शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

साना कम्पनीमा  व्यवस्थापनको महत्त्व
मदन लम्साल
कतिपय मानिसमा एउटा भ्रम देखिन्छ कि व्यवस्थापन, व्यावसायिकता र नवप्रवर्तन (इन्नोभेसन) जस्ता कुरा ठूला कम्पनीहरुका लागि मात्र आवश्यक हुन्, साना तथा मझौला उद्योग व्यवसायका लागि होइनन् । तर, त्यो गलत बुझाइ हो । व्यवस्थापनका महत्वपूर्ण औजारहरु जति ठूला कम्पनीहरुका लागि आवश्यक छन्, त्योभन्दा साना कम्पनीहरुका लागि अझ महत्वपूर्ण छन् । नेपालमा उद्योगव्यवसाय भनेकै झण्डै ८० प्रतिशतभन्दा बढी साना तथा मझौला उद्योग व्यवसाय छन् । तीमध्ये झण्डै ८० प्रतिशत नै उचित व्यवस्थापनका अभावमा अल्पायुमै मर्ने गरेको तथ्याङ्क छ ।

ठूला कम्पनीहरु ठूलै आर्थिक क्षति भए पनि बाँच्न सक्ने क्षमता राख्छन् । तर, साना कम्पनीहरुलाई त्यो सुविधा हुँदैन । त्यसै कारण पनि ठूलाभन्दा साना कम्पनीहरुलाई प्रभावकारी व्यवस्थापन अपनाउनुपर्ने खाँचो हुन्छ । प्रभावकारी र रणनीतिक व्यवस्थापनकै कारण साना कम्पनी ठूला बनेका थुप्रै उदाहरण संसारभरि छन् । जस्तै- डेल भन्ने अमेरिकन कम्पनी माइकल डेल भन्ने व्यक्तिले सानो स्तरमा १९८४ मा शुरु गरेका थिए । तर, १० वर्षमै डेल झण्डै ३१ अर्ब डलरको वार्षिक कारोबार गर्ने एक ठूलो अमेरिकन कम्पनीका रुपमा स्थापित भइसकेको थियो ।

नेपालको सन्दर्भमा कुरा गर्दा पनि त्यस्ता थुप्रै उदाहरण छन्, जो एक व्यक्तिबाट सानो स्तरमा शुरु गरेर प्रभावकारी व्यवस्थापनकै कारण आज ठूलो कम्पनीका रुपमा उभिन सफल भएका छन् । पछिल्लो उदाहरणमा पशुपक्षीको दाना उत्पादन गर्ने निम्बस समूहलाई लिन सकिन्छ । स्टार बियरको महाप्रबन्धकबाट राजीनामा दिएपछि निम्बस इण्टरनेशनल कम्पनी खोलेर डिलरशिपको व्यवसाय शुरु गरेका जगदीश अग्रवालले करीब एक दशकभित्रै विविध क्षेत्रमा वार्षिक अर्बौं कारोबार गर्ने एक प्रोफेशनल कम्पनीका रुपमा निम्बसलाई स्थापित गर्न सफल भए ।

त्यस्तै चन्द्र ढकालको नेतृत्वमा रहेको आईएमई ग्रूप, सोल्टी ग्रूपबाट अलग भएपछि खुलेको सिध्दार्थ राणाको तारा मेनेजमेण्टलगायत कम्पनीहरुले पनि प्रभावकारी र रणनीतिक व्यवस्थापनकै कारण एक दशकभित्रै ठूलै व्यावसायिक फड्को मार्न सफल भएका हुन् । तर, गलत र अप्रभावकारी व्यवस्थापनकै कारण पछि परेका अमात्य ग्रूप र एसओआई  (कस्मिक एअरको सञ्चालक र तत्कालीन हुण्र्डाई गाडीको विक्रेता एभ्को कम्पनी) ग्रूप पनि हामीले देखेकै छौं ।

पछिल्ला वर्षहरुमा हरेक क्षेत्रमा अन्तरराष्ट्रिय किसिमको प्रभावकारी व्यवस्थापनको महङ्खव झन् बढ्दै गएको छ । अझ अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न जाने हो भने त त्यही किसिमको पूर्वाधार र व्यवस्थापन नअपनाई सुखै छैन । जनरल मोटर्स, जनरल इलेक्ट्रिकजस्ता कम्पनीले आफ्नो विक्री अमेरिकामा भन्दा धेरै अरु देशमा गर्दछन् । सबैलाई थाहा छ, आज कोकाकोलाजस्ता कम्पनीले आफ्नो कारोबारको झण्डै ७५ प्रतिशत हिस्सा विदेशी बजारबाटै प्राप्त गर्छन् ।

त्यसैले आधुनिक व्यवस्थापनका सिद्धान्तहरु बुझेर लागू गर्नु साना तथा मझौला कम्पनीहरुका लागि अत्यावश्यक छ । के काम कसरी गर्ने भनेर नीति र योजना बनाउने, त्यसका लागि आवश्यक गतिविधि र त्यसलाई चाहिने स्रोत व्यवस्थापन गर्ने, सो कार्यका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने नै व्यवस्थापनका मुख्य काम हुन् । ठीक ठाउँमा उचित कर्मचारी र व्यवस्थापकहरु राख्नु र आफूले गरिरहेको काम विस्तारै प्रोफेशनलहरुलाई हस्तान्तरण गर्दै जानु व्यवस्थापनको एक अत्यन्तै महत्वपूर्ण काम हो । माथि उल्लिखित सफल कम्पनीहरुले पनि यही गरेका छन् जसका कारण कम्पनीका संस्थापकहरुले अरु नयाँ काम सोचेर अगाडि बढ्न सकेका हुन् ।

नेपालको आजको परिस्थितिमा जुन कम्पनीले व्यवस्थापनका यी सामान्य सिद्धान्तहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्छ ऊ नै भोलि एक सफल र ठूलो कम्पनीका रुपमा उदाउनेछ ।

Admin 2011-02-22