शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विज्ञापन एजेन्सी, मिडिया र कम्पनी
मदन लम्सालमदन लम्साल
गत ५ वर्षयताको विज्ञापन उद्योगसँग सम्बन्धित प्रवृत्तिलाई अध्ययन गर्ने हो भने यसबीच उद्योग व्यवसाय खास बढेका छैनन्, तर पत्रपत्रिका, टीभी, रेडियो आदि धेरै नै बढेका छन् । एफएम रेडियोको सङ्ख्या पनि देशभर करीब ५ सय पुगिसकेको छ । टीभी च्यानल एक दर्जनभन्दा बढी छन् भने काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट राष्ट्रिय दैनिक नै १४ ओटा पुगिसके । तर ५ वर्षअगाडि देशभरि झण्डै ५ सयको हाराहारीमा रहेका विज्ञापन एजेन्सी अहिले करीब २ सयमा झरेका छन् ।

यसरी उद्योग व्यवसायको वृद्धि नभइरहेको अवस्थामा एकातिर मिडियाको मात्र वृद्धि हुनु र अर्कातिर एजेन्सीचाहिँ घट्दै जानुले थुप्रै समस्या पनि सँगै जन्मिएका छन् । त्यसले गर्दा तीन पक्षबीच समझदारीभन्दा बढी एकअर्काबीच असमझदारी र आशङ्का पनि बढ्दै गएका छन् । त्यसबाट तीनै पक्षले एकअर्काप्रति यस्तो किसिमको धारणा बनाउँदै गएको पाइन्छ ।

एजेन्सीको धारणा

विज्ञापन रिलिज गरेबापत पाउनुपर्ने १५ प्रतिशत कमिशनको सट्टा कम्पनीहरुले ५ प्रतिशतमै गर्न लगाउँछन् । कम्पनीहरु सकेसम्म विज्ञापन बनाउनुअघि एजेन्सीलाई 'प्रडक्ट सर्वे' पनि सित्तैमा गरिदे भन्छन् । एक त कम्पनीहरुले सृजनाशीलताको मूल्य तिर्न खोज्दैनन् । दोस्रो, मिडियाहरु पनि सकेसम्म सीधै कम्पनीसँग 'डिल' गरेर एजेन्सीलाई 'वाइपास' गर्न खोज्छन् । कम्पनीले समयमा पैसा नदिए पनि पैसा पाउन मिडियाहरु दबाब दिइरहन्छन् । अहिले देशभरिका विज्ञापन एजेन्सीहरुको झण्डै ३० करोड रुपैयाँ बजारबाट उठ्न सकेको छैन, जबकि मिडियाको त्यसरी फसेको रकम रकम रु. १० करोडजति मात्र होला । कम्पनीले नै निश्चित मिडिया वा पत्रपत्रिकालाई विज्ञापन दिनु भनेर तोकिदिएको हुन्छ । एजेन्सीले कुनै मिडियासँगको सम्बन्धको कारणले वा कम्पनीको लक्षित वर्गमा पुग्ने मिडिया भएका कारण विज्ञापन दिन चाहे पनि दिन सक्दैन । क्रिएटिभ, मार्केटिङ आदि विभागमा काम गर्ने क्षमतावान् व्यक्ति पाउन मुश्किल छ । राम्रो 'प्रोफेशनल' पाइयो नै भने पनि एकाध वर्ष बसेपछि अर्को एजेन्सी खोली हाल्छन् । विनाठूलो लगानी र जनशक्ति कम्पनीका आवश्यकताहरु पूरा गर्न मुश्किल छ । तैपनि भारतमा रु. डेढ करोड  खर्च लाग्ने उस्तै विज्ञापन नेपाली एजेन्सीले रु. १० लाखमै बनाइरहेका छन् । त्यसमा पनि कम्पनीको प्रमुख लगानीकर्ता आफैले धेरै थोक गरिरहनुपर्छ, जसले गर्दा नयाँ कुरा सोचेर व्यवसाय वृद्धिमा समय दिन सकिएको छैन ।

अर्कोतिर कतिपय कम्पनीहरुले मिडियालाई पन्छाउने हिसाबले 'तपाईंको मिडियाका लागि पनि विज्ञापन राखिदिएको छु, एजेन्सीबाट लिनू' भनेर एजेन्सीलाई अर्घेलोमा पार्ने काम गर्दछन् । त्यस्तै, मिडियाले सीधै कम्पनीमा गएर एजेन्सीलाई भन्दा बढी छूट दिएर विज्ञापन गर्ने प्रस्ताव पेश गरिदिन्छन् । यसले गर्दा कतिपटक एजेन्सी अप्ठयारोमा पर्ने गरेको छ । यी र यस्तै विविध कारणले एजेन्सी सधैं मिडिया र कम्पनीको चेपुवामा पर्ने गरेको छ । त्यस्तै कतिपय 'फ्लाई बाई नाइट' एजेन्सीका कारण पनि राम्रा एजेन्सी र विज्ञापन उद्योग नै बदनाम हुनु परेको छ ।

