शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

महासङ्घले गर्नैपर्ने काम
मदन लम्साल
गत हप्ता भएको निर्वाचनबाट नेउवा महासङ्घले नयाँ नेतृत्व पाएको छ । नयाँ कार्यसमितिको काँधमा नेपाली अर्थतन्त्रको गिर्दो अवस्थाबाट माथि उकास्न एउटा सबल, सन्तुलित र सक्रिय नेतृत्व प्रदान गर्नुपर्ने जिम्मेवारी आएको छ । यता र उता नअल्मलीकन निजीक्षेत्रले डोर्‍याउने खालको आर्थिक विकासको मार्गचित्र बनाउने ऐतिहासिक उत्तरदायित्व पनि नयाँ नेतृत्वमाथि रहेको छ । राजनीतिक अन्योलको यो परिस्थितिमा निजीक्षेत्रको छाता सङ्गठनले अलमलिएर स्थिति बिग्रन दिनु हुँदैन ।

निजीक्षेत्रले अगुवाइ गर्ने आर्थिक विकासको मोडल हो- खुला बजार अर्थतन्त्र । त्यसैले महासङ्घको नयाँ नेतृत्वले तत्कालका लागि एउटा र दीर्घकालका लागि पाँच, १० र २० वर्षको 'भिजन'सहितको एउटा श्वेतपत्र जारी गर्नुपर्छ, जसमा हाल देशले भोगिरहेका आर्थिक समस्या मात्र समेटेर पुग्दैन, भविष्यमा जस्तोसुकै समस्या आइपर्दा पनि त्यसलाई सामना गर्न आवश्यक पर्याप्त लचकता भएको दर्शनमा त्यो आधारित हुनुपर्छ ।

सर्वप्रथम त महासङ्घले कुनकुन क्षेत्र नेपालको दु्रत आर्थिक विकासका लागि महङ्खवपूर्ण र 'लिड सेक्टर' हुन सक्छन्, त्यसको पहिचान गरेर त्यसका लागि के गर्नुपर्छ भन्ने रणनीति सार्वजनिक गर्नुपर्छ । उदाहरणका लागि के जलस्रोत अहिलेको परिस्थितिमा नेपालको तीव्र आर्थिक विकासका लागि 'लिड सेक्टर' हुन सक्छ ? सक्छ भने के-कसरी हो, त्यसको 'रोडम्याप' तयार गर्नुपर्छ । यदि त्यो जलस्रोत होइन भने के त्यो पर्यटन हो वा कृषि ? यी क्षेत्रको 'सबसेक्टर' केके हुन् ? सूचना प्रविधिमा के गर्न सकिन्छ ?

त्यसपछि सरकारले नै नगरी नहुने कामहरुमा उसलाई झकझकाउने, दबाब दिने काम सँगसँगै गर्नुपर्छ । तर, सरकारको मुख ताकिरहने परम्पराबाट मुक्त हुने प्रयास गर्नुपर्छ । निजीक्षेत्रकै पहलमा लगानीमैत्री वातावरण बनाउने र पूवाधार क्षेत्रको विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर लाग्नु नै महासङ्घको अहिलेको प्रमुख एक काम हो ।

सबैलाई थाहा छ, नेपालको एउटा प्रमुख समस्या बिजुली नहुनु हो । जलस्रोत आयोजना बन्न लामो समय लाग्ने भएकाले छोटो समयका लागि अन्य वैकल्पिक ऊर्जाका उपायमा त निजीक्षेत्रले पहल गर्न सक्छन् । उदाहरणका लागि झण्डै ५३ मेगावाट बिजुली उत्पादन गर्ने मल्टिफयुल प्लाण्टका सामान त्रिवि भन्सारमा महीनौं अड्किरहँदा महासङ्घले त्यसमा केही पहल गर्न सक्तैन र ? त्यस्तै निजीक्षेत्रले साँच्चै लाग्ने हो भने नेपाल-भारत विद्युत् प्रसारणलाइन चाँडो बनाउन वा ससाना जलविद्युत् आयोजना सम्पन्न गर्न महासङ्घले केही न केही त मद्दत गर्न सक्नुपर्छ ।

