भएको पागल प्रेमि जस्तो बनेर मृत्यु कुनु सिवाय म सँग अरु विकल्प तत्काल देखिरहेको छैन । तिम्रो जो मर्जी ।
उही तिम्रो पागल पे्रमी, मेशिन
प्यारी बिजुली रानी,
कहिलेकाहीँ मात्र झुल्किने सधै बेखबर रहने कस्तो तिम्रो बानी, ए मेरी बिजुली रानी । कसैले तीसौ वर्षदेखि तिमी जताततै छ्यौ, नदीमा छ्यौ, तलाउमा छ्यौ भनेर भन्छन् । तर, यदाकदा झुल्किएर दर्शन दिन्छ्यौ अनि हराइहाल्छ्यौ । तिमीविनाको जीवन अधुरो, अपुरो र अँध्यारो भएको छ । तिमीविना केही गर्न जाँगर चल्दैन । कंसले आफ्नै भाञ्जाको जन्म नहोस् भनेर रोक्न खोजेजस्तै तिमी जन्मन लागेको थाहा पाएर आधुनिक कंसहरुले तिम्रो जन्म रोकिरहेका छन् कि तिम्रो नाम बेचेर खाने धन्दा गर्नेहरु पनि कति छन् कति । घुम्ने मेच माथि धेरै अन्धा बसेकाले शायद यस्तो अवस्था आएको होला ।
के भनु र खै अब त परिस्थिति यस्तो भइसक्यो कि यता तिम्रो अनुपस्थितिमा नेपाली बाआमाहरुले थुपै्र भाइबहिनी जन्माउन थाल्नु भएको छ, जो विदेशमा भाँडा माझ्न वा कुल्ली काम गर्न जान बाध्य छन् । किनकी तिनलाई खुवाउने , पियाउने , पढाउने ,सामर्थ्य हाम्रा बाआमासँग अब रहेन । आउन त थुपै्र जोगीहरु मञ्चमा आए र तिमीलाई म कहाँ ल्याइदिने कुरा गरे । तर, ती सबै जोगी कान चिरेका पो परेछन् । अब के गर्ने खै ? तर जेसुकै होस तिमीविनाको जीवनको कल्पना गर्न म सक्तिनँ । भारतबाट आऊ कि चीनबाट, कर्णालीबाट आऊ कि त्रिशूलीबाट । तर, जसरी पनि आऊ । सबै बाँध र बाधा भत्काएर आऊ । सबै बाँदरहरु लखेटेर भए पनि आऊ ।
उज्यालोको प्रतीक्षामा उही तिम्रो अन्धो प्रेमि ।
हेलो सरकार उर्फ नयाँ राजाज्यू,
मेरा यी प्रेमिकामध्ये सबै वा कुनै पनि एउटीलाई कतै भेटिबक्स्यो भने फकाएर, फुल्याएर जसरी भए पनि मकहाँ पठाई दिइबक्सेमा जीवनभर अनुगृहित हुने थिएँ ।
गणतान्त्रिक नेपालको तपार्इंको एक मामुली प्रजा