ग्राहकका आवश्यकता जान
मदन लम्साल
प्रत्येक वर्ष नेपाली बजारमा सयौं वस्तु तथा सेवाको विक्रीवितरण शुरु भएको खबर हामी पढ्छौं । तर, झण्डै ९० प्रतिशत त्यस्ता वस्तु तथा सेवा कसरी बजारबाट एकाएक हराए वा हराउने क्रममा छन्, पत्तै हुँदैन । किन त्यस्तो हुन्छ त ?
इतिहासको गर्भमा त्यसरी विलीन हुने उत्पादनहरु निश्चित अनुसन्धान र पर्याप्त गृहकार्यविना ल्याइएकाले तिनीहरु बजारमा टिक्न नसकेका हुन् । ती उत्पादन ग्राहकको आवश्यकताअनुसार जन्मिएका हुँदैनन् । ती कि त कुनै क्षेत्रले राम्रो गरेको देखासिकीमा जन्माइएका हुन्छन् । कि यस्तो-यस्तो, यति मानिसहरु भएको क्षेत्रमा यति उत्पादन त विक्री भइहाल्छ नि भन्ने हचुवा विश्लेषणका आधारमा उत्पादन हुन्छन् । ती उत्पादन एक प्रकारले श्रीमान् र श्रीमतीले नचाहीकन गर्भ रहेका कारण फालिएका बच्चाजस्ता हुन पुग्छन्, जुन बच्चा अर्थात् उत्पादनमा, परिवार अर्थात् ग्राहकहरुको चासो र सरोकारको विषय रहँदैन । त्यसपछि स्वाभाविक रुपमा ती बच्चा अर्थात् उत्पादन अल्पायुमै मृत्युवरण गर्न पुग्छन् ।
नेपालमा यस्ता थुप्रै उदाहरण छन्, जो अरुले पैसा कमाएको देखेर त्यस्तै उत्पादन अर्थात् 'मि टु प्रडक्ट' ल्याएर असफल हुन पुगेका छन् । पञ्चायतकालमा गलैंचा, पश्मिनामा पनि त्यही नियति थियो । अहिले नेपाली चलचित्र उद्योग, चाउचाउ उद्योग, बैङ्किङ, मेडियामा पनि त्यस्तै अवस्था छ ।
त्यसैले त्यही उत्पादन सफल हुन्छ, जुन उत्पादनले ग्राहकका आधारभूत समस्यालाई सम्बोधन गर्न सक्छ । र, जसले मानिसको निश्चित आवश्यकतालाई सम्बोधन गर्नुका साथै उसको सामाजिक र भावनात्मक आवश्यकतालाई पनि पूरा गर्न सक्छ । उदाहरणका लागि हरेक बैङ्कले ग्राहकलाई आ-आफ्नै एटीएम कार्ड वितरण गरिरहेका थिए । यसैबीच एससीटी नेटवर्कले मानिसहरुले हरेक बैङ्कको एटीएम पर्समा बोकेर हिँड्नुको सट्टा उसको एउटै कार्ड बोके उसको सञ्जालमा रहेका सबै बैङ्कबाट पैसा झिक्न सक्ने सुविधा लिएर आयो । यो प्रडक्टले अहिलेसम्म राम्रै सफलता प्राप्त गरेको देखिन्छ । किनकि यो ग्राहकको आवश्यकतालाई बुझेर ल्याइएको थियो ।
अर्को उदाहरण फिल्म हलको दिन सकिन्छ । डिजिटल फिल्म र डीभीडीको सुविधाका कारण नेपालीहरु फिल्म हल जान करीब करीब छाडेका थिए । उनीहरुलाई पुन फिल्म हलतिर आकर्षित गर्न जय नेपाल र कुमारी सिनेमा हल सञ्चालकहरुले सफा-सुग्घर र करीब करीब अन्तरराष्ट्रिय स्तरको हल र पुरानो प्रविधिको रिलवाला फिल्मको सट्टा डिजिटल फिल्म देखाउन थालेपछि तिनै नेपालीहरु फिल्महलतिर ओइरिन थालेका छन् । किनकि दर्शकहरुको आवश्यकतालाई नकिम उद्दीन र भाष्कर ढुङ्गानाहरुले राम्ररी बुझेका थिए । यस क्षेत्रमा उनीहरुको सफल यात्रा जारी छ ।
भनाइको अर्थ चाहे वैज्ञानिकहरुले बिजुली आविष्कार गर्दा होस् या कुनै उत्पादकले नयाँ प्रडक्ट यदि त्यो लहलहैमा भन्दा त्यसले मानिसका आवश्यकतालाई पूरा गर्ने किसिमले जन्मिएका छन् भने त्यो सफल हुन्छ नत्र असफल ।
Admin 2011-03-01