कम्पनी विश्लेषण : टुरिजम् डेभलपमेण्ट बैङ्क लिमिटेड

बैङ्किङ, पर्यटन, कानून व्यवसायी, व्यवसायी, प्राध्यापकलगायत अन्य विभिन्न क्षेत्रका लगानीकर्ताको संलग्नतामा टुरिजम् डेभलपमेण्ट बैङ्कको स्थापना भएको हो । कृषि, व्यापार, उद्योग तथा अन्य क्षेत्रमा वित्तीय सेवा प्रदान गरी ती क्षेत्रमा उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने लक्ष्य बैङ्कले लिएको छ । शुरूमा रू. ४० करोड चुक्ता पूँजीका साथ स्थापना भएको यो बैङ्कले यही जेठ ७ गतेदेखि अङ्कित मूल्य सय रुपैयाँका दरले २४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्दैछ । नेपालको पूँजी बजारमा पछिल्लो समयमा साधारण शेयर निष्काशन गर्ने क्रम बढ्दैछ ।
देशको राजनीतिक अवस्थाले दोस्रो बजारमा धेरै उत्तारचढाव आइरहेको छ भने प्राथमिक शेयर निष्काशनमा आवेदन दिनेको सङ्ख्या वृद्धि भएको देखिन्छ । दोस्रो बजारको तुलनामा प्राथमिक बजारमा लगानी गर्दा जोखिम कम हुने र प्रतिफल पनि राम्रो हुने भएकाले हाल लगानीकर्ता प्राथमिक बजारतिर बढी आकर्षित भएको देखिन्छ ।
रू. ४० करोड चुक्ता पूँजीमार्फत वित्तीय कारोबार सञ्चालन गरेको यो बैङ्कले साधारण शेयर निष्काशनपछि रू. ६४ करोड चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ । त्यसपछि आर्थिक वर्ष २०७०/७१ सम्म बैङ्कको पूँजी संरचनामा कुनै परिवर्तन हुने सङ्केत देखिँदैन । यसको अर्थ यो अवधिमा कम्पनीले नगद लाभांशमात्र वितरण गर्ने सम्भावना देखिन्छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैङ्कको खुद मुनाफा रू. २ करोड २७ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. २ करोड ४८ लाख पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैङ्कको खुद मुनाफा ९ दशमलव ६३ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैङ्कको जगेडा कोष १ सय २१ दशमलव ४२ प्रतिशतले बढेर रू. ७ करोड ६५ लाख पुगेको छ । सोही अवधिमा निक्षेप सङ्कलन ४९ दशमलव ०७ प्रतिशतले बढेर रू. १ अर्ब ५३ करोड पुगेको छ भने लगानी १४ दशमलव ७० प्रतिशतले घटेर रू. ८ करोडमा झरेको बैङ्कद्वारा प्रकाशित विवरणमा उल्लेख छ ।
अघिल्लो आवको तुलनामा चालू आवमा बैङ्कले लगानी कटौती गरेकाले आगामी दिनमा मुनाफा दरमा नकारात्मक प्रभाव पर्ने सम्भावना देखिन्छ । १ वर्षको अवधिमा बैङ्कले ऋण प्रवाह ६० दशमलव १२ प्रतिशतले वृद्धि गरी रू. १ अर्ब ५१ करोड पुर्याएको छ । सोही अवधिमा बैङ्कले खुद ब्याज आम्दानी ४१ दशमलव ७६ प्रतिशत र सञ्चालन मुनाफा ५ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ ।
शम्भु काफ्ले
(ज्याम् टेक्नोलोजिज प्रालि)