शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

इण्टरनेशनल डेभलपमेण्ट बैङ्कको निक्षेप वृद्धि ३५ प्रतिशत
भदौ २५, काठमाडौं (अस)। आर्थिक वर्ष०६७/६८ को अन्त्यमा इण्टरनेशनल डेभलपमेण्ट बैङ्कको निक्षेप रू. ३ अर्ब ७६ करोड नाघेको छ । अघिल्लो आवको तुलनामा यो करीब ३५ प्रतिशतले वृद्धि हो । आव ०६६/६७ को अन्त्यमा कम्पनीको निक्षेप रू. २ अर्ब ७९ करोड थियो । समीक्षा अवधिमा बैङ्कको कर्जा तथा सापटी ४६ प्रतिशतले बढेकाले पनि निक्षेप ३५ प्रतिशतले बढेको हो । आव ०६६/०६७ मा रू. २ अर्ब २६ करोड ८६ लाख ३४ हजार रहेको बैङ्कको कर्जा तथा सापटी गत आवमा रू. ३ अर्ब ३२ करोड २८ लाख पुगेको छ । सो अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ७७ प्रतिशतले वृद्धि भएर रू. १६ करोड ९४ लाख ६० नाघेको छ ।

समीक्षा अवधिमा बैङ्कको खुद नाफा ७४ प्रतिशतले बढेको छ । आव ०६६/०६७ मा २ करोड २१ लाख रहेको बैङ्कको खुद नाफा गत आवमा ३ करोड ८५ लाख पुगेको छ । समीक्षा अवधिमा बैङ्कको सञ्चालन मुनाफा ७३ प्रतिशतले बढेपछि खुद नाफा ७४ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैङ्कको कर्मचारी तथा अन्य सञ्चालन खर्च उच्चदरले बढे पनि कुल सञ्चालन आम्दानी सोभन्दा धेरैले वृद्धि हुँदा सञ्चालन मुनाफा बढेको हो । बैङ्कको कर्मचारी तथा अन्य सञ्चालन खर्च क्रमश: ६३ र ७५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ६० प्रतिशतले बढेको छ । आव ०६६/०६७ मा रू. १० करोड १० लाख रहेको बैङ्कको लगानी गत आवमा रू. १० लाखमा झरेको छ भने कम्पनीको सापटी रू. १० करोड रहेको छ । समीक्षा अवधिमा बैङ्कको व्यक्तिगत आवास कर्जा ८० प्रतिशतले घटेर रू. ३ करोड १५ लाख पुगेको छ  र  समग्र रियल इस्टेट कर्जा पनि २२ प्रतिशतले घटेको छ । आव ०६७/०६८ मा बैङ्कको बिजनेस कम्प्लेक्स कर्जा रू. ८ करोड ९५ लाख छ भने अन्य रियल इस्टेट क्षेत्रमा रू. ४३ करोड ६३ लाख कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिमा बैङ्कको आवधिक कर्जा, अधिविकर्ष(ओभर ड्राफ्ट) कर्जा र 'अन्य' कर्जा बढेको छ । आवधिक कर्जामा ११ गुणा, अधिविकर्षकर्जामा ७५ प्रतिशत र अन्य कर्जामा १३२ प्रतिशतले वृद्धि आएको प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्तमा बैङ्कको कर्जा-निक्षेप अनुपात ७८ दशमलव ८१ प्रतिशत रहेको छ । आव ०६६/६७ मा बैङ्कको निष्त्रिmय कर्जा नभए पनि गत असार मसान्त भने यो शून्य दशमलव ७६ प्रतिशत रहेको छ । गत आवमा बैङ्कको सञ्चालन मार्जिन र मुनाफा मार्जिन पहिलो वर्षको तुलनामा घटेको छ । सो अवधिमा सञ्चालन मार्जिन शून्य दशमलव ११ र मुनाफा मार्जिन शून्य दशमलव शून्य ७२ रहेको छ ।

चार जिल्लाका सहकारीद्वारा १८ करोड सङ्कलन
भदौ २५, धनकुटा (अस)। आर्थिक वर्ष०६७/०६८ मा सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा गरी चार जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थामा रू. १८ करोड ९ लाख ३२ हजार निक्षेप सङ्कलन भएको छ । ती जिल्लामा सञ्चालित १ सय ५४ ओटा बचत तथा ऋण सहकारी संस्थामार्फत उक्त रकम सङ्कलन भएको डिभिजन सहकारी कार्यालय धनकुटाका प्रमुख बेनीबहादुर केसीले जानकारी दिए ।

सो अवधिमा ती सहकारी संस्थामा रू. ४ करोड ५६ लाख शेयर पूँजी लगानी भएको छ । ती जिल्लामध्ये सबैभन्दा बढी धनकुटाका ४१ सहकारी संस्थाद्वारा रू. ६ करोड ३ लाख निक्षेप सङ्कलन र रू. १ करोड २३ लाख शेयर पूँजीमा लगानी भएको कार्यालयले बताएको छ । तेह्रथुम जिल्लामा रहेका १६ बचत तथा ऋण सहकारी संस्थामा रू. ५ करोड ८९ लाख निक्षेप तथा रू. ३ हजार ७ सय शेयर पूँजीमा लगानी भएको छ ।