त्यस्तै, महासङ्घले अहिलेसम्म गरेका कामहरुको समीक्षा गरेर निरन्तरता दिनैपर्ने कामहरुलाई अघि बढाउने र विगतमा भएका त्रुटि छन् भने तिनलाई सच्याउने गर्न सक्नुपर्छ । जस्तै, महासङ्घले विभिन्न औद्योगिक व्यावसायिक मुद्दाहरुमा विचार मन्थन गरेर, अध्ययन गरेर, गराएर नेपाली अर्थतन्त्रलाई उकास्नका लागि दिशानिर्देश गर्ने भनेर विज्ञहरुको 'थिङ्क टयाङ्क' समूह बनाएको थियो । तर, त्यसले कुनै सरकारी समितिले जति पनि काम गर्न सकेन । किन ? त्यो थिङ्क टयाङ्कको अवधारणालाई अगाडि बढाएर त्यसलाई साँच्चिकै काम गराउन सक्नुमा अहिलेको महासङ्घको नयाँ कार्यसमितिको नेतृत्व कुशलता देखिनेछ । जस्तै, आर्थिक सङ्घीयताको विषयमा महासङ्घले बहस चलाउनुपर्ने होइन र ?

अहिले व्यवसायी र बैङ्कहरुबीच ब्याजदरको विषयलाई लिएर निकै आरोप, प्रत्यारोप र बहस हुन थालेको छ । महासङ्घभित्र व्यवसायी र बैङ्कर दुवै आबद्ध छन् । ब्याजदर बढी भयो, घटी भयो वा कतिसम्म हुँदा दुवै पक्षलाई उचित हुन्छ भन्नेजस्ता कुरामा महासङ्घले काम गर्नुपर्ने होइन र ?

महासङ्घले विभिन्न जिल्लामा 'ट्रेड स्कूल'हरु खोलेको घोषणा गरेको थियो । दक्ष जनशक्ति वैदेशिक रोजगारमा पलायन भइरहेको अहिलेको अवस्थामा यस्ता ट्रेड स्कूलहरुलाई पनि राम्रैसँग अगाडि बढाउनु अत्यावश्यक छ । साथै युवाहरुलाई नेपालमै कसरी रोजगारी दिलाउन सकिन्छ भनेर सोच्ने काम पनि महासङ्घले गर्नुपर्छ । रोजगारी मात्रै भन्दा पनि महासङ्घले युवालाई उद्यम गर्न प्रेरित गर्ने र उनीहरुलाई उद्यमशीलता सिकाउनेतर्फ लाग्नुपर्छ । मजदूरका नाममा हुने समस्या कम गर्न र युवाहरुलाई आफ्नो खर्च धान्न विभिन्न राजनीतिक दलका झण्डा बोक्न जानबाट बचाउन पनि यो काम महङ्खवपूर्ण देखिन्छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घहरुलाई सक्षम, सबल र उद्यमशील बनाउन पनि महासङ्घले तुरुन्त काम शुरु गर्नुपर्ने देखिन्छ । केन्द्रमा पनि जहाँसुकै महास्घको अध्यक्ष आफै जानुपर्ने र त्यहाँ गएर मन्त्रीले जस्तै भाषण गर्ने प्रथाको अन्त्य गरी अन्य सम्बन्धित विषयहरु हेर्ने पदाधिकारीहरुको नेतृत्व विकास गर्दै लान नयाँ अध्यक्षले कन्जुस्याइँ गर्नु हुँदैन । सौभाग्यवश यसपटक धेरै जना ऊर्जाशील युवाहरु, आ-आफ्नो क्षेत्रका विज्ञहरु र राम्रो शैक्षिक एवम् व्यावसायिक योग्यतासम्पन्न व्यक्तिहरु महासङ्घमा चुनिएर आएका छन् । उनीहरुलाई आआफ्नो क्षेत्रमा काम गर्ने स्वतन्त्रता दिइनुपर्छ । उनीहरुले पनि आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ ।

भलै अहिलेको अवस्थामा महासङ्घले गर्नुपर्ने काम थुप्रै छन् । तर, यो पनि र त्यो पनि गर्छु भनेर सय थरी आश्वासन बाँड्नुभन्दा कमसेकम माथि उल्लिखित सीमित १० काम मात्रै भए पनि संयमका साथ गरिदिने हो भने नेपालको अर्थतन्त्रका लागि महासङ्घले ठूलो योगदान गरेको ठहरिनेछ । तर, महासङ्घमा जुन किसिमको प्रवृत्ति विगत केही समययता देखिन थालेको छ, त्यसले गर्दा नयाँ नेतृत्वले साच्चिकै काम गर्ने वातावरण बन्ला त भन्ने कुरामा भने सन्देह बाँकी नै छ ।

Admin 2011-04-19