बैङ्किङ : आज र भोलि
मदन लम्साल
हालै गोर्खा विकास बैङ्क, सम्झना फाइनान्स र केही समयपहिले नेपाल विकास बैङ्कका घटनाहरुले बैङ्किङ प्रणालीप्रति नै सर्वसाधारणको विश्वास घट्दै जाने त होइन भन्ने प्रश्न खडा भएको छ । यसमा जति सम्बन्धित कम्पनीका सञ्चालकहरु दोषी छन् त्यत्तिकै दोषी राष्ट्र बैङ्क पनि छ । किनभने यी संस्थाहरु ठीक ढङ्गबाट चले नचलेको कुरा समयमै हेरेर सुधार गराउनेतर्फ लाग्नुपर्नेमा सङ्कटग्रस्त बनेपछि मात्र राष्ट्र बैङ्क पुग्ने गरेको छ ।
यस्तो अवस्थामा सर्वसाधारणको बैङ्किङ प्रणालीप्रतिको विश्वासलाई कायमै राखिरहन बैङ्कहरुले ग्राहकहरुसँग अझ पारदर्शी, इमानदार र सरल भएर प्रस्तुत हुनु आवश्यक हुँदै गएको छ । सबैले बुझेकै हुनुपर्छ, भोलिका ग्राहक हिजोको जस्तो बैङ्किङ सेवाले मात्र सन्तुष्ट रहन सक्ने छैनन् । समयानुकूल ब्राण्डिङ र सेवाको गुणस्तर विकास नगरी यति वर्षको इतिहास भएको बैङ्क भनेर वा केवल नारी बचत र ज्येष्ठ नागरिक बचत खाता छन् भनेर ग्राहकहरु सधैं एउटै बैङ्कप्रति 'लोयल' भएर बसिरहने पक्कै छैनन् ।
समयसँगै प्रविधि र ग्राहकहरुको चाहनामा पनि परिवर्तन आउँदै छ । बैङ्किङ सेवा लिन आजका गाउँका ग्राहकलाई एकदिन र शहरका ग्राहकलाई एकछिन हिँडेर बैङ्कका शाखा वा एटीएमसम्म पुग्दा ठीकै लागेको होला । तर, युवापुस्ताले जो बैङ्कका भोलिका मुख्य ग्राहक हुन्, छिटो, छरितो र आधुनिक बैङ्किङ सेवाको माग गर्नेछन् । युवापुस्ताको नयाँ प्रविध्रि्रतिको लगावलाई हेर्दा भोलिको बैङ्किङ सम्पूर्णत: मोबाइल र सूचनाप्रविधिमा आधारित हुने निश्चितप्राय: छ ।
बैङ्कमा बढ्दो प्रतिस्पर्धा र ग्राहकहरुको बदलिँदो चाहनाअनुसार पनि ग्राहक बैङ्कमा जानेभन्दा बैङ्क ग्राहकको पछि लाग्नुपर्ने परिस्थिति बन्दै जाने देखिन्छ । तर, चौबीसै घण्टा सेवा दिने नाममा अहिले प्राय: बैङ्कहरुले जसरी आफ्नो अनावश्यक खर्च बढाइरहेका छन्, त्यो युक्तिसङ्गत देखिँदैन । जस्तै धेरै बैङकले बैङ्किङ सेवा दिनका लागि बेलुका ६/७ बजेसम्म प्राय: सबै काउण्टर खुला राख्न थालेका छन् । जबकि, प्राय: बैङ्कमा ३ बजेपछि ग्राहकको चाप अत्यन्त न्यून हुने गरेको छ । लोडशेडिङको यो बेलामा जेनेरेटर बालेर, कर्मचारीलाई ओभरटाइम भत्ता दिएर सबै बैङ्कले काउण्टर खुलै राख्नु त्यति व्यावहारिक देखिँदैन । एक त प्राय: सबै बैङ्कले एटीएम सेवा उपलब्ध गराइरहेकै छन् । एससीटी नेर्टवर्कसँग पनि आबद्ध छन् । निश्चित बैङ्कले निश्चित दिनमा निश्चित समय सेवा दिने भनेर ग्राहकहरुलाई पहिल्यै सूचना दिएर खर्च घटाउन सकिँदैन र ? बरु त्यसबाट बचेको रकम अनुसन्धानमा वा मोबाइल बैङ्किङका सेवासुविधाबारे जनचेतना जगाउने खालको काममा लगाउनु बुद्धिमानी हुनेछ ।
