शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

युवा लक्षित ब्राण्ड खोइ ?
मदन लम्सालमदन लम्साल

नेपालमा ३० वर्ष उमेर पुगेका मानिस ५६ प्रतिशत छन् । २५ वर्षमात्र पुगेका मानिस पनि झण्डै ३० प्रतिशत छन् । अर्थात् नेपालको आधाभन्दा बढी जनसङ्ख्या युवा छन् । तर, के नेपाली कम्पनीहरुले युवालाई लक्षित गरेर प्रडक्टहरु ल्याउन सकेका छन् त ? अहँ त्यस्तो देखिँदैन । युवा देखिने ब्राण्ड हुँदैमा वा युवा मोडल राखेर विज्ञापन गर्दैमा युवाका लागि ब्राण्ड बन्दैन । त्यसो भए के गर्ने त ?

राम्रो सँग गृहकार्य गरेर युवा लक्षित ब्राण्डका ल्याउन सक्ने हो भने ५० प्रतिशत अर्थात् झण्डै डेढ करोड मानिसमा पुग्ने ठूलो व्यावसायिक मौका नेपाली कम्पनीहरुका लागि रहेको छ । केही विदेशी ब्राण्ड जस्तै नाइकी, लिभाइज स्प्रिङउड, हल्का पेयपदार्थ, रेडबुलजस्ता ब्राण्ड युवा लक्षित छन् । तर, नेपाली युवाका लागि आकर्षक ब्राण्ड बन्न सकेका नेपाली उत्पादन अत्यन्त विरलै छन् ।

युवाहरु फेशनप्रति सचेत हुन्छन् र उनीहरुले कपडामा थुप्रै पैसा खर्च गर्दछन् । उनीहरुले यत्रतत्र छरिएका असङ्गठित पसलबाट चाइनिजलगायतका कपडा किनिरहेका छन् । के युवा लक्षित कपडाको नेपाली रिटेल चेन हुन सक्तैन ?

आम मानिसका लागि बेलुका रमाइलो गर्न दोहोरी रेष्टुराँहरु छन् । बाजेको सेकुवाका चेन रेष्टुराँहरु काठमाडौंमा थुप्रै खुलेका छन् । तर, एकाध डान्स बारबाहेक युवाहरुका लागि खास जाने ठाउँ छैन । आजका प्रायः युवाहरु डेटिङमा जान रुचाउँछन् । ठमेलमा हिमालयन जाभालगायत एक दुई त्यस्तै खालका रेष्टुराँबाहेक युवाहरु जाने सुलभ र उचित मूल्य भएको उपयुक्त ब्राण्डेड कफीशप छैन । त्यसकारण युवाहरुका लागि सुहाउँदो 'डेटिङ चेन रेष्टुराँ' लगानीकर्ताका लागि उपयुक्त मौका हुन सक्दैन ?

के बीमा कम्पनीहरुले युवा लक्षित पोलिसी ल्याउन सक्तैनन् ? जस्तै 'उद्यमशील योजना' भनेर युवालाई पैसा बचत गर्न लगाउने र पढाइ सिद्धिएपछि वा केही वर्षजागीर खाएपछि आफै व्यवसाय शुरु गर्ने हिसाबले कुनै त्यस्तो बीमा पोलिसी ल्याउन सकिँदैन ?

नेपालका बैङ्किङ क्षेत्रकै कुरा गर्दा पनि बाल, नारीदेखि वृद्धलाई लक्षित गरेर थुप्रै बचत योजना नेपाली बैङ्कहरुले ल्याएका छन् । तर, युवा लक्षित खास योजना कसैले ल्याएको देखिँदैन । त्यसो त केहीले विद्यार्थीलाई लक्षित गरेर बचत योजना त ल्याएका छन् । तर, बैङ्कहरुले अब केवल बचत योजनाभन्दा उद्यमी बन्न प्रेरित गर्ने खालका योजनामा ध्यान दिनुपर्ने होइन र ? बैङ्किङ अब केवल परम्परागत प्रडक्टहरुमा मात्र टिक्न गार्हो हुने अवस्थातिर जाने देखिएको छ । साथै देशमा उद्यमशीलता विकास गर्ने काममा सघाउने पनि बैङ्कको दायित्व नै हैन र ?

अहिले शहरमा धेरै युवा बैङ्किङ, बीमालगायतका क्षेत्रमा काम गरेर राम्रै पैसा कमाइरहेका छन् । उनीहरु आफ्ना लागि अलि प्रिमियम वस्तु तथा सेवामा पैसा खर्च गर्न हिचकिचाउँदैनन् । तर के नेपाली कम्पनीहरुले उनीहरुको त्यो बदलिँदो चाहनालाई मौकाका रुपमा उपयोग गर्न उनीहरुका आवश्यकता बुझेर त्यस्ता वस्तु तथा सेवा उपलब्ध गराउन सकेका छन् ?

पढेलेखेका युवा बेरोजगार अझै पनि देशमा लाखौं छन् । उनीहरुका लागि विभिन्न तालीमको व्यवस्था गरेर दक्षता प्रदान गर्नुका साथै आफ्नो नाफा पनि सुनिश्चित गर्न कोही उद्यमी तयार छन् ? केही क्षेत्र खासगरी बैङ्किङ क्षेत्रमा तालीम दिने केही संस्था आएका छन् । उनीहरुले दिने गरेको तालीम बैङ्कहरुले खोजेको गुणस्तरको नभएको गुनासो बैङ्कहरुको एकातिर भए पनि यस्ता तालीमसंस्थालाई नवप्रवर्तन (इनोभेशन)कै रुपमा मान्नुपर्छ । त्यस्तै अन्य क्षेत्रमा यस्ता तालीम सञ्चालन गर्न किन कोही नतम्सिएका ? उदाहरणका लागि अहिले पनि सयौं कम्पनीमा हजारौं बजार अधिकृत र बजार व्यवस्थापकहरुको खाँचो छ ।

कतिपयले गाउँका मानिसहरुको क्रयशक्ति नै छैन भन्ने ठानेको पाइन्छ । तर, अहिले शहरमा जत्तिकै गाउँगाउँमा पनि उपभोगवादी संस्कृतिको विकास हुँदै गएको छ । युनिलिभर नेपाल, कोकाकोला, बिस्कुट, चाउचाउ, चुरोट, टिभी, मोटरसाइकल कम्पनीहरुको अहिलेको लक्ष्य गाउँ हो, शहर मात्र होइन । उनीहरुले अहिले पैसा कमाउन सकेको गाउँका युवा लक्षित बजारीकरणबाट पनि हो ।

युवालाई लक्षित गरेरै द हिमालयन टाइम्स अङ्ग्रेजी दैनिक आजको स्थानमा पुग्न सफल भएको हो । त्यस्तै एनसेल मोबाइल सेवाप्रदायक कम्पनी जसरी प्रगति गर्दै छ, त्यसको एक प्रमुख कारण पनि युवा लक्षित बजारीकरण रणनीति नै हो । त्यसैले बजार छैन भनेर अरु सबै प्रतिस्पर्धी गइरहेको क्षेत्रमा लड्नुको सट्टा अरुले नछोएको युवा लक्षित बजारलाई अहिलेदेखि नै आफ्नो पोल्टामा पार्न कोसिस गर्नु बुद्धिमानी होइन र ?

Admin 2011-03-22