मिडियाको धारणा

एक त मिडिया सेक्टर घाँटी रेट्ने प्रतिस्पर्धाको कारण आफ्नै समस्यामा अल्झिरहेको छ । विज्ञापन लिऊ भने साह्रै कम दरमा मात्र लिनुपर्ने स्थिति छ । नलिऊ , पाउने त्यही विज्ञापन पनि गुम्ने चिन्ता । अर्को कुरा, मिडियाबाट १५ प्रतिशत लिन एजेन्सीले सो मिडियाबारे विभिन्न कम्पनीमा विज्ञापनका लागि  प्रस्ताव पेश गर्ने, कम्पनीले ढिलो पैसा दिए पनि निश्चित समयमा मिडियालाई भुक्तानी गरिदिने, मिडियाकहाँ समयमा विज्ञापनको डिजाइन पुर्याउने आदि सेवा दिएबापत हो । अझ सबै किसिमका छूटहरु लिइसकेपछि नगद छूट भनेर अर्को १० प्रतिशत छूट मिडियाबाट लिने तर नगदचाहिँ सात दिन त के महीनौं नदिने एजेन्सी पनि छन् । यो त नगद छूट भएन 'नगद झूट'चाहिँ भयो । एजेन्सीले विज्ञापनका लागि कहिल्यै सम्बन्धित कम्पनीमा विज्ञापन गर्न प्रस्ताव नपठाए पनि व्यक्तिगत सम्बन्धको वा कुनै कारणले मिडियामा सित्तैमा विज्ञापन गरेकोमा पनि 'ल मेरो १५ प्रतिशत दे नत्र डिजाइन दिन्न' भन्ने प्रवृत्ति पनि पाइन्छ । यसले गर्दा एजेन्सी र मिडियाबीच निकै तनाव हुने मिडियाहरुको गुनासो हुन्छ । त्यस्तै एजेन्सीले केही ठुला मिडिया लाई छोडेर अरुलाई समयमा पैसा पनि दिँदैनन् । बजारमा धेरै पैसा फसिरहने कारण मिडिया अप्ठयारोमा परेको छ ।

कम्पनीको धारणा

मिडियाले दिने भन्दा निकै बढी विज्ञापन दर राखेर एजेन्सीले कम्पनीलाई बिलिङ गर्छन् । एउटा मिडियामा विज्ञापन गर्यो हामीलाई किन नदिएको भन्दै कतिपय थुप्रै मिडियावालाहरु पाखुरा सुर्कंदै आउँछन् । यस्ता कुरा 'हृयाण्डल' गर्नकै लागि पनि एजेन्सी राखिएको हुन्छ । तर, 'रिटेनरशिप फी'चाहिँ लिन्छन् र समस्या पर्दा एजेन्सीले मिलाउनभन्दा झगडा गराउन मिडियालाई सीधै कम्पनीमा पठाइदिन्छन् । त्यसबाट हुने हानि वा झन्झटचाहिँ कम्पनीले बेहोर्नुपर्ने हुन्छ ।

नयाँ विज्ञापन बनाएर मिडियामा जान त मन लाग्छ, तर एक त विज्ञापन बनाउने खर्च धेरै लाग्छ । त्यस्तै विज्ञापन छपाउन वा प्रसारण गर्न पनि त्यत्तिकै महँगो पर्छ । जुन एजेन्सी अलि 'क्रिएटिभ' छ, ऊ छुनै नसक्ने महँगो छ । जुन सामान्य खालको छ, उसले कम्पनीको आवश्यकता बुझेर काम गर्न सकेको छैन, इत्यादि ।

यी र यस्तै खाले थुप्रै धारणा एजेन्सी, मिडिया र कम्पनीहरुले एक अर्काका बारेमा बनाएको देखिन्छ । यी माथि उल्लिखित धारणाहरु सत्य पनि होलान्, मिथ्या पनि होलान् । तर, यी धारणाहरुका हरेक विषयमा एजेन्सी, मिडिया र कम्पनीबीच छलफल गरेर एकअर्काप्रति अझ स्पष्ट हुनु र एकअर्काको समस्यालाई बुझ्नु अत्यावश्यक छ । किनकि यी तीनै क्षेत्रको समुचित विकास हुन सक्यो भने मात्र देशमा सृजनशीलता र उद्यमशीलताको विकास हुन्छ । उद्यमशीलताको विकासले समग्रमा देशको आर्थिक विकासले गति लिन सक्छ । एजेन्सी, मिडिया र कम्पनी भनेका 'ओदान'जस्ता हुन्, जुन कुनै एक पक्ष कमजोर हुँदा अर्को दुई पक्ष पनि समस्यामा पर्ने निश्चित हुन्छ । यी तीन पक्षको कुरा गर्दा क्षणिक फाइदाका लागि आएका कुनै पनि एजेन्सी, मिडिया वा कम्पनीका लागि माथि भनिएका कुरा लागू हुँदैनन् ।

Admin 2011-03-29