शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अति विविधीकरणका खराबी
मदन लम्सालमदन लम्साल
नेपालमा प्रायः सबै व्यवसायी एकभन्दा बढी क्षेत्रमा लगानी गर्न चाहन्छन्- उद्योग, व्यापार, बैङ्क, बीमा आदि सबैमा । व्यापारमा पनि आयात र निर्यात दुवै । केही व्यावसायिक घरानाको त एउटै प्रकृतिको व्यवसायमा एकभन्दा बढी कम्पनी छन् । एउटै समूहको दुइ-तीनओटा बैङ्क तथा बीमा कम्पनीमा पनि लगानी रहेको छ । एउटै व्यावसायिक समूहका एक-दुइ दर्जनक्षेत्रमा सयौं कम्पनी सञ्चालनमा रहेका छन् । आखिर किन यस्तो ? यो उनीहरूको व्यावसायिक रणनीति हो या बाध्यता ?

व्यवसायीहरूको भनाइमा लगानीको जोखिम कम गर्न यस्तो अभ्यास एक बाध्यता हो । यसरी लगानी भइरहनु एक प्रकारले राम्रै कुरा भए पनि हरेक व्यवसायीले अरू समूहले गरिरहेकै दर्जनौं क्षेत्रमा लगानी गर्नु राम्रो हो वा नराम्रो भन्ने विषयमा ठूलै बहस चलाउन सकिएला । तर, छिमेकी देशलगायत विश्वमा आएको अहिलेको लगानीको प्रवृत्तिलाई हेर्दा भने व्यवसायीहरूले अब आफ्नो दक्षता रहेको बढीमा दुइ-चार क्षेत्रमा मात्र केन्द्रित हुनु लाभकर देखिएको छ ।

उदाहरणका लागि भारतमा २० वर्षपहिले त्यहाँका प्रतिष्ठित उद्योगीहरू टाटा, बिरला, अम्बानीजस्ता समूहहरू सयौंथरी उद्योग र व्यापारमा संलग्न थिए- नूनदेखि स्टीलसम्म, कपडादेखि होटलसम्म । तर, अहिले उनीहरूले आफ्नो विशेषज्ञता रहेका सीमित क्षेत्रमा मात्र लगानीलाई केन्द्रित गर्न लागेका छन् । टाटा समूहले सूचनाप्रविधि, अटो र स्टील उद्योगजस्ता केही क्षेत्रमा आफूलाई केन्द्रित गरिरहेको छ । त्यस्तै अम्बानी समूह दूरसञ्चार, रिटेल, पेट्रोकेम र टेक्सटाइल्सलाई आफ्नो प्रमुख क्षेत्र मानेर अगाडि बढिरहेको छ । यी व्यवसाय पूर्वाधार विकास र प्रोजेक्ट म्यानेजमेण्टसँग सम्बन्धित छन्, जसमा अम्बानीको विशेषज्ञता रहेको छ ।

एप्पल कम्पनीको उदाहरण हेर्ने हो भने पनि योसँग जम्मा पाँचओटा प्रडक्ट छन् र सन् २०१० मा यसले ६५ अर्ब ३३ करोड डलरबराबरको वाषिर्क कारोबार गर्यो । ती पाँच प्रडक्टमध्ये पनि यो 'आईप्याड' मा यति धेरै केन्द्रित छ कि यसका प्रतिस्पर्धी अरू थुप्रै इलेक्ट्रोनिक कम्पनीका बीसौं प्रडक्टभन्दा यो सबै हिसाबले अगाडि छ । सामसुङ,  माइक्रोसफ्टजस्ता कम्पनीका दर्जनौं ब्राण्ड छन् तर ती सबैको नामसमेत धेरै मानिसलाईथाहा छैन । धेरै ब्राण्ड हुँदा कम्पनीले सबै ब्राण्डलाई उत्तिकै ध्यान दिन सकेको हुँदैन । केही ब्राण्ड वा प्रडक्टमा केन्द्रित हुनुको अर्थ विक्री कम गर्नु भन्ने होइन । तर, जति कम क्षेत्र वा प्रडक्ट भयो, त्यसको गुणस्तर र बजार व्यवसायमा उति नै बढी ध्यान केन्द्रित गर्न सकिन्छ र त्यसलाई बढीभन्दा बढी बेच्न सकिन्छ भन्ने हो ।

नेपालको सन्दर्भमा कुरा गर्दा १०/१५ वर्षपहिले बजार मात्र सीमित थिएन, वस्तु तथा सेवाको उपभोग पनि सीमित थियो । त्यसले गर्दा चाहेर पनि उद्योगीहरूले दुइ-चार क्षेत्रमा, दुइ-चारओटा उत्पादनमा वा ब्राण्डमा मात्र आफूलाई सीमित राख्नु बढी नै जोखिमयुक्त हुन सक्थ्यो ।  

तर, अहिले आन्तरिक बजार पनि धेरै विस्तार भएको छ । उपभोक्तावादी संस्कृतिको विकास भएका कारण खासगरी खाद्यान्न, कपडा, घरायसी सामानलगायत उपभोग्य सामानको माग ह्वात्तै बढ्दै गएको छ । गुणस्तरीय वस्तु तथा सेवाप्रदान गर्न सकेमा निर्यातका लागि विश्वबजारको ढोका पनि खुलेको छ, केही नेपाली उत्पादनको राम्रै निर्यात पनि भइरहेको छ । अब बजार नेपालमा मात्र सीमित छैन । त्यसैले अब नेपाली कम्पनीहरूले पनि निश्चित क्षेत्र तथा केही प्रडक्टमा आफूलाई केन्द्रित गर्नु उचित देखिन्छ । होइन भने, नेपालमा कुन व्यावसायिक घरानाको कुन क्षेत्रमा विशेषज्ञता छ भनेर छुट्टयाउन गाह्रो पर्नेछ । अर्कोतिर एकै किसिमका उत्पादनका लागि एक अर्कामा प्रतिस्पर्धा गर्दैमा फेरि अर्को दशक बित्नेछ ।

बैङ्क, बीमा, मिडिया सबै क्षेत्रमा ससाना पूँजी भएका धेरै कम्पनीहरू भइसके । तिनीहरूमध्ये धेरैले आफूलाई अरूभन्दा पृथक्, आफ्नो विशेषज्ञताको क्षेत्रमा केन्द्रित बनाउँदै कम्पनीको विस्तार गर्न सक्लान् भन्नेमा सन्देह बढ्दै गएको छ ।

त्यस्तै व्यवसायी भन्नेबित्तिकै बैङ्क, वित्त, बीमा आदि सबै क्षेत्रमा नभए पनि तीमध्ये कुनै एक वा दुइमा त आफू हुनैपर्ने नभए इज्जतै नरहने भन्नेजस्तो मानसिकता अचेल धेरैमा देखिएको छ । अल्पकालमा यो राम्रैजस्तो देखिए पनि दीर्घकालमा त्यसले न त व्यवसायीलाई हित गर्नेछ न त अर्थतन्त्रलाई नै । सबैले सबै क्षेत्रमा हात हाल्दा व्यवसायीले आफू कुनै एक-दुइ क्षेत्रमा खारिने अवसर गुमाउनेछ भने यसले देशमा लगानीको क्षेत्रका हिसाबले असन्तुलन निम्त्याउनेछ ।