यसैगरी, सङ्खुवासभा जिल्लाका २८ सहकारी संस्थामा रू. ४ करोड ३४ लाख निक्षेप र ६० लाख ७६ हजार  शेयर सङ्कलन भएको कार्यालयले बताएको छ । भोजपुर जिल्लाका ६९ बचत तथा ऋण सहकारी संस्थामा कुल बचत रकम रू. १ करोड ८२ लाख २४ हजार र शेयर पूँजी रू. ५७ लाख ६३ हजार पुगेको छ । आव ०६७/६८ मा डिभिजन सहकारी कार्यालय धनकुटामा १६ ओटा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

कुमारी बैङ्कको सञ्चित कोष ५८ प्रतिशतले बढयो
भदौ २५, काठमाडौं ।  आर्थिक वर्ष०६७/०६८ को अन्त्यमा कुमारी बैङ्कको सञ्चित कोष रू. ७५ करोड ७९ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो करीब ५८ प्रतिशत बढी हो । आव ०६६/०६७ को अन्तिम त्रैमासमा कम्पनीको सञ्चित कोष रू. ४७ करोड ९७ लाख रहेको थियो ।

गत आवको अन्तिम त्रैमासमा बैङ्कको ब्याज आय २० प्रतिशत बढेको छ भने खुद ब्याज आय करीब ६३ प्रतिशत घटेको छ । यो अवधिमा ब्याज आयको तुलनामा ब्याज खर्च धेरैले बढेपछि खुद ब्याज उच्च प्रतिशतले घटेको हो ।  आव ०६६/०६७ मा बैङ्कको ब्याज आय रू. १ अर्ब ८७ करोड रहेकोमा आव ०६७/०६८ को सोही अवधिमा यो बढेर रू.२ अर्ब २५ करोड १४ लाख पुगेको हो । यसैगरी, आव ०६७/०६८ को अन्तिम त्रैमासमा बैङ्कको खुद ब्याज आय रू. ६८ करोड ४९ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा यो रू. १ अर्ब ८७ करोड १० लाख रहेको थियो । यसैगरी, गत आवको अन्तिम समीक्षा अवधिमा बैङ्कको कर्मचारी खर्च साढे  १७ प्रतिशत बढेको बैङ्कले प्रकाशित गरेको चौथो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आवको अन्तिम त्रैमासको तुलनामा आव ०६७/०६८ को सोही अवधिमा बैङ्कको खुद मुनाफा करीब १३ प्रतिशत घटेको छ । अघिल्लो आवको सोही अवधिमा यो करीब ५२ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । गत आवमा खुद मुनाफा घटे पनि बैङ्कको वित्तीय अवस्था राम्रो रहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए । हाल बैङ्कको लक्ष्य शहरदेखि ग्रामीण क्षेत्रका तल्लो तहका जनतालाई सेवा पुर्याउनु रहेकाले नाफामा खासै ध्यान नदिएको उनको भनाइ छ । 'बैङ्कका सबै वित्तीय औजारहरू बलिया छन्, त्यसैले पनि खुद मुनाफा केही समयका लागि सामान्य नकारात्मक हुँदैमा डराउनुपर्ने अवस्था छैन,' उनले भने । अहिले बैङ्कको कर्जा निक्षेप अनुपात, तरलता अनुपात नियामक निकायको निर्देशनअनुसार नै रहेको पनि पन्तले बताए । बैङ्कको वित्तीय अवस्था राम्रो भएको कारण शेयर सदस्यलाई नियमित लाभांश वितरण गर्दै आएको उनले जानकारी दिए । गत आवको अन्त्यमा बैङ्कको निक्षेप ५३ प्रतिशतभन्दा धेरैले बढेर रू. १६ अर्ब ९८ करोड ६२ लाख पुगेको छ । आव ०६६/०६७ को सोही अवधिमा यो रू. ४२ करोड ९७ लाख रहेको थियो ।

गत आवको अन्त्यमा बैङ्कको लगानी रू. ३ अर्ब ५३ करोड २२ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो करीब ५४ प्रतिशत बढी हो । १ वर्षको अवधिमा बैङ्कको कर्जा तथा सापटी शून्य दशमलव ६७ प्रतिशत घटेको छ । यो अवधिमा व्यक्तिगत आवास कर्जा ११ प्रतिशत बढेको छ भने रियल इस्टेट कर्जा २१ प्रतिशत घटेको छ । सोही अवधिमा आवधिक कर्जा तथा मार्जिन टाइप कर्जा पनि क्रमश: ३ प्रतिशत र ३० प्रतिशतले  घटेको देखिन्छ । साथै, समीक्षा अवधिमा बैङ्कको अधिविकर्षकर्जा र अन्य कर्जा क्रमश: ८ प्रतिशत र ४७ प्रतिशत बढेको बैङ्कको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा बैङ्कको निष्त्रिmय कर्जा शून्य दशमलव ५३ प्रतिशत रहेको छ । गत आवको चौथो त्रैमासमा बैङ्कको प्रतिशेयर बजार मूल्य रू. २ सय २६ छ भने प्रतिशेयर आम्दानी वार्षिक रू. १८ दशमलव ६४ छ । सोही अवधिमा बैङ्कको नेटवर्थ रू. १ सय ५१ दशमलव शून्य ४ छ भने मूल्य आम्दानी अनुपात रू. १४ दशमलव २७ छ । यसैगरी, बैङ्कको कुल सम्पत्तिको वार्षिक प्रतिफल १ दशमलव ३७ प्रतिशत र प्रतिशेयरको प्रतिफल दर वार्षिक २४ दशमलव ६३ रहेको देखिन्छ ।

Admin 2011-09-12