शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपाली अन्तरराष्ट्रिय ब्राण्डको आशा
मदन लम्सालमदन लम्साल

सन् १९९१ मा नेपालले आर्थिक उदारीकरण नीति अपनाएर निजीक्षेत्रलाई उद्योग व्यवसाय गर्न सहज बनाइदिएको हो । नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न एफएनसीसीआई एक्सिलेन्स अवार्डलगायत केही अवार्डसमेत हरेक वर्षनेपाली कम्पनीहरुलाई दिन थालिएको छ । यति हुँदा पनि विश्व बजारमा त छाडिदिउँ एशियन बजारमा समेत एउटै पनि नेपाली ब्राण्ड स्थापित हुन सकेका छैनन् । किन ?

नेपालमा कम्पनीले आफ्नो नाम र लोगो सार्वजनिक गर्नुलाई नै ब्राण्डिङ हो भन्ने बुझाइ नाम चलेकै कम्पनीका सीईओहरुमा समेत पाइन्छ । उनीहरुमध्ये धेरैलाई ब्राण्डिङ प्रक्रियाका बारेमा थाहा नभएको देखिन्छ ।

एक त धेरै कम्पनीका प्रमुखहरु 'प्यासन' ले काम गर्ने भन्दा पनि 'पैसा' अर्थात् नाफाका लागि मात्र काम गरिरहेका देखिन्छन् । हो, कुनै पनि नाफामूलक कम्पनीको एउटा प्रमुख उद्देश्य भनेको नाफा कमाउनु नै हो । तर नाफा कमाउनु नै कम्पनीको सम्पूर्ण उद्देश्य होइन, सम्पूर्ण उद्देश्यभित्रको एउटा रणनीतिक पाटो मात्र हो । यो तथ्य उनीहरुले नबुझेजस्तो देखिन्छ ।

नेपाली कम्पनीहरुले ग्राहकलाई आफूले वा कम्पनीको क्षमताले सक्ने भन्दा बढी दिने बाचा गर्छन् जुन पूरा हुन सक्तैनन् । त्यसपछि उनीहरुले नाफाका लागि छोटो बाटो अवलम्बन गर्छन् र त्यो कुरा ग्राहकले थाहा पाउँदैन भन्ठान्छन् । अर्थात् उनीहरु भोलिका लागि कुनै 'भिजन' राखेर काम गर्दैनन् । नेपालका सेवा उद्योगहरुलाई हेरेमा यो कुरा पुष्टि हुन्छ । जस्तै, कुनै पनि विमानसेवा कम्पनीका जहाज समयमा उड्दैनन् । कुनै पनि कम्पनीका बस समयमा गुड्दैनन् । कुनै पनि अस्पतालका डाक्टर समयमा उपलब्ध हुँदैनन् ।

त्यस्तै प्रायः नेपाली म्यानुफ्याक्चरिङ उद्योगले गरेको प्रतिबद्धता पनि झूटैझूटले भरिएको पाइन्छ । उदाहरणका लागि कुनै खाद्य वस्तुभित्र हुनुपर्ने विभिन्न भिटामिन वा खनिजलगायतका तङ्खवको कुरा गरौं वा त्यसको एमआरपी अर्थात् ग्राहक मूल्यबारे । यस्ता अधिकांश वस्तुमा दाबी गरिएबमोजिम भिटामिन वा खनिज पाइँदैन र धेरैजसो पसलेले कम्पनीले तोकेको ग्राहक मूल्यमा सामान बेच्दैनन् । यस्ता कुरा गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागलगायतले हेर्नुपर्ने कुरा आफ्नो ठाउँमा छ । तर, ब्राण्डको छवि सुधार्न र ग्राहकको माया पाउन चाहने कम्पनीले पसलमा आफ्नो मूल्य लागू गराउने दायित्व आफै लिनुपर्छ । तर, धेरै नेपाली कम्पनीहरुले त्यो दायित्व आफ्नो हो भन्ने सोचेको देखिँदैन ।

नेपाली कम्पनीहरुमा धेरै सीईओहरु अनुदार र परम्परागत व्यवस्थापनका हिमायतीजस्ता देखिन्छन् । उनीहरु आफूलाई सरकारी हाकिम जस्तो व्यवहार गर्दछन् । उनीहरुसम्म पुग्न मातहतका कर्मचारीलाई त्यति सहज हुँदैन र उनीहरु आफूलाई सर्वेसवा ठानेर व्यवहार गर्दछन् । धेरैजसो नेपाली सीईओहरुले नियन्त्रणमुखी र आदेशमुखी व्यवस्थापन प्रणाली अपनाएका देखिन्छन् । त्यसले गर्दा कर्मचारीमा उत्प्रेरणा आउन सकेको छैन, जसका कारण सृजनशीलता मौलाउन पाएको छैन ।

धेरै जसो नेपाली कम्पनीहरु पारिवारिक व्यवसायबाट शुरु भएका छन् र अझै पनि धेरैमा पारिवारिक सदस्यको नियन्त्रण रहेको छ । त्यसैले महङ्खवपूर्ण निर्णयरु प्रोफेशनलहरुको विश्लेषणका आधारमा नभएर एक वा दुई व्यक्तिको लहडबाट निर्देशित हुने गरेका छन् । यसले गर्दा कुनै काम सही वा गलत भएमा त्यसको जिम्मेवारी लिने काम पनि परिवारकै सदस्यको काँधमा मात्र रहन्छ । अरु त अरु पब्लिक लिमिटेड कम्पनीहरुमा पनि यही प्रवृत्ति देखिन्छ ।

धेरैजसो पब्लिक लिमिटेड कम्पनीहरुमा समेत सीईओले आफू स्वतन्त्र प्रोफेशनल भए पनि कम्पनी प्रवर्द्धकहरुको इशारामा काम गर्नुपर्ने खालको परिस्थिति देखिन्छ । यसले गर्दा चाहेर पनि प्रोफेशनलहरुले आफ्नो पूर्ण क्षमताले काम गर्न सक्तैनन् । त्यसकारण कम्पनीमा उनीहरुको योगदान कम हुँदै जान्छ । केही समय अघि बैङ्कका प्रवर्द्धकहरु र सीईओहरुको बीच सीईओहरुको तलब सुविधालगायतका कुरामा चलेको विवादले यही कुरा प्रस्ट पार्छ । यी सबै कुराको असर कर्मचारीहरु माथि त पर्छ नै साथै समग्र उद्योग व्यवसायले पनि सोचेको प्रगति गर्न सक्तैन ।

कुनै पनि ब्राण्ड अन्तरराष्ट्रिय बन्नका लागि त्यसमा सृजनशीलता र इन्नोभेसन (नवप्रवर्तन) अत्यावश्यक हुन्छन् । तर यी कुरा कम्पनी भित्रैबाट आउनुपर्ने हुन्छ । र, त्यसको स्रोत भनेको कम्पनीको संस्थागत संस्कृति हो ।

चाहे कुनै उत्पादन होस् वा सेवा एउटा ग्राहकलाई गुणस्तरीय सामान दिने र त्यस प्रडक्टबारे राम्रो अनुभव दिलाउने कार्य कर्मचारीहरुले नै गर्ने हो । तर राम्रो संस्थागत संस्कृतिविना यी कुरा सम्भव हुँदैनन् जसका कारण कुनै पनि ब्राण्ड अन्तराष्ट्रिय हुन सक्तैन ।

Admin 2011-03-16