अब मोबाइल बैङ्किङले गति लिने कुरामा सन्देह छैन । त्यसका लागि बैङ्कहरुले आजैदेखि आफूलाई त्यसैअनुरुप तयार गर्नु बुद्धिमानी हुन्छ । इमेल, इण्टरनेट सेवा भएका नयाँ हाते उपकरणको प्रयोग बढिरहेको छ । भोलि स्मार्टफोन, इण्टरनेट सेवा भएको आईप्याड, मोबाइललगायतका उपकरण जसलाई 'मोबाइल पस' भन्न सकिन्छ, को प्रयोग बढ्दै जाने निश्चित छ । ती उपकरणका माध्यमबाट दैनिक कारोबार जस्तै सूचना जम्मा गर्ने, छनोट गर्ने ग्राहकलाई सीधै सम्पर्क गर्नेलगायतका सेवा बैङ्कले आफै वा आफू मध्यस्थकर्ताका रुपमा रहेर दिन सक्नेछन् ।
थ्री जी, फोर जी प्रविधि आइसकेको अहिलेको अवस्थामा भोलि मोबाइलबाटै भिडियो र अडियोसहितको बैङ्किङ सेवा शुरु हुन असम्भव छैन । समग्रमा, निकट भविष्यमा जतिखेर पनि सेवा लिन सकिने 'क्यासलेस डिजिटल बैङ्किङ' शुरु हुने देखिन्छ । यसरी प्रविधिले दिएका यस्ता विविध च्यानल उपयोग गर्ने हिसाबले अहिलेदेखि नै रणनीति बनाउने बैङ्कहरुले नै राम्रो व्यवसाय गर्न सक्नेछन् ।
देशमा जतिसुकै राजनीतिक अन्योल रहे तापनि बढ्दो शहरीकरण, मानिसको जीवनशैलीमा आइरहेको परिवर्तन, विप्रेषणको योगदान आदि कारणले बैङ्किङ सेवा लिने मानिसको सङ्ख्या बढ्दै जाने अपेक्षा स्वाभाविक हो ।
त्यसमा पनि अहिलेको तुलनामा युवा ग्राहकको बाहुल्य हृवात्तै बढ्नेछ । स्वभावैले युवाहरु अहिलेका ग्राहकजस्ता एउटै बैङ्कमा सन्तुष्ट भएर बसिरहने छैनन् । ग्राहक 'रिटेन' गर्न बैङ्कहरुका लागि ठूलै चुनौती हुनेछ । समयअनुसार स्वभावत: बैङ्कका भोलिका ग्राहक अझ बढी शिक्षित, आत्मविश्वासी र जुझारु हुनेछन् । कुनै एक बैङ्कप्रति 'लोयल कष्टमर' भएर उसको कुरा सुन्नुभन्दा आफ्ना साथीसंगीको कुरा बढी सुन्ने बानी हुनेछ ।
नयाँनयाँ उपाय र सेवासहित जुन बैङ्कले नयाँ ग्राहकका चाहनालाई बुझेर सूचनाप्रविधिको प्रयोगमार्फत बैङ्किङ सेवा दिन सक्छन् उसैले राम्रो मुनाफा कमाउन सक्नेछ । बैङ्कको इतिहास, नाम चलेको बैङ्क आदिभन्दा पनि 'अहिले तत्काल मैले के फाइदा पाउँछु त' भन्ने मानसिकता अबका ग्राहकको हुनेछ । त्यसैले बैङ्कहरुको रणनीति छिटो, छरितो सेवा दिने, ग्राहकका लागि समयसापेक्ष र अरुको भन्दा साँच्चिकै उत्कृष्ट प्रडक्ट र सेवा दिने तथा मानसिक रुपमै ग्राहकलाई आफ्नो बैङ्कप्रति आकर्षित गरिराख्न सक्ने किसिमको हुनु जरुरी छ ।
Admin 2011-04-26