शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आन्त्रप्रेनरलाई आकर्षण
नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने आन्त्रप्रेनरहरूको सूची छोटो छ । तैपनि उनीहरुले नेपालमा सम्पत्तिको सिर्जना गरीगरीकन नेपालको आर्थिक विकासमा ठूलो भूमिका खेलेका छन् ।

गोल्छा, ज्योति, बैद्य, खेतान, चौधरी, श्रेष्ठ, दुगड, शाक्य, साखःलगायत आज नाम चलेका थुप्रै ठूला तथा साना व्यावसायिक घरानाहरुले आफ्नो पारिवारिक व्यवसायलाई सानोबाट विकास गर्दै विविध क्षेत्रमा लगानी विस्तार गरेर देशलाई समुन्नत तुल्याएका छन् । यिनीहरु सबै आन्त्रप्रेन्युरल व्यवस्थापनका सफल उदाहरणहरु हुन् । यो सबै सय वर्षयता भएको कुरा हो । त्यसबाहेक पनि यस्ता थुप्रै नयाँ आन्त्रप्रेनरहरू २०५० सालपछि आएका छन्, जसले नेपालको  अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका छन् ।

विगत २०० वर्षको इतिहास हेर्ने हो भने बेलायतमा आन्त्रप्रेरनरहरुको एउटा सानो समूहले स्वचालित मेशिनबाट कपडाको ठूलो परिमाणमा उत्पादन शुरु गरेर औद्योगिक क्रान्तिको शुरुआत गरेको थियो । रकफेलर, फोर्ड, वाट्सन, कार्नेगी, एडिशनजस्ता आन्त्रप्रेनरहरूले यो क्रम अमेरिकामा पनि शुरु गराएका थिए । आज अमेरिकाजस्तो देशमा पनि आन्त्रप्रेनरहरूले त्यहाँको आर्थिक विकासलाई गति दिइरहेका छन् । चीनको नयाँ आर्थिक चमत्कार पनि कम्युनिष्ट चीन सरकारको कारण नभई त्यहाँ उदाएका आन्त्रप्रेनरहरूकै देनका कारण हो । यी चाइनिज आन्त्रप्रेनरहरूले आफ्ना लागि मात्र सम्पत्तिको सिर्जना गरिरहेको नभई त्यसले समग्र चीनको अर्थतन्त्रलाई पनि माथि उठाइरहेको छ ।  

कुनै पनि लगानीकर्ताका लागि आन्त्रप्रेन्युरल आर्थिक वातावरण अर्थात् लगानी गर्न सहज हुने खालको वातावरण हुनु महत्वपूर्ण हुन्छ । कम्पनी दर्ता गर्दादेखि सामान बजारमा पठाउँदासम्म आइपर्ने बाधा कमभन्दा कम भए र सुरक्षा व्यवस्था राम्रो भयो भने आन्त्रप्रेन्युरल वातावरण भएको मान्न सकिन्छ । यस्तो वातावरण बनाइदिने काम राजनीतिक दल, सरकार र अन्य सम्बन्धित सबैको हो । अनि मात्र देशमा नयाँ आन्त्रप्रेनरहरु जन्मन्छन् । यिनीहरुले नै देशमा रोजगारी सिर्जना गरिरहेका हुन्छन् । पाँच प्रतिशत तिनै आन्त्रप्र्रेनरहरुले झण्डै ७०/८० प्रतिशत कर राज्यलाई बुझाएका पनि हुन्छन् ।

नेपालमा आन्त्रप्रेनरहरुलाई त्यति सम्मान गर्ने चलन अझै आएको छैन । भन्न त उद्योग मन्त्रालयले कमर्शियल्ली इम्पोर्टेण्ट पर्सन (सीआईपी) भनेर नेपाली उद्यमीहरुलाई वर्षेनी सम्मान गर्ने गरेको छ । तर, त्यो केवल औपचारिकतामा सीमित देखिन्छ । किनकि वर्षमा एक दिन सीआईपी भनेर सम्मान पाउनेबाहेक न त उसले कुनै कर छूट प्राप्त गर्दछ न उसले गर्ने व्यवसायमा उसलाई अझ सुरक्षित र ढुक्क भएर काम गर्ने वातावरण सरकारले मिलाइदिन्छ ।

कुनै देश धनी छ कि छैन भन्ने जान्न त्यहाँ आन्त्रप्रेनरहरु कति धनी छन्, कति सुरक्षित छन् र काम गर्न कति स्वतन्त्र छन् भन्ने कुराले पनि निर्धारण गर्दछ । अहिले पनि ध्यान दिएर हेर्ने हो भने विश्वमा ती देशहरु सफल देखिन्छन् जहाँ आन्त्रप्र्रेनरहरुलाई लगानी गर्नका लागि विभिन्न उपायले उत्प्रेरित गरिएको हुन्छ ।

व्यवसायमा नाफा वा घाटा हुने भनेको स्वाभाविक कुरा हो । तर, एउटा आन्त्रप्र्रेनरले तब लगानी गर्छ जब उसले देख्छ कि उसले कुनै व्यवसायमा लगानी गरेपछि, व्यावसायिक जोखिमबाहेक अन्य जोखिम छैनन् । अर्थात् लगानी गरेपछि सुरक्षित र सम्मानित जीवन जिउन पाउने एक नागरिकको अधिकार सधैं सुरक्षित रहनेछ भन्ने प्रत्याभूति एउटा आन्त्रप्र्रेनरलाई हुनुपर्छ । नत्र आन्त्रप्र्रेनरले केका लागि जोखिम मोल्छ ?